राजनीति

संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसको

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी पनि कांग्रेसको भएको बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु)को ९८ औँ जन्मजयन्तीको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन कर्णाली प्रदेशले आज आयोजना गरेको ‘लोकतन्त्रको सङ्घर्ष र गिरिजाबाबुको योगदान’ विषयक भर्चुअल अन्तक्रियामा उहाँले संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी पार्टीको भएको बताउनुभएको हो ।

“गिरिजाबाबुलाई अन्तिम अवस्थामा पनि संविधानको चिन्ता थियो, सुशील कोइरालाको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हो”, उहाँले भन्नुभयो । केन्द्रीय सदस्य जीवनबहादुर शाहीले गिरिजाबाबुले शान्ति स्थापना र संविधान बनाउन खेल्नुभएको भूमिका प्रशंशनीय रहेको बताउनुभयो ।

कर्णाली प्रदेशका उर्जामन्त्री दिनबन्धु श्रेष्ठले कर्णाली राजमार्गको शिलान्यास गिरिजाबाबुको पालामा भएको भन्दै उहाँ कर्णालीवासीको अभिभावक भएको उल्लेख गर्नुभयो ।

पूर्वमन्त्री हस्तबहादुर मल्लले गिरिजाबाबुले कर्णालीमा मोटरबाटो लैजानका लागि आफ्नो प्रधानमन्त्रीत्वकालमा महत्वपूर्ण निर्णय गरेको स्मरण गर्नुभयो ।

फाउण्डेशन कर्णाली प्रदेशका संयोजक एवम् पूर्व सांसद रीता शाहीले कर्णालीको विकासमा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button