जलवायु परिवर्तनको बढ्दो असर : जापानमा भीषण गर्मी, टोकियोमा पहिलोपटक ३५ डिग्री पार
विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष असर विकसित मुलुक जापानमा स्पष्ट देखिन थालेको छ। पछिल्ला वर्षहरूमा लगातार रेकर्ड तोड्ने गर्मी, अनियमित मनसुन, बढ्दो तापघातका घटनाले जलवायु संकट गहिरिँदै गएको संकेत गरेका छन्।
वैज्ञानिकहरूका अनुसार मानव गतिविधिबाट उत्सर्जित हरितगृह ग्यासका कारण गर्मीका लहर (हीट वेभ) झन् लामो, तीव्र र बारम्बार दोहोरिन थालेका छन्।
यही क्रमलाई थप पुष्टि गर्दै सोमबार जापानका अधिकांश क्षेत्रमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन प्रभावित भएको छ।
तीन दिने सार्वजनिक बिदाका बीच अत्यधिक गर्मीका कारण खेलमैदान सुनसान बनेका छन् भने सर्वसाधारण वातानुकूलित (एयर कन्डिसन) भएका स्थानमा आश्रय लिन बाध्य भएका छन्।
जापान मौसम विज्ञान निकायले कान्तो–कोसिन र टोकाइ क्षेत्रमा यस वर्षको वर्षायाम (मनसुन) सोमबारदेखि औपचारिक रूपमा समाप्त भएको घोषणा गरेको छ। ती दुवै क्षेत्रमा मनसुन औसतभन्दा एक दिन ढिलो र गत वर्षको तुलनामा तीन साताभन्दा बढी ढिलो सकिएको हो।
मौसमविद्हरूका अनुसार पछिल्ला वर्षहरूमा मनसुनको समय, वर्षाको मात्रा र तापक्रमको स्वरूपमा देखिएको असामान्य परिवर्तन जलवायु परिवर्तनसँग सम्बन्धित प्रवृत्तिका रूपमा अध्ययन भइरहेको छ।
राजधानी टोकियोमा बिहान ८ बजेसम्म तापक्रम ३० डिग्री सेल्सियस पुगेको थियो। जापान मौसम संघका अनुसार बिहान ११:०९ बजे तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि यस वर्ष टोकियोमा पहिलोपटक ‘अत्यधिक गर्मीको दिन’ रेकर्ड भएको हो। गत वर्ष यस्तो अवस्था जुलाई ७ मै पुगेको थियो।
दिउँसोसम्म टोकियोका अधिकांश सार्वजनिक पार्क र खेलमैदान खाली देखिएका थिए। चर्को घामका कारण चिप्लेटी, झुला र खेल सामग्रीसमेत छोउनै नसकिने गरी तातेका थिए।
बालबालिका बाहिर खेल्न निस्किएका थिएनन् भने सर्वसाधारण छाता ओढेर वा एक वातानुकूलित भवनबाट अर्को भवनतर्फ हतारिँदै गरेको दृश्य देखिएको थियो।
सुगिनामी वार्डकी २० वर्षीया नेल प्राविधिक नेनेले स्थानीय सञ्चारमाध्यमसँग भनिन्, “यो गर्मी सहनै गाह्रो भएको छ। अहिले गर्मीमा चलचित्र हल, एक्वेरियमजस्ता भित्री स्थानहरूले विशेष छुट अभियान चलाउन थालेका छन्। बाहिर लामो समय बस्न लगभग असम्भव छ।”
मौसमविद्हरूका अनुसार गुन्मा प्रान्तको ताकासाकी शहरमा तापक्रम ३८ डिग्री सेल्सियस र आइची प्रान्तको नागोया शहरमा ३७ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।
त्यसैले सम्भव भएसम्म घरभित्र वा वातानुकूलित स्थानमा बस्न, प्रशस्त पानी पिउन तथा अनावश्यक रूपमा घाममा ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ।
टोकियोमा बिहीबारसम्म अत्यधिक गर्मी कायम रहने र रातिको तापक्रमसमेत २५ डिग्री सेल्सियसभन्दा माथि रहने पूर्वानुमान छ। यस्तो उमसयुक्त रातले पर्याप्त निद्रा नपुग्ने, शरीरले दिनभरको तापबाट पुनःस्थापना हुन नसक्ने तथा विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा तापघात तथा अन्य स्वास्थ्य समस्या बढाउने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन्।
जापानले सन् २०२३, २०२४ र २०२५ मा लगातार रेकर्ड तोड्ने गर्मीयाम अनुभव गरिसकेको छ। यसले जलवायु परिवर्तन अब भविष्यको चुनौती मात्र नभई वर्तमानको गम्भीर संकट बनेको स्पष्ट संकेत गरेको छ।
त्यसैले जापान सरकारले सर्वसाधारणलाई नियमित रूपमा गर्मीबाट बच्ने उपाय अपनाउन, पर्याप्त पानी पिउन, अत्यधिक घाममा बाहिर ननिस्कन र जोखिम समूहका व्यक्तिको विशेष हेरचाह गर्न आग्रह गर्दै आएको छ।
स्रोत : जापान टाइम्स




प्रतिक्रिया राख्नुहोस्