जन सरोकार

एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सिआइबीले थाल्यो अनुसन्धान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिक रुपमा अनुसन्धान थालेको छ ।

आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा अनुसन्धान थालेको हो ।

आरोपी १७ जनालाई पनि आइतबारै सिआइबीको हिरासतमा सारिएको थियो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले एसपी थापालाई अनुसन्धान तोकेर आवश्यक प्रक्रियाअघि बढाएको जानकारी दिनुभयो ।

“अब थापा नेतृत्वको टोलीले मिसिलहरु अध्ययन गर्र्ने, उच्च अदालतमा पुगेको मुद्दाको जिल्ला अदालतबाट म्याद मिलान गर्ने तथा थप अनुसन्धानको काम थालेको छ”, प्रवक्ता कडायतले भन्नुभयो ।

यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिनुभएको थियो । उहाँको निर्देशन लगत्तै आवश्यक प्रक्रिया पुर्‍याएर विभागले थप अनुसन्धानको जिम्मा सिआइबीलाई हस्तान्तरण गरेको हो ।

उक्त प्रकरणमा अब सिआइबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्ने जनाइएको छ ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।

अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई हाजीरी जवानीमा छाडिए पनि १७ जना हिरासतमा छन् ।

दोषीमाथि कारबाही र घाइतेको उपचार गर्ने प्रतिबद्धता

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नाका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले घटनाको गम्भीर अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज गृह मन्त्रालयमा तामाङ घेदुङ र मगर सङ्घका अध्यक्षसहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिबद्धता जनाउनुभएको हो ।

विवादस्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न उजुरी दिए पनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ सङ्घीय समिति र नेपाल मगर सङ्घ केन्द्रीय समितिको ब्यानरमा काठमाडौँ प्रहरी परिसर टेकु अगाडि धर्ना दिइएको थियो ।

सोही धर्नाका क्रममा झडप हुँदा केही घाइते भएका थिए । सोही दिन पक्राउ परेका अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौँको आदेशले रिहा हुनुभएको थियो ।

गृहमन्त्री श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा अधिवक्ता पाण्डेमाथि कारबाही, धर्ना र हिरासतमा राखिएका व्यक्तिलाई यातना दिने र दिन आदेश गर्ने प्रहरी अधिकारी तथा संलग्नमाथि कारबाही तथा पीडितलाई उचित क्षतिपूर्ति एवं उपचारको माग गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.