बिचार

ध्वनि प्रदूषणको असर : हृदयरोग, मानसिक तनावदेखि जन्मदोषसम्म

प्रदूषणको कुरा गर्दा हावापानीलाई बढी जोड दिने गरिएको छ र प्रदूषण भनेको सडकको धुलो, धुँवा वा पानीमा हुन फोहर आदिलाई लिइन्छ । तर, विश्वमाा आजभोलि हरेक क्षेत्र प्रदूषित बनिरहेको छ र यसले मानव स्वास्थ्यलाई मात्र होइन, आर्थिक, सामाजिक जीवनमै असर गरिरहेको छ ।

मानिसको मानसिकता समेत प्रदूषित हुँदै गएको अहिलेको अवस्थामा यसको कारक तत्वहरु भने हावा, पानी, ध्वनि, दृश्य लगायतका प्रदूषणलाई मानिन्छ ।

हावापानी प्रदूषित भएकोमा हामी धेरैको उच्च चासो छ, तर योभन्दा डरलाग्दो समस्या ध्वनि प्रदूषणका बारेमा धेरैको ध्यान त्यति पुग्न सकेको छैन । संसारमा एउटा गम्भीर समस्याको रुपमा रहेको छ ध्वनि प्रदूषण ।

यसमा सवारी साधनको इञ्जिनको आवाज र हर्न सबभन्दा डरलाग्दो हुन्छ । यसैलाई लिएर पूर्व अमेरिकी जनरल सर्जन डा. विलियम एच. स्वीवर्टले भनेका छन् कि “ठूलो आवाज एउटा यस्तो असर हो जसले हरेक ठाउँका मानिसको स्वास्थ्यलाई जोखिममा पारिरहेको छ ।”

त्यसै भएर गाडी निर्माताहरुले निश्चित मापदण्डमा आवाज र हर्न मिलाएका हुन्छन् । तर समस्या के हो भने गाडी प्रयोगकर्ताले त्यसमा प्रेसर हर्नराख्ने, आवाज ठूलो आउने बनाउने गर्दछन् ।

यस्ता आवाज भएका गाडीहरु मानिसको छेउबाट गुज्रदा कतिपयको सातो नै जान्छ । धेरैले यो कुरा महसुस गरेकै छन् र यस्ता समस्या दैनिक भोगिरहेका छन् ।

त्यस्तो आवाजमा गाडी चलाउनेहरुलाई केही समय आनन्द त देला, तर त्यसले अरुलाई कत्तिको असर गरिरहेको छ भन्ने बुझ्नै चाहँदैनन् ।

सवारी साधनको उच्च आवाजले मानिसमा रक्तचाप बढाउनेदखि लिएर तनाव र माइग्रेन टाउको दुखाई मात्र हैन प्रजनन क्षमतामा र गर्भको शिशुमा समेत असर पुर्याउने वैज्ञानिक पुष्टि भैसकेको छ ।

मानिसका श्रावण क्षमता सामान्यतः ० देखि २५ डेसिबल (डीबी)को बीचमा हुन्छ । गाडीको हर्नको कुरा गर्दा ६५ डेसिवलसम्मको आवाज आउने हर्नहरू मानव स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।

औसतमा सडकमा आउने आवाज ८५ डीबी हुन्छ, जो निकै खतरनाक मानिएको छ । यो चरम ध्वनि प्रदूषण हो र यसले गर्दा समाजमा कैयौं स्वास्थ्य समस्या र प्रभाव परिरहेको छ ।

आवाज (स्वर, ध्वनि) कुनै कर्णप्रिय लाग्दछन् भने कुनै कर्णकटु । कर्णप्रिय आवाजका रुपमा गीत संगीतलाई लिइन्छ, तर त्यो पनि चाहिने र मानिसको श्रवण गर्ने क्षमताभन्दा बढी आवाजको भयो भने त्यो कर्णकटु हुन्छ । यस्तैमा पर्दछ मोबाइल फोनको प्रयोग ।

हामी धेरैले स्मार्ट फोन बोक्ने गछौं, त्यसमा हेडसेट लगाएर गीत सुन्छौं । आवाजको मात्रा बढाउन खोज्दा मोबाइलले नै “योभन्दा ठूलो आवाजमा सुनेमा स्वास्थ्यमा असर गर्छ” भन्ने सन्देश पनि देखेकै छौं । यसको अर्थ के हो भने जुनसुकै आवाज त्यो निश्चित डीबीभन्दा बढी भयो भने स्वास्थ्यका लागि हानिकारक हुन्छ । चाहे गीत होस् वा गाडीको हर्न ।

वायु प्रदूषणले आँखा, स्वासप्रश्वासको रोग बढाइरहेको छ । जल प्रदूषणले त तत्काल ज्यान लिनेसम्मका घटनाहरु बढाइरहेका छन् भने ध्वनि प्रदूषणले मानिसको हृदय र मस्तिष्कमा प्रत्यक्ष असर पुर्याइरहेको छ । अनुसन्धानकर्ताहरुले सवारी साधनले उत्पन्न गर्ने ध्वनि प्रदूषण नै तनावको प्रमुख कारण हो । यसमा पनि ‘हर्न’ सबभन्दा खतरनाक मानिएको छ ।

चर्को आवाजले मानिसमा उत्पन्न गर्ने तनावका कारण हृदयको गतिमा परिवर्तन, उच्च रक्तचाप, रक्त कोलेस्ट्रोलको वृद्धि, पाचन शक्तिमा ह्रास हुन सक्छ । अर्कातिर निरन्तर चर्को आवाजमा बस्नेहरुमा उच्च रक्तचापका साथै आक्रामक मनस्थितिमा समेत पुर्याइदिन सक्छ ।त्यसैले ध्वनि प्रदूषणलाई हृदयरोगको कारण पनि मानिएको छ ।

अर्को महत्वपूर्ण कुरा, ध्वनि प्रदूषणका कारण प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । वर्षौको अनुसन्धानपछि के पत्ता लागेको छ भने– “जव सवारी साधनको आवाज धेरै लामो समयसम्म आइरहन्छ तव शरीरमा एक प्रकारको हार्मोन उत्पन्न हुन्छ जसको सम्बन्ध तनाव र प्रतिरक्षा प्रणालीबीच रहेको छ । यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर पारिरहेको छ ।”

युटेक्ट विश्वविद्यालय नेदरल्याण्ड्समा गरिएको एक अध्ययनका अनुसार “ध्वनि प्रद्रषणबाट उत्पन्न अनियन्त्रित तनावले व्यापक रुपमा ‘कोर्टिसोल’ उत्पादन गर्दछ, जो प्रतिरक्षा प्रणालीमा दवाव सिर्जना गरी लामो समयसम्म हानिकारक प्रभाव पार्नसक्छ । ध्वनि प्रदूषण एड्स तथा क्यान्सर जस्ता रोगका बिरामीहरुका लागि यो अरु बढी खतरनाक हुन्छ भने जन्मदोष अर्को खतरा हो । ध्वनि प्रदूषणको असर नवजात शिशुमा अरु बढी पर्नसक्छ ।”

सन् १९७० मा अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले गरेको एक अध्ययन अनुसार “गर्भावस्थामा अत्यधिक आवाजको सम्पर्कमा रहँदा नवजात शिशुमा उच्च आवृत्ति (फ्रिक्वेन्सी) सुन्ने क्षमतामा कमी हुनसक्छ । यसको कारणमा गर्भावस्थामा उच्च आवाज वा अचानकको आवाज रहेको पाइएको छ– जसले हृदयको गति बढाउँछ ।

यसले शिशुको विकास सम्बन्ध समस्या पनि उत्पन्न गर्नसक्छ, जो अपरिवर्तनीय हुन्छ, जुन गर्भधारणको पहिलो १४ देखि ६० दिनभित्र हुन्छ । यो त्यतिबेला हुन्छ जतिबेला गर्भावस्थामा शिशुको इन्द्रिय र अन्य अंगहरुको विकास भैरहेको हुन्छ । यो समयमा जन्मदोष तथा जन्मभार पनि उत्पन्न हुनसक्छ ।”

अर्को तथ्य के पनि पत्ता लागेको छ भने “ध्वनि प्रदूषणका कारण गर्भमा रहेका शिशुको पोषकतत्व र अक्सिजन पुर्याउने गर्भाशयका रक्तनलीहरुलाई साँघुरो बनाउन सक्छ । यी कुराहरुबाट वञ्चित शिशुको जन्म जटिल बन्न सक्दछ ।”

ध्वनि प्रदूषण भनेको चाहिनेभन्दा बढी मात्राको आवाज हो । यसमा सवारी साधनकै मात्र चर्चा किन बढी भन्ने उत्सुकता हुनु स्वाभाविक हो । संगीतको चर्को आवाज किन प्रदूषण मानिंदैन भन्न नसकिने हैन, तर संगीतको चर्को आवाजबाट उत्पन्न हुने असर अस्थायी हुन्छ ।

अनुसन्धाताले पत्ता लगाए अनुसार ‘रक कन्सर्ट’, बन्दुकको आवाज, ठूलो आवाजको बिस्फोटलाई पनि प्रदूषण मन्न त सकिन्छ तर यसको असर अस्थायी हुन्छ । तर, यसो भन्दैमा लामो समयसम्म यसैको निकट रहनु भने हानिकारक नै हुन्छ ।

यसको हानी अर्कै प्रकारको हुन्छ । लामो समयसम्म यस्ता आवाजको नजिक रहनेहरुको कानको भित्री कोशिकाहरु कि बढ्ने कि नष्ट हुनसक्छ । एकपटक यी कोशिकाहरु नष्ट हुने वा बढ्ने भयो भने यो पुनः सही रुपमा आउँदैन । जसले गर्दा हाम्रो सुन्ने क्षमता कहिल्यै फर्कदैन ।”

यति गम्भीर समस्याको कारक बनेको ध्वनि प्रदूषण नियन्त्रणका लागि हर्न निषेध, गाडीको आवाज र प्रदूषण जाँच तथा निश्चित मापदण्ड तय गरिएको छ । यी नियमहरु विश्वका ठूला शहरहरुमा लागू भएको छ र कडाईका साथ पालना पनि गरिएको छ । यति गर्दा पनि ती शहरहरुको ध्वनि प्रदूषणको मात्र मानिसको श्रवण क्षमताभन्दा कता हो कता बढी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.