राष्ट्रिय विभूति भीमसेन थापालाई नबिर्सौं
साउन ९ गते अर्थात् राष्ट्रिय विभूति भीमसेन थापाको जन्म दिन । उनको २५१औँ जन्मजयन्ती भएको कारण उनलाई सम्झनु सान्दर्भिक हुनेछ ।
विशेष गरी अहिले किशोरावस्थामा रहेका लाखौँ विद्यार्थी वर्ग भीमसेन थापाजस्ता राष्ट्रका सपुतबारे जानकार रहनु अति आवश्यक छ । देशको इतिहास र गौरवबारे ज्ञान भएन भने आफ्नो अस्तित्वप्रति सचेत रहन सकिदैन ।
को थिए भीमसेन थापा ?
विसं १८३२ साउन ९ गते गोरखाको पिपलथोक गाउँको एक सामान्य परिवारमा पिता अमरसिंह थापा (बडा काजी होइन) र माता सत्यरुपाका सन्तानका रूपमा भीमसेनको जन्म भएको थियो ।
उनको जन्मस्थानबारे केही भ्रम पनि रहेको पाइन्छ । राजकाजको जिम्मेवारीबाट मुक्त भइसकेपछि उनले गोरखाकै बोर्लाङ गाउँमा हवेली बनाएर बसेका र आँपको ठूलो बगैँचासमेत बनाएका हुनाले कतिपय लेखकले उनको जन्मघर नै बोर्लाङ भनेर पनि लेखेको पाइन्छ । तर उनको जन्मस्थान पिपलथोक हो, बोर्लाङ हैन ।
नेपालको इतिहास अत्यन्तै रोचक, घोचक र रोमाञ्चक रहेको छ । परापूर्वकालदेखिकै इतिहास पल्टाउँदा अनेकौं ऐतिहासिक पात्रका भूमिकाले हामीलाई उद्देलित बनाउँछ ।
तर पनि स्वदेशका र विदेशका जति पनि इतिहासकार छन् तिनले नेपालका मुख्यतया तीन पात्र राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, राष्ट्र सपुत भीमसेन थापा र राष्ट्र रक्षक जङ्गबहादुर राणाका बारेमा जति शब्द खर्चिए त्यति अरुका बारे खर्चेको पाइँदैन ।
राजा महेन्द्रको शासनकालमा परापूर्वकालदेखि विभिन्न क्षेत्रबाट देशलाई असाधारण योगदान गर्ने महान व्यक्तित्वको छनोट गरी राष्ट्रिय विभूति निर्धारण गर्ने काम भयो ।
साहित्यकार बालकृष्ण समको संयोजकत्वमा रहेको एक समितिले त्यो काम सम्पन्न गरेको थियो । यद्यपि उक्त समितिले गरेका काम गुनासोरहित भने थिएन ।

महाकवि देवकोटा, विद्यापति, राष्ट्र एकीकरणका नायक बहादुर शाह, अभिमानसिंह बस्न्यात आदिलाई समितिले बिर्सिएको थियो भने प्रजातन्त्र पुनस्र्थापनापछि सयौँ शहीदका साथै केही विभूति पनि थपिए तर त्यो पनि अपुरो नै रह्यो ।
तर भीमसेन थापालाई सुरुदेखि नै कुनै पूर्वाग्रह नराखी राष्ट्रले विभूतिको सम्मान दिँदै आएको छ । विसं २०२६ मा सरकारले भीमसेन थापाको चित्र अङ्कीत हुलाक टिकट जारी गरेर पनि उनको राष्ट्रिय सम्मान गरेको थियो ।
सामाजिक तथा आर्थिक सुधार
नेपालको इतिहासको अतिनै संवेदनशील कालखण्डमा विसं १८६३ देखि १८९४ को ३१ वर्षसम्म देशको सर्वेसर्वा भई जिम्मेवारी सम्हालेका जनरल थापाका पोल्टामा जश र अपजश दुवै परेको पाइन्छ ।
सर्वसाधारण नेपालीले भीमसेन थापा भन्ने बित्तिकै सबैभन्दा पहिले र सजिलैसँग धरहरालाई सम्झन्छन् । उनले राजधानी काठमाडौँको टुँडिखेल नजिक बाध दरबारको छेउमा एक जोडी धरहरा बनाउन लगाएका थिए ।
विसं १८८२ मा उनले तत्कालीन महारानी ललितत्रिपुरा सुन्दरीको नाममा एउटा र आफ्नो नाममा एउटा गरी समानान्तर रुपमा दुईवटा धरहरा ठड्याएका थिए ।
तर दुर्भाग्यवस विसं १८९० भदौ १२ गते साँझ र राति गरी दुई पटक आएको ठूलो भूकम्पले दक्षिणतर्फको धरहरा फेदैसम्म ढल्यो भने उत्तरतर्फको केही क्षतिग्रस्त भयो ।
पछि पूरै ध्वस्त भएको धरहरालाई छोडी केहीमात्र क्षतिभएको धरहराको पुनःनिर्माण गरियो । उक्त पुनःनिर्मित धरहरा १०० वर्षपछि अर्थात् १९९० माघ २ गतेको महाभूकम्पमा फेरि क्षतिग्रस्त भयो ।
तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले धरहरा पुननिर्माणलाई उच्च प्राथमिकतादिई दुई वर्षभित्रै अर्थात् १९९२ सालमै त्यसको पुनःनिर्माण सम्पन्न गराए, जुन धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पमा क्षतिग्रस्त भएर ठुटो बनेको छ । धरहरा भीमसेन थापाको कीर्ति भएकाले यसलाई भीमसेन स्तम्भ पनि भनिन्छ ।
भीमसेन थापाले धरहरा मात्र बनाएका होइनन्, त्यसको नजिकै सुन्धारा पनि बनाएका थिए, जो अद्यापि छँदैछ तर अहिले पानी आउँदैन । खासमा दुईवटा धरहरा बनाउँदा चाहिने माटो खन्दा बन्न गएको ठूलो खाल्टोलाई सदुपयोग गरी सुन्धारा बनाइएको हो भनिन्छ ।
मसेनले पाल्पाको रिडी, गोर्खाको बोर्लाङ, बुँकोट, काठमाडौँको लगन गणबहाल आदि स्थानमा पनि आफ्ना कीर्ति राखेका छन्, जो अहिले जीर्ण अवस्थामा छन् ।
भीमसेन थापाको योगदानमा कमाराकमारी प्रथा उन्मूलन एक प्रमुख हो । धनी वर्गले गरिब परिवारलाई ऋण दिएर त्यसको वदलामा त्यस परिवारका छोराछोरीलाई बिना पारिश्रमिक काममा लगाउन कमाराकमारी बनाउने चलनलाई थापाले १८८७ सालमा लालमोहरमार्फत प्रतिबन्धित गरे ।
उनको यो नीतिप्रति घरमा कमाराकमारी राख्ने गरेका भारदार, शक्तिशाली र सम्पन्न वर्ग आदि थापासँग निकै रुष्ट भए । त्यतिखेरको परिप्रेक्ष्यमा यो निकै ठूलो परिवर्तनकारी कदम थियो ।
त्यतिखेरको समाजमा दाजुको मृत्यु भएमा भाउजूलाई पत्नीका रूपमा स्वीकार्नु पर्ने अत्यन्तै गलत चलन व्याप्त थियो । यसले समाजमा एक प्रकारको विकृति र परिवारमा विग्रहसमेत ल्याएको थियो । मुख्तियार थापाले १८९३ सालमा लालमोहरमार्फत यो कुप्रथामाथि पनि प्रतिवन्ध लगाए ।
यसै गरी ब्राह्मण, क्षेत्री परिवारमा समेत प्रचलित मामा र फुपूका छोराछोरीबीच हुने विवाहलाई पनि उनले प्रतिवन्ध लगाए । तत्कालीन समाजमा अस्वभाविक वैवाहिक सम्बन्धमाथि राज्यले नै रोक लगाउनुलाई क्रान्तिकारी कदम मान्नु पर्दछ ।
काठमाडौँ उपत्यकाका विशेष गरी नेवार जातिमा धार्मिक, सांस्कृतिक पर्वमा आफ्नो क्षमताभन्दा बढी खर्च गरेर भए पनि भोजभतेर गर्नुपर्ने र पुरोहितले मागे जति दानदक्षिणा दिनै पर्ने चलन थियो ।
यसबाट आर्थिक अवस्था कमजोर भएका अधिकांश नेवार परिवार पीडित थिए र भोजकै लागि ऋणमा चुर्लुम्म डुब्न बाध्य थिए । यो मर्का बुझेर उनले १८८८ सालमा एक लालमोहर जारी गरी भोजभतेरमा गर्ने खर्च र पुरोहितले पाउने दानदक्षिणाको सीमा तोकिदिए र त्यसलाई उल्लङ्घन गर्ने यजमान र पुरोहित दुवैलाई दण्डसजायको समेत व्यवस्था गरेका थिए ।
भीमसेन थापाले गरेका सुधारमा बेठबेगार हटाउनु पनि महत्वपूर्ण मानिन्छ । बेठबेगार भनेको समाजमा हैकम चलाएर बसेका सरकारी कर्मचारी, साहुमहाजन एवम् सम्पन्न वर्गले सर्वसाधारण श्रमिक वर्गलाई कुनै ज्याला वा पारिश्रमिक नदिई सित्तैमा आफ्नो निजी काममा लगाउने कुप्रथा हो ।
श्रम शोषणको यो कुप्रथा तत्कालीन भारत, चीन र तिब्बतमा समेत व्याप्त थियो । थापाले १८८७ सालमा एक लालमोहर जारी गरी राजदरवार, सेना र युद्धसम्बन्धी काममा बाहेक अरु काममा पारिश्रमिक नदिई कसैले कसैलाई कुनै पनि काम लगाउन नपाउने, त्यसो गरेमा दण्ड सजायको भागिदार हुनुपर्ने नियम बसाले ।
आर्थिक क्षेत्रमा पनि उनले महत्वपूर्ण सुधार गरेका छन् । जमिनको नापी, मालपोत निर्धारण, मोही र तलसिङबीच बाली लिनेदिने कुरामा हुनेगरेको किचलो समाधान गर्न लालमोहर, नगद ऋणमा १० प्रतिशत र जिन्सीमा २५ प्रतिशतभन्दा बढी व्याज लिन नपाइने व्यवस्था, धानचामलको सरकारी मूल्य निर्धारण, भ्रष्टाचार नियन्त्रण प्रयास, नेपाल आउन चाहने विदेशीका लागि प्रवेशाज्ञा (भिसा)को अनिवार्यता आदि उनका उल्लेखनीय आर्थिक सुधारका प्रयास हुन् ।
नगद लेनदेनको प्रचलन अत्यन्त न्यून मात्र रहेको त्यस समयमा सरकारी कर्मचारीले सेवाग्राही सर्वसाधारणको घरगोठमा गई दुहुनो गाई, खसी, बोका आदि लिन्थे । उनले त्यसरी घुस खाने कर्मचारी र खुवाउने सेवाग्राही दुवैलाई दण्डित गर्ने व्यवस्था गरे ।
सेनाको आधुनिकीकरण
नेपाली सेनाको प्रधानसेनापति समेत भएका भीमसेन थापालाई नेपालीहरुले सम्झिनु पर्ने अर्को मुख्य कारण हो–सेनाको आधुनिकीकरण । उनले नेपाली सेनालाई आधुनिकीकरण र सुदृढ बनाउन फ्रान्सको समेत सहयोग लिएको पाइन्छ ।
सेनालाई आधुनिक तालिम, हतियार, पोसाक, व्यारेक, युद्धमा जाँदा सहयोगी भरिया दिने आदिको व्यवस्था उनकै देन हो । उनकै पालादेखि सेनाको फौजलाई टुँडिखेलमा नियमित परेड खेलाउने र सेनालाई दर्जा र दज्र्यानी चिन्ह प्रदान गर्ने चलन सुरु भएको मानिन्छ ।





प्रतिक्रिया राख्नुहोस्