कोशी ब्यारेजका ३८ वटा ढोका खोलियो : पानीको वहाव अहिलेसम्मकै उच्च (अपडेट)
सप्तकोशी नदीमा पानीको वहाव अहिलेसम्मकै उच्च भएपछि ३८ वटा ढोका खोलिएको छ । शुक्रबार विहान ३० वटा ढोका खोलिएकोमा मध्यान्वमा थप ८ वटा ढोका खोलिएको हो । पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन भनिएको पनि उहाँले बताउनुभयो ।
सप्तकोशीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ । ५ वर्षअघि भारतीय कोशी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चि तर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढदै गएको हो ।
कोशीमा पानीको बहाव बढदै गएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भागमा जोखिम बढेको छ । यसैगरी कोशीको पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेको छ ।