उडानकै क्रममा ट्रम्प सवार हेलिकोप्टर यात्रुवाहक विमानको निकै नजिक पुगेको आशङ्का
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सवार राष्ट्रपतिय हेलिकोप्टर ‘मरीन वन’ यस साता वासिङ्टनको आकाशमा उडानका क्रममा यात्रुवाहक विमानको अत्यन्त नजिक पुगेको आशङ्का गरिएको छ ।
सो आशङ्का पछि अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान सुरु गर्नुभएको छ। यद्यपि, ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प कुनै पनि बेला जोखिममा नपर्नुभएको स्पष्ट पारेको छ।
द न्युयोर्क टाइम्सले घटनाबारे जानकार दुई स्रोतलाई उद्धृत गर्दै मङ्गलबार मरीन वन र हवाई यातायात नियन्त्रण कक्षबीचको सञ्चार स्पष्ट नभएका कारण हेलिकोप्टर यात्रुवाहक विमानभन्दा एक माइलभन्दा कम दूरीमा पुगेको जनाएको छ।
अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी)ले अगस्ट ४ मा वासिङ्टन नेसनल एयरपोर्ट (डीसीए) बाट उडेको व्यावसायिक विमान र मरीन वन बीच आवश्यक दूरी कायम हुन नसकेको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले एएफपीसँग कुरा गर्दै मरीन वन संसारकै उत्कृष्ट पाइलटहरूले उडाउने गरेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्प कुनै पनि बेला जोखिममा नपर्नुभएको बताउनुभयो।
अमेरिकी नागरिक उड्डयन नियामक संस्था एफएएले पनि हवाई यातायात नियन्त्रणकर्ताले घटनाका क्रममा व्यावसायिक विमानका पाइलट र मरीन वन का पाइलट दुवैसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।
एफएएले जारी गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पको सुरक्षामा कुनै खतरा नआएको उल्लेख गर्दै घटनाको विस्तृत समीक्षा भइरहेको र अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक सुधारात्मक कदम चालिने जनाएको छ।
द वाल स्ट्रिट जर्नलका अनुसार यस्ता परिस्थितिमा उडान सुरक्षाका लागि दुई विमानबीच कम्तीमा १.५ माइल तेर्सो दूरी र ५०० फिट ठाडो दूरी कायम गर्नुपर्ने सुरक्षा मापदण्ड रहेको छ।
उक्त पत्रिकाले स्थानीय समयअनुसार दिउँसो करिब २ः३० बजे घटनाको समयमा अमेरिकन एयरलाइन्सको सहायक कम्पनी इन्भोय एयर द्वारा सञ्चालित एम्ब्रेयर ई–१७० विमान वासिङ्टन नेसनल विमानस्थलबाट उडेको जनाएको छ।
त्यसै समयमा मरीन वन राष्ट्रपति ट्रम्पलाई एन्ड्र्युज एयर फोर्स बेस पुर्याउँदै थियो, जहाँबाट उहाँ क्यालिफोर्नियाको भ्रमणका लागि राष्ट्रपतिीय विमानमा सवार हुनुभएको थियो।
घटनाबारे प्रतिक्रिया मागिए पनि अमेरिकन एयरलाइन्स र मरीन वन सञ्चालन गर्ने अमेरिकी मरीन कोर्प्सले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
सन् २०२५ को जनवरीमा वासिङ्टन नेसनल विमानस्थल नजिकै अवतरणको तयारीमा रहेको यात्रुवाहक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकोप्टर एकआपसमा ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो। त्यसयता एफएएले उक्त विमानस्थल वरपरको हवाई सुरक्षासम्बन्धी मापदण्ड थप कडा बनाएको छ। (एएफपी)




प्रतिक्रिया राख्नुहोस्