एन आर एन न्युज

एनआरएनए दक्षिण कोरियाको श्रमिक विद्यार्थी हेल्प डेस्क सुरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले राजधानी सियोलमा श्रमिक विद्यार्थीहरूका लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।

आइतबार भौतिक र भर्चुअल रूपमा भएको कार्यक्रममा नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले भर्चुअलरुपमा उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा मन्त्री भण्डारीले एनआरएनएसँग मिलेर काम गर्न सदैव तयार रहेको बताउँदै एनआरएनए दक्षिण कोरियाले सरकारले गर्नुपर्ने काम गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।

उहाँले विदेशमा बसेका नेपालीसँग नेपाल सरकार सदैव आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको उल्लेख गर्दै यस्ता रचनात्मक र सृजनात्मक काममा सहयोग र सहकार्य हुने पनि प्रष्ट पार्नुभयो ।

त्यस क्रममा मन्त्री भण्डारीले सरकारले विदेशमा रहेका श्रमिकलाई सूचना प्रणालीमा एकरूपता र सहज बनाउनका लागि ‘श्रम संसार एप’ बनाएको र त्यसमा एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठसहितको टिमसँग सहकार्य गरेर खाडी मुलुकमा एआईमार्फत समस्या समाधाजानकारी दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथिका रुपमा गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएले गर्नुपर्ने वास्तविक काम दक्षिण कोरियाले सुरुवात गरेको बताउँदै एनआरएनए आइसिसीको तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग रहने स्पष्ट पार्नुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हामीले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेर वान डोर सिस्टमबाट मन्त्रालयले तयार गरेको श्रम संसार पोर्टल लाई प्रयोग गरेर यसलाई विशेष र फराकिलो ढङ्गले काम गर्न लागि रहेका छौँ । यसको परिणाम अबको केही दिनमै तपाईँहरूले देखिहाल्नुहुने छ ।’

फरक प्रसङ्गमा अध्यक्ष श्रेष्ठले एनआरएनएभित्रको विभाजन, अन्यौलता र केही कानुनी कुराहरू अब सम्मानित सर्वोच्च अदालतले चाडै टुङ्गाउने आशा पनि व्यक्त गर्नुभयो ।

एनसीसी दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षता भएको कार्यक्रममा एनआरएनए एकता उच्चस्तरीय समितिका पूर्व सदस्य विनोद कुवर, कोरियास्थित विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधि, राजनैतिक दल, पत्रकार, विद्यार्थी, श्रमिक लगायत कोरियामा रहेका नेपाली समुदायको उपस्थिति रहेको थियो ।

दक्षिण कोरियामा पछिल्लो समय नेपाली श्रमिक र विद्यार्थीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा छ, र उनीहरूले भोग्नु परेका समस्या पनि विकराल रूप लिन थालेको सन्दर्भमा, उक्त समस्याहरू केही हदसम्म समाधान र न्यूनीकरण गर्न यो हेल्प डेस्कको सुरुवात गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

हेल्प डेस्कमार्फत श्रमिक तथा विद्यार्थीहरूले भोगेका भाषागत समस्या, कानुनी जटिलता, स्वास्थ्यसम्बन्धी विषयहरू, कम्पनीभित्रको विभेद, कम्पनी दुर्घटना, भिसा, अध्ययन र करियरसम्बन्धी परामर्शहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । साथै, अन्य कानुनी प्रक्रिया र आवाज उठाउनुपर्ने विषयहरूमा पनि डेस्कले आवश्यक सहायता प्रदान गर्नेछ ।

अनौपचारिक रूपमा सुरुवात भएको केही दिन अगाडिबाट नै हेल्प डेस्कमा दुई दर्जन भन्दा बढी श्रमिक विद्यार्थीका विभिन्न समस्या आएको र त्यसको सुनुवाइ र समाधानको लागि निरन्तर प्रयास भएको र केही समस्या समाधान भएको पनि जानकारी गराइएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष जित कुवर सञ्चालन संघका महासचिव अजय सोडारीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.