जापानमा सुनामीको त्रास, हजारौंलाई सारियो सुरक्षित स्थानमा
बुधबार विहान रुसको सुदूर पूर्वी कामचाट्का प्रायद्वीपको तटमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पको असरले जापानमा सुनामीको चेतावनी दिइएको छ ।
जापानले होक्काइडोदेखि वाकायामा प्रान्तसम्म फैलिएको प्रशान्त महासागरतर्फको फराकिलो तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ ।
मौसम विज्ञान एजेन्सीले होक्काइडोको नेपुरोमा ३० देखि ४० सेन्टिमिटरसम्मको छाल पुगिसकेको र त्यसपछिका छालहरू अझ शक्तिशाली हुने र ३ मिटरसम्म पुग्न सक्ने चेतावनी दिएको जापान टाइम्सले जनाएको छ ।
त्यसै गरी शिकोकु, क्युसु र ओकिनावाका लागि १ मिटरसम्मको छालहरू आउनसक्ने र लामो समयसम्म बारम्बार आक्रमण गर्न सक्ने चेतावनी दिइएको छ ।
मौसम एजेन्सीका अनुसार प्रत्येक तरंगको धेरै लामो अवधि हुने र एकल लहर चक्र पास हुन करिब एक घण्टा लाग्न सक्छ, त्यसैले सुनामी गतिविधि लामो अवधिमा अवलोकन गर्न सकिन्छ।
प्रधानमन्त्री शिगेरु इशिबाले स्थितिको मूल्यांकन गर्न एक कार्यदल गठन गरिएको र राहत कार्यमा मानव जीवनलाई पहिलो प्राथमिकता दिइने बताउनुभएको छ ।
फुकुशिमा दाइची र दाइनी आणविक ऊर्जा केन्द्रका सबै कामदारलाई सुरक्षित र अग्लो स्थानमा सारिएको छ । त्यहाँ अहिलेसम्म कुनै असामान्य अवस्था नदेखिएको ऊर्जा केन्द्र सञ्चालक कम्पनी टेप्कोले जनाएको छ ।

उता इबाराकी प्रीफेक्चरले तटीय शहर ताकाहागी र हितचिनाका र टोकाई गाउँका बासिन्दाहरूलाई खाली गर्न आदेश जारी गरेको छ।
वाकायामा सहरले पनि बिहान ११ बजे तटीय क्षेत्रका ८८,००० घरपरिवारका १,७५,००० मानिसहरूलाई अग्लो ठाउँमा जान आदेश दिएको छ।
मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले पत्रकार सम्मेलनमा जमिन वा समुद्रमा कुनै क्षति नभए पनि तीन राजमार्ग अवरुद्ध भएको र ४१ वटा रेलमार्गको सञ्चालन अस्थायी रूपमा रोकिएको जानकारी दिनुभयो
त्यसै गरी तोहोकु क्षेत्रमा पर्ने सेन्दाई विमानस्थलको धावनमार्ग अस्थायी रूपमा बन्द गरिएको छ । टोकियो इलेक्ट्रिक पावर कम्पनीले फुकुशिमा नम्बर १ आणविक प्लान्टमा काम गर्ने कर्मचारीहरूलाई खाली गर्न आदेश दिंदै सबैलाई उच्च जमिनमा सारिएको पुष्टि गरेको छ।




प्रतिक्रिया राख्नुहोस्