प्रदेशबागमती

परिणाममुखी काममा प्रदेश सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ

बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारले जनतालाई प्रत्यक्ष परिणाम दिने किसिमले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

शनिबार चितवन उद्योग सङ्घको ३४औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री बानियाँले सरकारद्वारा निर्धारित कार्ययोजनालाई कार्यान्वयन गर्दै प्रदेशलाई समृद्ध बनाइने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “गल्ती मानिसबाट हुन्छ, त्यसलाई सच्याउँदै अघि बढ्नुपर्छ । सत्य स्थापनाका लागि तथ्यमा आधारित योजना मात्र अघि सारिनेछ ।”

प्रदेश सरकारले ल्याउने नयाँ योजनामा उद्योगी तथा श्रमिकलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाँले उद्योगी तथा व्यवसायीलाई गरी खाने अवसर सिर्जना गरी उहाँहरूको योगदानलाई महत्त्वका साथ कदर गरिने उल्लेख गर्नुभयो ।

बागमती प्रदेशको समग्र विकास गर्दै उद्योग क्षेत्रको प्रवर्द्धनका लागि ठोरीनाका सञ्चालनमा ल्याउनु, शक्तिखोर औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्नु अपरिहार्य रहेको मुख्यमन्त्री बानियाँले उल्लेख गर्नुभयो । यसलाई सरकारको कार्ययोजनामा प्रमुख विषयका रूपमा अघि सारिएको उहाँको भनाइ छ ।

सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले महिला उद्योगीलाई व्यवसायमा संलग्न हुन आग्रह गर्दै कृषि र उद्योगलाई सरकारी योजनामा जोड्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य जगन्नाथ थपलिया, उत्तम जोशीलगायत जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.