जापानको आइची–नागोया क्षेत्रमा आयोजना हुने २०औँ एसियाली खेलकूद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको समूह विभाजन सार्वजनिक भएको छ।
आयोजकले बिहीबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘ए’ मा परेको छ। यस समूहमा नेपालसँगै आयोजक जापान र अफगानिस्तान रहेका छन्। समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान रहेका छन्। प्रतियोगितामा पुरुष क्रिकेट टी–२० अन्तर्राष्ट्रिय ढाँचामा सञ्चालन हुनेछ।
यस संस्करणमा एसियाली क्रिकेटका चार शक्तिशाली राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशले आफ्नो वरीयताका आधारमा सिधै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। बाँकी टोलीहरूले समूह चरणबाट प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्ने व्यवस्था छ।
नेपालले समूह चरण पार गर्न सके क्वार्टरफाइनलमा भारत वा पाकिस्तानमध्ये कुनै एक टोलीसँग प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ। त्यसैले समूह चरणमा आयोजक जापान र बलियो अफगानिस्तानविरुद्धको प्रदर्शन नेपालको लागि निर्णायक हुनेछ।
एसियाली खेलकूदको इतिहासमा क्रिकेट पहिलो पटक सन् २०१० को ग्वाङ्झाउ एसियाडमा समावेश गरिएको थियो। त्यसयता २०१४ को इन्चोन, २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकूदपछि अब जापानमा हुने २०औँ संस्करणमा पनि क्रिकेटलाई निरन्तरता दिइएको छ।
क्रिकेट प्रतियोगिताले एसियाका टेस्ट राष्ट्रसँगै उदाउँदा एसोसिएट राष्ट्रहरूलाई पनि उच्चस्तरीय प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै आएको छ। नेपालले १९औँ एसियाली खेलकूदमा ऐतिहासिक प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।
छनोट चरणको पहिलो खेलमा नेपालले मंगोलियालाई विशाल अन्तरले पराजित गर्दै विश्व क्रिकेटमै नयाँ कीर्तिमानहरूको वर्षा गरेको थियो। त्यस खेलमा नेपालले ३ विकेटको क्षतिमा ३१४ रन बनाउँदै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो टोली योगफलको विश्व कीर्तिमान बनाएको थियो।
उक्त खेलमा नेपालका कुशल मल्लले केवल ३४ बलमा शतक प्रहार गर्दै त्यसबेला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटकै सबैभन्दा तीव्र शतकको विश्व कीर्तिमान कायम गरेका थिए।
दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक पूरा गर्दै विश्वकै सबैभन्दा तीव्र टी–२० अन्तर्राष्ट्रिय अर्धशतकको कीर्तिमान बनाएका थिए भने नेपालले एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने लगायतका कीर्तिमान पनि आफ्नो नाममा लेखाएको थियो।
त्यसपछि समूह चरणको अर्को खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो। अन्तिम आठमा नेपालले विश्व क्रिकेटको महाशक्ति भारतसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो।
उक्त खेलमा भारतले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल पराजित भए पनि भारतीय टोलीविरुद्धको प्रतिस्पर्धाले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय छवि अझ उँचो बनाएको थियो।
यसपटक जापानमा हुने २०औँ एसियाली खेलकूदमा पनि नेपालले अघिल्लो संस्करणको उपलब्धिलाई दोहोर्याउने लक्ष्य लिएको छ। युवा र अनुभवी खेलाडीको संयोजन रहेको नेपाली टोलीले समूह चरण पार गर्दै पुनः पदक यात्रातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।
अफगानिस्तानजस्तो स्थापित टेस्ट राष्ट्र र घरेलु मैदानको फाइदा लिने जापानविरुद्धको प्रदर्शन नै नेपालको क्वार्टरफाइनल यात्राको आधार बन्नेछ ।




प्रतिक्रिया राख्नुहोस्