जापानबिशेष

जापानमा डुजुआन आँधीको वितण्डा : चारजनाको मृत्यु, छ जना बेपत्ता, ४८ हजार घरमा विद्युत अवरुद्ध

टोकियो- जापानको पूर्वी क्षेत्रमा आएको शक्तिशाली डुजुआन आँधीका कारण भएको भारी वर्षा, बाढी र पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन्।

आँधीका कारण कान्तो क्षेत्रमा भारी वर्षासँगै पहिरो, डुबान र यातायात सेवामा व्यापक अवरोध भएको छ। जापान मौसम विज्ञान एजेन्सीले सोमबार इजु द्वीपसमूहअन्तर्गत ओशिमालगायतका क्षेत्रमा पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै उच्चतम तहको विशेष चेतावनी जारी गरेको थियो।

चिबा र कानागावा प्रिफेक्चरमा पहिरोका कारण घरहरूमा क्षति पुगेपछि प्रहरी, अग्निनियन्त्रक र जापान सेल्फ–डिफेन्स फोर्सले खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।

कानागावाको योकोसुका सहरमा ६४ वर्षीया एक महिलालाई घरभित्र मृत अवस्थामा फेला पारिएको थियो। दुई तले घरको पहिलो तलामा माटो र पहिरोबाट बगेका भग्नावशेष थुप्रिएका थिए।

त्यस स्थानबाट करिब एक किलोमिटर टाढा पहिरोले घर पुरिएपछि ७० वर्ष उमेर समूहका एक दम्पती बेपत्ता भएका छन्।

नजिकैको मियुरा सहरमा पनि दुई जना बेपत्ता भएका छन्। एउटा अपार्टमेन्ट भवनको पहिलो तलामा माटो र भग्नावशेष पसेपछि २० वर्ष उमेर समूहकी एक महिला सम्पर्कविहीन भएकी छन्। सहरकै अर्को क्षेत्रमा पहिरोका कारण भवनमा क्षति पुगेपछि अर्की एक महिला पनि बेपत्ता भएकी छन्।

चिबा प्रिफेक्चरको सोदेगाउरा सहरमा सडकबाट माटो तथा भग्नावशेष हटाउने क्रममा भारी उपकरणसहित बाँसघारीमा खसेर ५१ वर्षीय एक कामदारको मृत्यु भएको छ। घटनास्थल आसपास पहिरो गएको थियो। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

चिबाकै कामोगावा सहरमा ७० वर्ष उमेर समूहकी र सान्मु सहरमा ८० वर्ष उमेर समूहकी अर्की महिलाको पनि पहिरोका कारण घर भत्किँदा मृत्यु भएको छ। कामोगावामा थप दुई पुरुष बेपत्ता भएका छन्।

ओशिमामा ८३२ मिलिमिटर वर्षा

जापान मौसम विज्ञान एजेन्सीका अनुसार मंगलबार दिउँसोसम्म डुजुआन आँधी जापानको पूर्वतर्फ पुगेको थियो। आँधी प्रशान्त महासागरतर्फ सरे पनि खतरा पूर्ण रूपमा टरिनसकेको एजेन्सीले जनाएको छ।

अत्यधिक वर्षाका कारण जमिन पानीले संतृप्त भएको र नदीमा पानीको सतह बढेकाले पहिरो तथा बाढीको जोखिम कायम रहेको चेतावनी दिइएको छ।

मंगलबार बिहान १ः३० बजेसम्मको ४८ घण्टामा टोकियोको इजु द्वीपसमूहअन्तर्गत ओशिमामा ८३२ मिलिमिटर वर्षा भएको थियो। यो त्यहाँ अहिलेसम्मकै उच्च वर्षा हो।

त्यस्तै, टोकियोको एडोगावा वार्डस्थित रिन्काई क्षेत्रमा मंगलबार बिहान ६ः१० बजेसम्मको ४८ घण्टामा ३२५ मिलिमिटर वर्षा भएको थियो।

चिबा प्रिफेक्चरका विभिन्न क्षेत्रमा पनि रेकर्ड स्तरको वर्षा भएको छ। किमित्सु सहरको सकाहाता क्षेत्रमा मंगलबार बिहान १ः५० बजेसम्मको ४८ घण्टामा ४७६.५ मिलिमिटर वर्षा भएको थियो। इचिहारा सहरमा बिहान २ः४० बजेसम्म ४८७ मिलिमिटर वर्षा मापन गरिएको थियो।

मौसम एजेन्सीले वर्षा रोकिएपछि पनि माटोमा जमेको पानीका कारण पहिरो जान सक्ने भन्दै कान्तो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। तल्लो भूभागमा बाढी आउन सक्ने तथा नदीको पानीको सतह बढेर किनारा नाघ्न सक्ने भएकाले सावधानी अपनाउन पनि भनिएको छ।

हजारौँ घरमा विद्युत् अवरुद्ध

आँधीका कारण मंगलबार बिहानसम्म जनजीवन प्रभावित भएको थियो। टोकियो इलेक्ट्रिक पावर ग्रिडका अनुसार बिहान ९ः४५ बजेसम्म चारवटा प्रिफेक्चरका करिब ४८ हजार ३२० घरमा विद्युत् सेवा अवरुद्ध भएको थियो। तीमध्ये अधिकांश घर चिबा प्रिफेक्चरका थिए। कानागावा, यामानाशी र शिजुओका प्रिफेक्चरमा पनि विद्युत् अवरुद्ध भएको थियो।

रेल सेवामा समेत व्यापक असर परेको छ। मंगलबार पहिलो रेल सञ्चालन हुने समयदेखि नै ईस्ट जापान रेलवे कम्पनीका सोबु, नारिता र सोतोबोलगायत केही रेलमार्गमा सेवा स्थगित वा रद्द गरिएको थियो।

केइक्यु रेलवेको कानाजावा–हाकेइदेखि उरागा तथा होरिनोउचीदेखि मिसाकिगुचीबीच दुवैतर्फको रेल सेवा पनि स्थगित गरिएको थियो।

टोकियोको ओता वार्डस्थित हानेदा क्षेत्रमा मंगलबार बिहान ६ बजेसम्मको ४८ घण्टामा २६१.५ मिलिमिटर वर्षा भएको थियो, जुन त्यहाँको हालसम्मकै उच्च वर्षा हो। भारी वर्षाका कारण सोमबार धेरै उडान रद्द हुँदा ‘सिल्भर विक’ का क्रममा यात्रा गरिरहेका यात्रुहरू प्रभावित भएका थिए।

डुजुआन आँधी जापानबाट थप टाढिँदै गएसँगै मौसममा सुधार आउने अनुमान गरिएको छ। मंगलबार कान्तो क्षेत्रका अधिकांश स्थानमा घाम लाग्ने मौसमको पूर्वानुमान गरिएको थियो।

यद्यपि पूर्वी तथा उत्तरपूर्वी जापानका प्रशान्त तटीय क्षेत्रमा उच्च छाल र तीव्र हावाको जोखिम भने कायमै रहने मौसम एजेन्सीले जनाएको छ।

मंगलबार कान्तो र तोहोकु क्षेत्रमा पाँच मिटरसम्म अग्ला छाल उठ्न सक्ने अनुमान गरिएको थियो। तोहोकु क्षेत्रमा हावाको अधिकतम गति १५ मिटर प्रतिसेकेन्ड तथा झोक्कासहित ३० मिटर प्रतिसेकेन्डसम्म पुग्न सक्ने चेतावनी दिइएको छ।

समाचार र तस्वीर स्रोत : द जापान टाइम्स

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.