विश्व समाचार

थाई विपक्षी दलको प्रतिबन्धबाट संयुक्त राष्ट्रसङ्घ चिन्तित

संयुक्त राष्ट्रसङ्घले बिहीबार थाइल्यान्डको प्रमुख विपक्षी दल मुभ फरवार्ड पार्टी (एमएफपी) को विघटन ‘गहिरो चिन्ताजनक’ भएको र यसले मौलिक स्वतन्त्रतालाई गम्भीररूपमा असर पुर्याएको बताएको छ ।

थाई विपक्षी दल

थाइल्यान्डको संवैधानिक अदालतले मुलुकको युवा लोकतन्त्र समर्थक आन्दोलनको अग्रणी एमएफपीलाई भङ्ग गर्न र यसका कार्यकारी बोर्डका सदस्यहरूलाई १० वर्षका लागि राजनीतिबाट प्रतिबन्ध लगाउन बुधबार सर्वसम्मतिले मतदान गरेको थियो ।

“यो निर्णयले अभिव्यक्ति तथा सङ्घको मौलिक स्वतन्त्रता र थाइल्यान्डमा सार्वजनिक मामिला तथा राजनीतिक जीवनमा भाग लिने जनताको अधिकारलाई गम्भीररूपमा असर गर्दछ”, राष्ट्रसङ्घीय मानवाधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्तिमा भन्नुभयो, “कुनै पनि दल वा राजनीतिज्ञले कानूनी सुधारको वकालत गरेकामा विशेषगरी मानवाधिकारको समर्थनमा कहिले पनि यस्तो सजाय भोग्नु हुँदैन ।”

थाइल्यान्डको कडा शाही मानहानि कानूनमा सुधार गर्ने वाचा गरेपछि एमएफपीले गत वर्षको आम निर्वाचनमा पहिलो स्थान हासिल गरेको थियो ।

अदालतको कदमलाई ‘गहिरो चिन्ताजनक’ भन्दै टर्कले राष्ट्रसङ्घीय मानवाधिकार संयन्त्रहरूले लामो समयदेखि थाइल्यान्डको लेज–मेजेस्टे कानूनका बारेमा चिन्ता व्यक्त गरेको र ती कानून नागरिक र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धसँग असङ्गत रहेको बताएको उल्लेख गर्नुभयो ।

“म सरकारलाई जीवन्त, बलियो र समावेशी लोकतन्त्र सुनिश्चित गर्ने मार्ग खोज्न आह्वान गर्दछु जसले अभिव्यक्ति र सङ्घको स्वतन्त्रताका अधिकारहरूलाई प्रवर्द्धन र सम्मान गर्दछ तथा आलोचनात्मक आवाजहरूलाई दबाउन लेज–मेजेस्टे कानूनहरूको प्रयोग बन्द गर्दछ”, टर्कले भन्नुभयो, “मानवाधिकारको सम्मान र संरक्षण सुनिश्चित गर्न तथा शान्तिपूर्ण सामाजिक र आर्थिक विकास प्राप्त गर्न आवाज र विचारहरूको विविधता आधारभूत हो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.