जापान

नेपाल–जापान मैत्री सम्बन्धलाई थप मजबुत बनाउन ‘नेपाल फेस्टिवल’ : कार्यवाहक राजदूत पौडेल

जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले १५औँ नेपाल फेस्टिवलले नेपाल–जापानबीचको ७७औँ कूटनीतिक सम्बन्धको वार्षिकोत्सवलाई थप अर्थपूर्ण बनाएको बताउँदै यसले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ र घनिष्ठ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

राजधानी टोकियोको ओदाइबा पार्कमा जुलाई १८ देखि सुरु भएको तीनदिने १५औँ नेपाल फेस्टिवलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल फेस्टिवल नेपाली समुदाय, जापानी नागरिक, पर्यटन व्यवसायी तथा दुवै देशका सरोकारवालाको साझा उत्सवका रूपमा स्थापित भएको बताउनुभयो।

उहाँले नेपाल र जापानबीच सात दशकभन्दा लामो कूटनीतिक सम्बन्ध आपसी विश्वास, मित्रता र सहयोगमा आधारित रहेको उल्लेख गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले सरकार–सरकारबीचको सम्बन्धसँगै जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने धारणा राख्नुभयो।

कार्यवाहक राजदूत पौडेलले विगत डेढ दशकदेखि निरन्तर आयोजना हुँदै आएको नेपाल फेस्टिवलले जापानमा नेपालको मौलिक कला, संस्कृति, भाषा, संगीत, परम्परा, पर्यटन र नेपाली परिकारको प्रभावकारी प्रवर्द्धन गर्दै आएको बताउनुभयो।

फेस्टिवलले हजारौँ जापानी नागरिकलाई नेपालसँग परिचित गराउनुका साथै पर्यटन, व्यापार, लगानी, शैक्षिक आदानप्रदान र सांस्कृतिक सहकार्य विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उहाँको भनाइ थियो।

उहाँले नेपाल र जापानबीचको सम्बन्ध केवल कूटनीतिक तहमा सीमित नरही संसदीय मैत्री समिति, विकास साझेदारी, पूर्वाधार निर्माण, शिक्षा, श्रम, प्रविधि तथा जनस्तरको सहकार्यमार्फत निरन्तर विस्तार हुँदै आएको उल्लेख गर्नुभयो।

जापानी राजपरिवार र नेपालको ऐतिहासिक सम्बन्ध, विगतमा तत्कालीन युवराज नारुहितो (हालका सम्राट) को नेपाल भ्रमण तथा राष्ट्रपति रामचन्द्र पौडेल लगायत नेपाली उच्च नेतृत्वका जापान भ्रमणले समेत दुई देशबीचको मित्रतालाई नयाँ उचाइमा पुर्‍याएको बताउनुभयो।

कार्यवाहक राजदूत पौडेलले जापानस्थित नेपाली दूतावास विदेशमा रहेका नेपाली नागरिकको हकहित र सेवामा सदैव प्रतिबद्ध रहेको बताउँदै फेस्टिवलमा दूतावासको विशेष स्टलमार्फत कन्सुलर सेवा, आवश्यक कागजात संकलन, परामर्श तथा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी जानकारी उपलब्ध गराइएको जानकारी दिनुभयो।

फेस्टिवलमा पहिलोपटक राखिएको दूतावासको स्टलमा राहदानी, कानुनी तथा कन्सुलर सेवासहित नेपाल भ्रमण प्रवर्द्धनसम्बन्धी सामग्री पनि प्रदर्शन गरिएको छ।

नेपाल फेस्टिवल जापान सन् २०१० देखि निरन्तर आयोजना हुँदै आएको जापानस्थित सबैभन्दा ठूलो नेपाली सांस्कृतिक महोत्सवका रूपमा परिचित छ।

यसले नेपाललाई जापानी समाजमा थप चिनाउने, दुई देशका नागरिकबीच आपसी समझदारी र मित्रता विस्तार गर्ने तथा पर्यटन, संस्कृति र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.