बिचार

मोदीले बुद्ध भारतीय हुन् भन्न हुने– ओलीले राम नेपाली हुन् भन्न नहुने ?

भारतले नेपाली विभूति गौतम बुद्ध नै उसको भूमिमा जन्मेको भनेर प्रचार गर्दा चुपचाप लाग्नेहरु प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राम’ र ‘अयोध्या’को विषयमा दिएको अभिव्यक्तिमाथि खनिए । बुद्ध भारतीय हुन् भन्दा चित्त नदुखाउनेहरुले राम नेपाली हुन् भन्दा चित्त दुखाए ।

नेपाललाई विश्वमञ्चमा चिनाउने एउटा पाटो हो– विश्व शान्तिका अग्रदूत, एसियाका मोती, गौतम बुद्ध, जसको जन्म लुम्बिनीमा भएको थियो । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्यलाई युनेस्कोले प्रमाणित गरे पनि भारतले बुद्ध भारतमा जन्मेका हुन् भनेर भ्रम छरिरहेको छ ।

पछिल्लो समय नेपाल र भारतबीच सीमा विवादका कारण सम्बन्धमा दरार उत्पन्न भैरहेका बेला भानु जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले रामायणको प्रसंग निकाल्दै भन्नुभयो– “अयोध्या हाम्रो वीरगञ्ज शहरदेखि नजीकै छ, त्यतिबेला जनकपुरबाट नेपाली छोरी सीताको विवाह अयोध्याका राजकुमार रामसँंग हुनु अनौठो होइन । निःसन्तान राजा दशरथले पुत्रेष्टि यज्ञ नेपालकै रिडीमा गरेका हुन् ।”

प्रधानमन्त्री ओलीले यति भनिसकेपछि नेपालमा प्रतिबन्धित भारतीय न्यूज मिडियाहरुले अर्को मसला पाए उनीहरुले “केपी ओलीको भारतमाथि अर्को हमला, अयोध्या नेपालमै रहेको दावी” भन्दै समाचार बनाए । अनि यही विषयमा नेपालका राजनीतिक दलका नेताहरुले चर्को बिरोध गरे । उनीहरुले प्रधानमन्त्री ओलीले कूटनीतिक मर्यादा र भारतसंगको सम्बन्धको महत्वलाई हल्का लिएको टिप्पणी गरे । प्रश्न– त्यसो भए मान, मर्यादा सबै नेपालले मात्रै राख्नुपर्ने ? भारतले नपर्ने ? उत्तर चाहियो ।

यति मात्र हैन, बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलेका अति महत्वपूर्ण र ज्ञानगुनका सबै कुरा बिर्सेर अयोध्या र रामको प्रसंग मात्रै झिकेर प्रधानमन्त्रीका बोली ठेगान लगाउनुपर्ने आवाज उठ्यो, धेरै अनलाइनहरुले यसलाई उच्च प्राथमिकता दिएर समाचार टिप्पणी बनाए ।

प्रधानमन्त्री ओलीले अयोध्य नेपालमै पर्छ भन्ने शैलीको अभिव्यक्तिले नेपाल र भारतका हिन्दुहरुलाई चिढ्याएको भन्दै आलोचना भयो । हिन्दु धर्मावलम्बीहरुका लागि राम, कृष्ण, सीताको जन्म कहाँ भएको थियो भन्ने विवाद गर्नुपर्ने विषय हुँदैन । किनभने यहाँ भगवानको जन्मथलो हैन, भगवानको आस्थामा विश्वास गरिन्छ । राम जहाँ जन्मे पनि, उनी हिन्दु धर्मअनुसार मर्यादा पुरुष हुन् र उनी भगवान विष्णुको अंश अवतार थिए । यसमा विवादको कुनै अर्थ छैन ।

बरु प्रधानमन्त्री ओलीले बाल्किमी आश्रम नेपालमै छ, दशरथले रिडीमा तपस्या गरे, राम सीताको विवाह जनकपुरमा भयो, ठोरी नजिक अयोध्य छ भनिसकेपछि यसलाई थप अनुसन्धानको विषय बनाउनेतिर लाग्ने कि रामको जन्म भारतमै भएको हो भनेर वकालत गर्दै हिंड्ने ? यसो भन्नेहरुले बुद्ध नेपालमै जन्मेका हुन भन्दै किन नहिंडेको ?

भारतले विश्वभर बुद्ध जन्मेको तथ्य मेटाउँदै भारतमा जन्मेको भन्दैआएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै राष्ट्रसंघमै “भारत बुद्ध जन्मेको देश” भन्दै भाषण गर्छन् यहाँका नेताहरु चुपचाप सुनेर बस्छन् । अहिले विश्वभर छरिएर रहेका नेपालीहरु “बुद्ध नेपालमा जन्मेका हुन्” भन्दै अभियान चलाइरहेका छन् । विश्वका विभिन्न मुलुकमा रहेको पाठ्यक्रममा बुद्ध भारतमा जन्मेका भनेर पढाई हुँदैआएको छ । त्यसलाई सच्याउने अभियानमा नेपालीहरु छन् । जनस्तरबाट बुद्धको पक्षमा जति आवाज उठेको छ, जति अभियान चलेको छ त्यति सरकारी र राजनीतिक तहबाट छैन । चर्चाका लागि बुद्धको जन्मथलो नेपाल नै हो भन्ने बाहेक भारतीयको डटेर सामना गरेको नेपाली जनताले सुनेका छैनन् ।

अहिले प्रधानमन्त्री ओलीले अयोध्या वीरगञ्जको ठोरी नजिकै छ भन्दा यत्रो ‘बबण्डर’ किन ?

हिन्दु धर्मशास्त्र अनुसार मानव सभ्यताको चार युगमध्ये त्रेतायुग दोस्रो हो । सत्ययुगपछिको त्रेतायुगमा जन्मेका रामको जन्मभूमिका बारेमा भारतमै पनि विवाद छ । भारतको अयोध्या भन्ने ठाउँ, जहाँ रामको जन्म भएको भनिन्छ त्यहाँ मस्जिद थियो भनेर विवाद छ । राम मन्दिर–बाबरी मस्जिद विवादले त्यहाँ ठूलो नरसंहार भएको थियो । भारतमै रामको जन्मको विषयमा विवाद छ भने हाम्रा प्रधानमन्त्रीले अयोध्या ठोरी नजिकै छ भनेर भन्नुको अर्थ अर्को अनुसन्धानको विषय हो, आलोचनाको हैन । भारतको हिन्दु-मुस्लिम द्वन्द्व समेत साम्य पार्ने सूत्र पो बन्यो कि ?

वैज्ञानिक तथ्यले बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन भनेर लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राखिएको छ । तर त्यही लुम्बिनी भारतमा पर्छ भनेर भारतले हालको लुम्बिनीकै नजिक उसको सीमावर्ती शहरमा नक्कली लुम्बिनी बनाइरहेको छ । यस विषयमा कसले कति बोल्यो, कति प्रतिकार ग¥यो ? आफ्नो देशको सम्पत्ति अरुले हडपिरहँदा चुप लाग्नेले भारतमै विवादित भएको विषयमा अरण्य रोदन गर्नुको अर्थ के होला ?

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता धरापमा छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा सम्मिलित नक्सा संसदबाट पारित गरिएपछि भारत आत्तिएको छ । कालापानीमा सेनाको शिविर राखेको भारतले ओली भारतको दुश्मन भन्दै अत्यन्त आपत्तिजनक विवरणहरु सार्वजनिक गरिरहेका छन् त्यहाँका संचारमाध्यमले । यस विषयमा सिंगो देशले बिरोध गरेको छ र यो स्वागतयोग्य विषय हो । तर प्रधानमन्त्री ओलीले अयोध्याका विषयमा बोलेको कुराले ‘दुई देशबीच विग्रेको सम्बन्ध अरु विग्रने’ भन्दै कोहोलो हाल्नुको तुक कति होला ?

राम भारतमा जन्मेका र अयोध्या हालको भारतको उत्तर प्रदेशमा पर्दछ । यो भूमिलाई ईश्वरको भूमि भनिन्छ र हिन्दुहरुको सात प्रमुख तीर्थमध्ये एक मानिन्छ । त्यस्तै बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् र विश्वभरका बौद्धहरुका लागि यो एकमात्र प्रमुख तीर्थस्थल हो । यसलाई भारतले आफ्नो भन्छ भने हामीले अयोध्या नेपालको ठोरी नजिक पर्छ भन्दा उत्ताउलो अभिव्यक्ति किन ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.