अहंकार एक प्रकारको मनोरोग नै हो
नेपाली राजनीतिमा अहंका, दम्भ प्रदर्शन उत्कर्षमा पुगेको आम अनुभूति छ । सामान्य रुपमा हेर्दा पनि यस्तो देखिन्छ । संघदेखि पालिका प्रमुखहरुमा अहंकारले यसरी घर गरेको छ कि त्यसले मानिसको आफ्नो सत्व नै गुमेको छ । यसलाई एक प्रकारले मनोरोग नै हो कि भन्ने अवस्था पनि सिर्जना भएको छ ।
जब मानिस आफ्नो आत्मको सत्य नचिनेर सामाजिक छवि वा उपलब्धिहरूमा मात्र आफ्नो मूल्य–महत्व देख्छ, तब अहंकार बढ्छ । अहिले यस्तै अहंकार प्रदर्शन भैरहेको छ । म नै श्रेष्ठ हुँ, मेरो विचार मात्र सही ठान्ने र अरूको आलोचना मात्र गरिरहने स्वभावका व्यक्तिहरु घातक हुन्छन् । उनीहरु सधैं सम्मान, प्रशंसा मात्र खोजिरहने, अरुको अस्तित्व अस्वीकार गर्ने हुन्छन् । यस्ता व्यक्तिहरुले सबैतिर कलह ल्याउँछन् ।
आफैलाई अत्यधिक महत्वपूर्ण र अरूभन्दा माथि ठान्ने, आफूमाथिको आलोचना स्वीकार्नै नसक्ने अवस्थामा शासनसत्तामा बस्ने प्रशासनमा बस्ने उच्च व्यक्तिहरुमा रहेको छ । उनीहरु सानोतिनो सफलतालाई ठूलो बनाई आफ्ना आसेपासे लगाएर प्रचार गर्ने र यसबाट आफ्नो प्रशंसा खोजिरहेका छन् ।
नेपालको सत्ता राजनीतिमा यही नै सबैभन्दा खराब प्रवृत्तिका रुपमा स्थापित हुँदै गएको छ । शास्त्रहरुमा गरिएको वर्णन अनुसार मानिसमा हुनेपर्ने सामान्य गुण परित्याग गरी काम, क्रोध, लोभ, मोह, अहंकारमा लिप्त छन् । जसले गर्दा बेथिति, विकृति, विसंगति, भ्रष्टाचारले चुली चुमेको छ ।
देशको समग्र हितका लागि सहमति, सहकार्यको कुनै गुञ्जायस छैन । कसैले केही राम्रो गर्न खोज्यो भने उसले आफ्नो भाग खोस्ने भयो भन्दै स्थापित सबै दल मिलेर उसलाई सध्याउन लागिपर्छन् । विपक्षी दलका हकमा मात्र होइन, एउटै दलभित्र पनि यस्तै प्रवृत्ति छ । दलभित्र चरम गुटबन्दीले सिंगो मुलुक राजनीतिक अस्थिरताले जकडिएको छ ।
अहंकारले मानिसलाई खरानी बनाउँछ । लोकतन्त्रमा अहंकार त्याज्य छ । तर, नेपालमा लोकतन्त्रका लागि लडेका भन्नेहरु नै यसको मर्ममाथि प्रहार गरिरहेका छन् । उनीहरुमा ‘हामीले लडेर ल्याएको गणतन्त्र’मा अरुले औंला ठड्याउन पाउँदैनन् भन्दै मुलुक दोहन गर्ने अनुमतिपत्र (लाइसेन्स) पाएको जसरी चरम अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै अहंकारको आगो ओकलिरहेका छन् ।
बिरोधी दललाई सिध्याउने, आफ्ना बिरुद्ध बोल्ने लेख्नेलाई जेल कोच्ने र अरुलाई अघि बढ्नै नदिने काम अहिले भैरहेको छ । उनीहरुद्वारा पालित–पोषितहरुमा यति अहंकार पलाएको छ कि देशमा शासन गर्ने अधिकार उनीहरुमा मात्र छ । उनीहरुले जे गरे पनि त्यो देशकै लागि हुन्छ, लोकतान्त्रिक नै हुन्छ, विकास नै हुन्छ, समृद्धि नै हुन्छ भनेर स्वीकार्नुपर्ने बाध्यता छ । जब मानिसमा अहंकार पलाउँछ यसले कुनै न कुनै दिन थचार्छ नै ।
जब व्यक्ति आफूलाई अरुभन्दा फरक, अरुभन्दा श्रेष्ठ, आदर्शवाद, नैतिकवाद, विकासशील र आफूबाहेक अरु केही होइन भन्ने भावना पैदा हुन्छ त्यहाँ अहंकार उत्पन्न हुन्छ । यस्तो अहंकारले विनाश निम्त्याउँछ ।
नेपालको सत्ता राजनीतिमा अहिले यस्तै अहंकार, हठी, स्वाँठहरुको हालिमुहाली छ । अरुको अस्तित्व स्वीकार्नै नचाहने नसक्ने प्रवृत्ति यति प्रवल छ कि यसका लागि आफ्ना सिंगो समूहलाई सोही अनुसार प्रशिक्षित गरिएको छ । सबै एकोहोरो यिनै पक्षमा लागिपर्दछन् र देशमा भ्रमको पहाड खडा गरिरहेका छन् ।
अहंकार पौराणिकदेखि आधुनिककालसम्म त्याज्य विषय हो र अहंकार पाल्नेहरुको पतन निश्चित हुन्छ । अझ राजनीतिमा अहंकार पलायो भने त्यसले देशलाई नै डुबाउन बेर लाग्दैन । यस्ता उदाहरण विश्वमा जति पनि छन् ।
एउटा व्यक्तिको अहंकार र सनकले ठूलठूला युद्ध भएका छन् । अंकारले कहिल्यै सिर्जना गर्दैन, यसले विनाश मात्र निम्त्याउँछ । राजनीति गर्नेहरुले अहंकारको साटो सहिष्णुता राख्ने हो भने यसले सुन्दर विश्व निर्माणमा सघाउ पुग्छ ।
सहिष्णुताको सर्वमान्य सिद्धान्त पनि यही हो । तर, नेपालमा सहिष्णुता पटक्कै छैन । केवल अहंकार छ । राजनीतिक सहिष्णुताको साटो अहंकार पालेर बस्दा नै आज मुलुकको यो अवस्था भएको हो ।
लोकतन्त्रमा अहंकार त्याज्य विषय हो भने सहिष्णुता लोकतान्त्रिक समाज निर्माणको मूल आधार हो । विचारमा मतभिन्नता हुनु स्वाभाविक छ । तर, वैचारिक मतभिन्नता छ भन्दैमा एक अर्काको विचारै नसुन्ने, उनीहरुलाई निषेध नै गर्ने प्रवृत्ति घातक हो र यस्तो प्रवृत्तिलाई अहंकार भनिन्छ । अरुको विचार सुनेर त्यसको सम्मान गर्ने बानी नेताहरुमा भएन भने त्यहाँ लोकतन्त्रले फस्टाउने मौका नै पाउँदैन ।
नेपालमा अहिले भैरहेको अहंकार प्रदर्शनले देशको व्यवस्थामाथि नै गम्भीर प्रश्न उठिसकेको छ । लोकतन्त्र एउटा सुन्दर बगैंचा हो । त्यहाँ विविध फूलहरु हुनुपर्छ, एकथरि मात्र फूल भयो भने त्यसलाई बगैंचा भनिंदैन गमला भनिन्छ ।
बहुदलीय व्यवस्था पनि यस्तै हो । अनेक विचार, सिद्धान्त, नीति, कार्यक्रम बोकेका दलहरुबीचको स्वस्थ प्रतिस्पर्धाले मात्रै लोकतान्त्रिक बगैंचा सुगन्धित हुन्छ । तर, यहाँ लोकतन्त्रको नाममा सीमित व्यक्तिहरुको अहंकार प्रदर्शन भैरहेको छ । जुन देशका लागि घातक बन्दै गएको छ । दुर्योधनको अहंकार जस्तै ।





प्रतिक्रिया राख्नुहोस्