सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ : एमाले
प्रतिपक्षी दल नेकपा (एमाले) ले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा सरकार शान्ति–सुरक्षा कायम गर्न असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखेको छ।
१४ दिनपछि बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलकी उपनेता अर्यालले सुनसरी घटनामा भएको मानवीय क्षति, हिंसा र राज्य संयन्त्रको भूमिकाप्रति गम्भीर प्रश्न उठाउनुभयो।
उहाँले यस्ता घटनामा सरकारको राजनीतिक र नैतिक उत्तरदायित्व स्थापित हुनुपर्ने भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि प्रश्न गर्नुभयो।
उहाँले विगतमा काठमाडौंमा गोली चलेको घटनालाई स्मरण गराउँदै त्यसबेला तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिक रूपमा जिम्मेवार ठहर गरिएको प्रसंग उल्लेख गर्नुभयो।
अहिले सुनसरीमा हिंसात्मक घटनाका कारण नागरिकको ज्यान गएको अवस्थामा वर्तमान सरकारका प्रमुखहरूले पनि त्यही मापदण्डअनुसार नैतिक जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ थियो।
“काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री थुनामा बस्नुपर्छ भन्ने अवस्था सिर्जना गरियो भने सुनसरीमा मानिस मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? यो घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? एउटै देशमा फरक–फरक मापदण्ड किन ?” उहाँले प्रश्न गर्नुभयो।
उहाँले सरकारले सुनसरीमा उत्पन्न भएको तनाव समयमै नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै घटनाप्रति सरकारको प्रारम्भिक प्रतिक्रिया कमजोर देखिएको टिप्पणी गर्नुभयो।
संवेदनशील अवस्थाको सही मूल्यांकन गर्न, सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्न तथा स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिन सरकार चुकेको उहाँको आरोप थियो।
सांसद अर्यालले धार्मिक तथा सामुदायिक सद्भावमा असर पर्ने खालका घटनामा सरकार अझ बढी सतर्क हुनुपर्ने उल्लेख गर्दै शान्ति–सुरक्षा कायम गर्नु राज्यको पहिलो दायित्व भएको बताउनुभयो।
“देशमा शान्ति–सुरक्षा कायम गर्न राज्य असफल भएको छ। दंगा नियन्त्रण गर्नुको सट्टा सरकारले आफैं त्रास सिर्जना गरेको छ,” उहाँले भन्नुभयो।
उहाँले सरकारले हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने, पीडित परिवारलाई न्याय दिलाउनुपर्ने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा रणनीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।
सुनसरीको देवानगञ्जमा धार्मिक जुलुसका क्रममा सुरु भएको विवाद हिंसात्मक बन्दै आगजनी, तोडफोड र झडपमा परिणत भएको थियो।
उक्त घटनामा एक जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति घाइते भएका थिए भने सार्वजनिक तथा निजी सम्पत्तिमा समेत क्षति पुगेको थियो। घटनापछि सरकारले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ भने घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।
एमालेले प्रतिनिधिसभामार्फत सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र सरकारबाट नैतिक तथा राजनीतिक उत्तरदायित्वको अपेक्षा गरेको छ।




प्रतिक्रिया राख्नुहोस्