राजनीति

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनको आदेश, दुई मुद्दामा २८ लाख धरौटी माग

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश गरेको छ । साेमबार उच्च अदालतले प्रसाईंलाई राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा धरौटीमा छाड्न आदेश दिएको हो ।

मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उक्त आदेश जारी गरेको हो । प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हाे । १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको कर्जा अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

आदेशमा भनिएको छ, “घटना विवरण कागज गर्ने व्यक्तिहरुले गरेको कागज, सहप्रतिवादीहरुले अनुसन्धानमा गरेको बयान, छानबिन समितिको प्रतिवेदन व्यहोरा समेतलाई मध्यनजर गरी मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरुबाट यी प्रतिवादी दुर्गा प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था देखिएन ।”

अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा प्रसाईंलाई निर्दोष भन्न नसकिने तर उनी क्यान्सर रोगबाट पीडित रहेको प्रमाणलाई समेत आधार मान्दै धरौटीमा छाड्न आदेश दिएको हो । त्यस्तै प्रसाईंलाई सोमबारै उच्च अदालत पाटनले गत १५ चैतमा भएको राजावादी प्रदर्शनसँग जोडिएको मुद्दामा समेत धरौटीमा छाड्न आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । यसैगरी उच्चले राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई समान ५०-५० हजार रुपैयाँ तथा दण्डपाणी रेग्मीलाई १० हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.