मध्यपूर्व तनावबीच ओपेक प्लसले तेल उत्पादन बढाउने संकेत
मध्यपूर्वमा जारी युद्धले विश्व ऊर्जा आपूर्तिमा दबाब परिरहेका बेला तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसले आगामी सेप्टेम्बर महिनाका लागि तेल उत्पादन कोटा फेरि बढाउने तयारी गरेको छ।
साउदी अरेबिया, रुससहितका सदस्य राष्ट्रहरूको आइतबार हुने भर्चुअल बैठकले दैनिक एक लाख ८८ हजार ब्यारेल उत्पादन थप गर्ने निर्णय गर्न सक्ने अनुमान गरिएको छ।
ऊर्जा परामर्शदाता संस्था रिस्टाड इनर्जीका विश्लेषक होर्गे लियोनका अनुसार पछिल्ला केही महिनादेखि निरन्तर उत्पादन वृद्धि गर्दै आएको ओपेक प्लसले सेप्टेम्बरमा पनि त्यही नीति अपनाउने सम्भावना छ। यद्यपि हालको उत्पादन वृद्धि श्रृंखलाको यो अन्तिम चरण हुन सक्ने उहाँको भनाइ छ।
सन् २०२२ को अन्त्यदेखि २०२३ सम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घट्न थालेपछि ओपेक प्लसले तीन चरणमा उत्पादन कटौती गर्दै दैनिक करिब ६० लाख ब्यारेल तेल उत्पादन घटाउने निर्णय गरेको थियो। त्यसपछि सन् २०२५ देखि साउदी अरेबिया, रुस, इराक, कुवेत, काजाकिस्तान, अल्जेरिया, ओमान तथा समूहबाट गत मे महिनामा बाहिरिएको संयुक्त अरब इमिरेट्स (यूएई) ले क्रमिक रूपमा उत्पादन बढाउने रणनीति अपनाएका थिए।
यदि सेप्टेम्बरमा प्रस्तावित वृद्धि लागू भयो भने ओपेक प्लसले यसअघि लागू गरेको उत्पादन कटौती योजनामध्ये दोस्रो चरण पूर्ण रूपमा हट्नेछ।
यद्यपि विश्लेषकहरूका अनुसार उत्पादन कोटा बढाइए पनि धेरै सदस्य राष्ट्रसँग तोकिएको परिमाणमा तेल उत्पादन गर्ने क्षमता छैन। यूबीएसका ऊर्जा विश्लेषक जियोभानी स्टाउनोभोका अनुसार उत्पादन क्षमता घट्दै गएकाले कोटा बढाउनु मात्र पर्याप्त नहुने अवस्था देखिएको छ।
मध्यपूर्व युद्धका कारण इरानले रणनीतिक रूपमा हर्मुज जलडमरूमध्यमा जहाज आवागमन प्रभावित पारेपछि खाडी क्षेत्रबाट तेल निर्यातमा ठूलो असर परेको छ। जुन महिनामा अमेरिका र इरानबीच समझदारी भएपछि केही समय ढुवानी बढे पनि अवस्था पूर्ण रूपमा सामान्य हुन सकेको छैन।
यता रुसको तेल पूर्वाधारमा युक्रेनी ड्रोन आक्रमणहरू दोहोरिएपछि रुसले पनि लक्ष्यअनुसार उत्पादन गर्न सकिरहेको छैन। रुसको दैनिक उत्पादन करिब ९० लाख ब्यारेल रहेको छ भने उसको आधिकारिक लक्ष्य ९८ लाख ब्यारेल प्रतिदिन रहेको छ।
विश्लेषकहरूका अनुसार इराकलगायत केही सदस्य राष्ट्रले उत्पादन उल्लेख्य रूपमा बढाउने इच्छा व्यक्त गरिरहेका छन्। त्यसैले ओपेक प्लसले अहिले सबै सदस्य राष्ट्रको अधिकतम दिगो उत्पादन क्षमता निर्धारण गर्ने प्रक्रिया अघि बढाइरहेको छ।
डीएनबी कार्नेगीका विश्लेषकहरूले सेप्टेम्बरपछि लागू हुने नयाँ उत्पादन कोटा निर्धारण नै ओपेक प्लसका लागि सबैभन्दा चुनौतीपूर्ण विषय बन्न सक्ने बताएका छन्। उनीहरूका अनुसार आगामी वर्षदेखि नयाँ कोटामा सहमति जुटाउन सदस्य राष्ट्रहरूबीच कठिन वार्ता हुन सक्छ।
रिस्टाड इनर्जीका विश्लेषक लियोनले तत्काल समूहको एकता संकटमा नपरे पनि यूएईको समूहबाट बाहिरिनुले ओपेक प्लसभित्रको आन्तरिक चुनौती उजागर गरेको टिप्पणी गर्नुभएको छ। यूएईले समूह छोड्दै आफ्नो निर्णय “राष्ट्रिय हित र दीर्घकालीन रणनीतिक उद्देश्य” अनुरूप भएको जनाएको थियो।
हालका वर्षहरूमा यूएईले तेल उत्पादन क्षमता विस्तारका लागि ठूलो लगानी गरेकाले कडा उत्पादन सीमाभित्र बसिरहनु आफ्ना लागि उपयुक्त नभएको निष्कर्षमा पुगेको विश्लेषण गरिएको छ।
मध्यपूर्वको युद्ध, रुस–युक्रेन द्वन्द्व तथा विश्वव्यापी ऊर्जा आपूर्ति शृंखलामा देखिएको अनिश्चितताबीच ओपेक प्लसको आगामी निर्णयले अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य र विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्