बिचार

सरकारको सय दिन : कामले बोल्यो, विपक्षी छट्पटियो

बालेनको सरकार बनेको आज (२० असाराँ) १०० दिन पुग्यो रे ! सायद सरकारले आज हनिमुन मनाउने होला । १३ चैताँ सरकार बनाउने बेलाँ १०० दिनाँ सय काम गर्ने भनेर प्रधानमन्त्रीले घोषणा गर्याथे त्यै भएर सय दिनाँ सय काम गरेर भ्याउन प्रधानमन्त्रिलाई भ्याई नभ्याई भयो ।

उता विपक्षी भनाउँदाहरुले नि प्रधानमन्त्री सदनाँ आएर सदनाँ हाम्ले बोल्या कुरा जवाफ देनन् भनेर रुवाबासी र चिच्याकलो गर्दै सय दिन गुजारे । प्रजातान्त्रिक ब्यवस्थाँ बहुमतले शासन गर्ने अल्पमतवालाहरुका कुरा सुन्ने त हो ।

कुरा सुन्दैमा तिनरका कुरा मान्न पर्छ भन्ने त छैनन नि । त्यसै त चुनाबाँ टुप्पिएका विपक्षिहरका कुरा सदनाँ सरकारले के सुन्छ के । विपक्षीका कुरा सुन्ने कि काम गर्ने ।

हिजो आँफुहरले सरकार चलाउँदा कुरा सुन्ने काम नगर्ने बानी पर्या विपक्षीहरु ऐल्या सरकार कुरा सुन्नु भन्दा आँफुले लिएको लक्ष्यअनुसारको काम गर्न तल्लिन भएछि पुराना दलहरुमा यस्तो छटपटी देख्खियो कि सदनमा आँफआँफै मारकाट गर्लान् सम्मको स्थिति आयो ।

प्रधानमन्त्री सदनाँ उभिएर जवाफ दिएन भनेर सदनै चल्न नदेर उत्ताउला बनेका पूराना दलका नेताहरुको गतिविधिलाई जनताले मतलबै नराख्देछि बिचारा पुराना दल अन्तत खुम्चिएर सदन चलाउन बाध्य भए ।

सय दिनाँ गर्ने सयवटा काममध्ये धेरै जसो काम त सरकारले गरेरै छोड्यो तर प्रतिपक्षको सहयोग विना हुँदै नहुने काम मात्रै बाँकी राख्या कुरा त विपक्षी आँखाहरले देखेकै होलान ।

हिजोका दिनमा यी पुराना दलले सत्ता चलाउँदै गर्दा यसरी सय दिनमा गर्ने काम भनेर त्यसको फेहरिस्त बनाएर खुरुखुरु ती काम सक्दै जाने र त्यसपछि फेरि अरुकामहरुको लिष्ट बनाएर ती काम कति दिनमा सक्ने भनेर क्रमिक रुपमा समय तोकेर काम गर्दै गरेको भए के यो ३५ बर्षमा यो देशको हालत यस्तै हुन्थ्यो होला ?

अनि यिनै पुराना दलका विरुद्ध आन्दोलन गरेर यिनीहरुलाई पदच्युत गरेर नयाँ दल स्थापित हुने अस्था आउँथ्यो र ? अवश्य आउँथेन । न त पुराना दलहरु सत्ताबाट च्युत हुन्थे न यो हरिविजोग अवस्थाँ रहनु पर्थ्यो । आफ्नै कारणले देशलाई भष्टाचार र काण्डै काण्डमा चुरुलुम्मै डुबाएर ऐले त्यै भष्टाचारको जगजगीले कुन बेला काल कोठरीको बास हुने हो थाहा छैन ।

न दिनको भोक न रातको निद भएर बस्नु पर्दा समेत चेत नखुलेका नेताहरुको अहंकारले गर्दा पाटीमा रहेका अन्य कार्यकर्ताको समेत विजोग भएको छ । यिनीहरकै कारण देशमा चुनाब हुनु अनि नितान्त युवाहरुले चुनाबमा दुई तिहाई ल्याएर राज्य सन्चालनको अनुभव बिना नै पनि सरकार चलाउन पाउनु अनि त्यै अबसरलाई छोपेर सौ दिन सौ काम गर्न कम्मर कस्नु र सम्भव भएसम्म सौ दिनमा ती काम गरेर देखाउने लक्ष्य लिएर अघि बढनु र नगरि नहुने काम भएरै छोडनुले पनि युवाहरुले देशका लागि केही गर्छन भन्ने कुराको विश्वाश जनतामा दिलाउन सक्नु पनि ठूलै कुरा हो ।

सौ दिनमा सौ काम नै पूरा गर्न नसके पनि निरन्तर लागि रहँदा, भष्टाचार अन्त्यको जग बस्नु, हिजोका दलीय कर्मचारीको अवकास हुनु, विश्वविद्यालयहरुमा गैरदलीय उपकुलपति नियुक्त गरिनु, सरकारी संस्थान, सन्चार क्षेत्रमा नयाँ नेतृत्व बनाईनु, सेवा अबधि ३० र उमेर हद ५५ लगाएर कर्मचारी हटाउने तयारी हुनु, केही कर्मचारीहरु आफसेआफ जागिर छोडेर जानू, लालपूर्जा दिन शुरु गर्नु उपलब्धि मान्या छन् जनताले ।

त्यस्तै न्यायपालिकामा उथलपुथल गराउनु, राजदुतहरुको नयाँ नियुक्ति, सवारी चालक लाईसेन्स वितरण, पासपोर्ट वितरणमा सहजता जस्ता थुप्रै कामहरु सौ दिनमा भैसकेका छन भने जनतामा पनि यो सरकारले काम गर्नसक्छ भन्ने पूर्ण विश्वाश पैदा गराएको छ ।

सरकार आफ्नो रोडम्यापमा चल्न पूर्ण सफल भएकोले पुराना ३ दलहरुमा छट्पटी भएको छ । यसकै कारण ३ दल सडक र सदन दुबै ठाउँबाट सरकारको विरोधमा उत्रिएर बालेन सरकारलाई काम गर्न नदिने खिचडि पकाउँदै छन् ।

सरकारले यिनीहरुको खिचडी पाक्नु अघि यिनले गरेका कर्तुतहरुका फायल खोलेर यिनिहरुको भागाभाग गराउने हो भने मात्र सरकारले ढुक्कसित काम गर्न पाउँ छ र सौ दिन सफल भएझैँ पाँचै बर्ष पनि सफल भएर जानेछ ।

तर, सरकारले आफ्नो सफलताका लागि विगतमा पुराना दलले बेचेका सबै कारखाना र उद्योग व्यवसायको सन्चालन, कर्नालीका विद्युत परियोजनाहरु र दुईवटा सिमेन्ट कारखाना सन्चालन, दैलेखको ग्याँस, जाजरकोटको पत्थर र नवलपरासीको फलाम खानी उत्खनन् र किसानका लागि मल कारखानको स्थापनाबाट देश विकासको शुरुवात गरियो भने आउने १५ बर्षमै हामी पनि सम्पन्न मुलुकका नागरिकमा दर्ज हुन सक्छम् यसका लागि सरकारले निश्पक्ष रुपमा काम गर्न सक्नुपर्छ ।

यी कामसंगै युवाहरुलाई रोजगारी, शिक्षामा आमूल परिवर्तन भयो भने अरु १५ वर्ष जनताले सरकारी दल परिवर्तन गर्ने छैनन् अन्यथा केहो कसो हो भन्न सकिन्न !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.