माकुनेको भविष्य राज्यको सुविधामा कि विदेशको ग्रोसरीको जागिरमा ?
हैन ओ जेनजी सरकार ! ह्वाँ माधब कुमार नेपाल (माकुने)ज्यूको किन चित्त दुखाउनु भा छ के । यसरी बुढो मान्छ्या चित्त दुखाउँदा तपाईंहरलाई पाप लाग्ला है बिचार गर्नोस ।
कैले यौटै पाटीका नाममा प्रचण्डले चित्त दुखाउने अनि कैले सरकारले चित्त दुखाउने गरेछि ह्वाँ मन धान्न र चित्त बुझाउन काँ जाने के ?
सरकारले चित्त दुखाएरै त होला बिचरा माकुनेजी पूर्व प्रधानमन्त्री भएरनि मैले राज्यको सुबिधाँ खाई खेल्न नपाउने भनेर सामाजिक सञ्जालभरि रुवाबासी गर्या देख्दा मलाई नि यो सरकारसित साह्रै चित्त दुख्याछ ।
देशको प्रधानमन्त्री भएर राज्यको ढुकुटीयाँ खेल्या अनि पदाट बाहिरिँदानि आँफुहरलाई भरपुर सुबिधाट लटिपटी हुने अबसर जुटाएर राज्यले पूर्व प्रधानमन्त्रीका नाममा निरन्तर भेटी चढाओस र आँफुले निस्फिक्र खाई खेल्न पाईयोस भनेर प्लान बनाएर आजसम्म निरन्तर राज्यको ढुकुटीयाँ खाईखेल्ने र रमाउने गर्या बेलाँ काँट यो जेनजीका नाममा बालेन सरकार आएर वुढानेता र “पूर्वपद” धारण गर्या व्यक्तिलाई राज्यको सुविधाट बन्चित गर्देछि बिचराहरु किन रुवाबासी नगरुन त नि ।
पुराना नेता जतिको यो धर्तियाट उठिवासै गराउने, पत्तासाफै गर्ने नीति यो दुई तिहाइको सरकारले ल्या हो भने त मलाई भन्नू केही छैन हैन भने त बिचरा हेर्नोस त माधब नेपाल कसरी रुनुभा छ ।
सामाजिक सञ्जालाँ सुन्नु भए होलानि “म पूर्व प्रधानमन्त्री जस्तो मानेलाई न चढने गाडी छ, न हाल्ने तेल छ, न सुरक्षा दिने गार्ड छ, न खाने पेन्सन छ, न बस्ने बास छ, म अब यो देशाँ बस्दैन अमेरिकातिरै जान्छु, मेरा लागि यो देश काम लाग्दो छैन” भन्दै रुँदै गर्या देख्दा कुन चाहिँ जनताको मन कटक्क खान्न ?
हुन पनि बिचारालाई न पाटियाँ महत्व द्याछन न सडकाँ महत्व द्याछन आखिर भन्ने बेलाँ उपनेता भन्ने तर कामका बेलाँ उपति न पापतिको नेता बनाईदेछि उनको पनि त मनै हो रुन्यै त भो । बिचराको हुँदा खाँदाको पाटी नि प्रचण्डले खाईदे ।
आफ्नो पाटी हुँदा दशैजना कार्यकर्ता मात्रै किन नहुन पाटी अध्यक्ष भनेर त्यै सानमा जिउन पाथे । राजनीतिक मैदानाँ प्रचण्ड ,देउबा,वलि बराबरको सानथ्यो ।
तर जुन दिनाट प्रचण्ड शीत पाटी एक बनाएर के के नै गर्छु अब ठूलै पाटीको नेता बन्छु, सत्ता त अब हाम्रो देब्रे हातको खेल हो भनेर प्रचण्डको पुच्छर बनेर हिँडे तबदेखि बिचराको हरिविजोग भाछ ।
यो देशाँ कमिनिष्टका हर्ताकर्ता भन्या मिस्टर केपी वली परे उनी माधब नेपालको सन्धगन्धै मन पराउँदैनन् । प्रचण्ड कमरेड कमिनिष्ट बिचको खिचडी पकाउनु पर्यो भने एक्लै सुटुक्क वलीकाँ पुग्छन अनि वली र प्रचण्ड बीच के के पाक्यो त भनेर जब सामाजिक सन्जालाँ छरपस्ट भएर आउँछ तब त्यै हेरेर बिचरा माकुनेजीले था पाउनु हुन्छ अनि मन त त्यसै भतभति पोलिहाल्छ नि ।
जब मन पोल्न शुरु गर्छ तब अन्तर कुन्तरमा रहेका वेदना छताछुल्ल भएर आउँछन् त्यसपछि सरकारसित मात्रै हैन अनि देशैसित नि सिकायत रहन्छ अनि देशै छोडेर जान मनलाग्छ बिचरा माधबजीलाई ।
सरकार ! भोलि तपाईंहरुनि बुढो हुनु होला अनि त्यो बेला सरकार चलाउने जेनजीले ऐले माकुनेजीको सुख सुविधा खोसे जसरी खोसे भने के गर्नु हुन्छ ? त्यसैले जे भो भो विचरा माधबजीलाई अमेरिका जान बाध्य गराएर पेट पाल्न यो बुढेसकालाँ ग्रोसरी र मार्टमा काम गर्न जान बाध्य नपार्नुस् हाम्रो नि चित्त दुख्छ के !
लौ सरकार हाम्रो कुराको सुनुवाई होस माधबजी हाँसीखुसी यै देशाँ बस्न पाउन । संसारबाटै कमिनिष्ट पतन भा को बेलाँ नेपालाँ कमिनिष्टको सरकार बनाएर देशको नाम रोशन गरेका नेपालका कमिनिष्ट नेताहरुको आवश्यकता सकिया हो र ?




प्रतिक्रिया राख्नुहोस्