चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना संक्रमण, पर्सा र बारामा थपिए ४७ जना

आइतबार विहान चितवन, पर्सा र बारा तथा कास्की र तनहुँमा गरी थप ८० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । समाचार अनुसार चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरु छन् । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पाइएको छ । क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले होम क्वारेन्टाइनमा बस्न मिल्नेलाई घरमा र नमिल्नेलाई अस्पतालमै बनाइएको आइसोलेसनमा राखिने जानकारी दिनुभयो ।
त्यस्तै संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।
यस्तै, चितवनको रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षकी हुन् ।
त्यसैगरी, चितवनकै खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरू दुवै जना क्वारेन्टिनमा छन् । भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसै गरी पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० जना महिला छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जका २० जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले जनाएको छ ।
त्यस्तै आइतबार विहान कास्कीमा पाँचजना र तनहुँमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया राख्नुहोस्