राजनीति

साम्प्रदायिक तनाव दोहोरिन नदिन सुरक्षा परिषद्को विशेष योजना

राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले मुलुकको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव, शान्ति–सुरक्षा र राष्ट्रिय एकता सुदृढ बनाउन सबै सुरक्षा निकाय तथा सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विशेष गरी सुनसरीको देवानगञ्जमा साउन १० गते भएको हिंसात्मक घटनाको समीक्षा गर्दै यस्ता घटना भविष्यमा दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो।

राष्ट्रिय सुरक्षा परिषद्का सदस्य–सचिव तथा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले बैठकमा देशको समग्र सुरक्षा अवस्था, सुनसरी घटनापछि अपनाइएका सुरक्षा उपाय तथा आगामी रणनीतिबारे विस्तृत छलफल भएको जानकारी दिनुभयो।

उहाँका अनुसार बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकतामा असर पुग्न सक्ने गतिविधिप्रति सुरक्षा निकायलाई अझ सतर्क बनाउने, सम्भावित जोखिमको समयमै पहिचान गर्ने तथा संघ, प्रदेश र स्थानीय तहका सरोकारवाला निकायसँग निरन्तर समन्वय गरेर प्रभावकारी कार्यसम्पादन गर्ने निर्णय गरेको छ।

सचिव शर्माले भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय प्रशासनबीचको सूचना आदान–प्रदान र समन्वयलाई थप सुदृढ बनाइने बताउनुभयो।

सामाजिक सद्भाव कायम राख्न समुदायस्तरमा संवाद र विश्वास अभिवृद्धि गर्ने कार्यक्रमलाई पनि प्राथमिकता दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो।

बैठकमा विपद् व्यवस्थापनका विषयमा पनि विशेष छलफल भएको थियो। प्राकृतिक तथा मानवसिर्जित विपद्का घटनामा खोज, उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीचको समन्वय संयन्त्रलाई थप मजबुत बनाउने विषयमा सहमति भएको सचिव शर्माले बताउनुभयो।

बैठकमा सहभागी परराष्ट्रमन्त्री शिशिर खनालले राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा तथा सुरक्षा निकायको संयुक्त पहलका कारण सुनसरीको अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी परिषद्लाई गराइएको बताउनुभयो।

उहाँका अनुसार प्रभावित क्षेत्रमा शान्ति कायम भए पनि सामाजिक सद्भावलाई दीर्घकालीन रूपमा मजबुत बनाउन स्थानीय तहमा संवाद, विश्वास निर्माण र समन्वयलाई निरन्तरता दिनुपर्नेमा बैठकले जोड दिएको थियो।

“यसप्रकारका घटना पुनः नदोहोरिउन् भन्ने उद्देश्यले आवश्यक संवादलाई थप तीव्र बनाउने, सम्भावित सङ्कट तथा भिड व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने, आवश्यक स्रोत–साधन उपलब्ध गराउने र तालिमलाई अझ सुदृढ बनाउने विषयमा पनि बैठकमा विस्तृत छलफल भएको थियो,” मन्त्री खनालले भन्नुभयो।

बैठकमा मुलुकको बदलिँदो सुरक्षा चुनौती, साम्प्रदायिक तथा सामाजिक सद्भावमा असर पुग्न सक्ने गतिविधिप्रति समयमै सूचना संकलन, विश्लेषण र प्रतिकारात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा पनि जोड दिइएको थियो।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुधन गुरुङ, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति तथा परिषद्का अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकले सुरक्षा संयन्त्रलाई थप समन्वित, चुस्त र उत्तरदायी बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षालाई सुदृढ बनाउन सबै निकायले साझा रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.