जन सरोकार

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्न व्यस्त हुुनुहुन्छ । नगेनसहित चार जना मुनाका युवाको समूह रातो च्याउ सङ्कलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामानसहित जङ्गलमै गोठ बनाएर बसेका छन् ।

“तीन जनाले च्याउ खोज्नुहुुन्छ, मैले जङ्गलबाट डोकोमा बोकेर गाउँमा ल्याउने गरेको छु,” उहाँले भन्नुभयो, “करिब दैनिक ५० किलोग्राम च्याउ सङ्कलन र बिक्री भइरहेको छ ।”

नगेनले शुक्रबार करिब रु ४० हजारको रातोच्याउ बिक्री गरेको बताउनुभयो । लेकाली क्षेत्रका बासिन्दा च्याउ पलाउने याम सुरु भएपछि जङ्गल पसेका छन् । प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको सोत बनेको छ । च्याउको सुरक्षाका लागि पलाउने ठुुटाको नजिकै बसेर ओगट्ने चलन छ ।

मध्यजेठदेखि मध्यअसारसम्म र मध्यभदौदेखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो । समुन्द्रि सतहदेखि तीन हजारदेखि चार हजार मिटर उचाइका जङ्गलमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा प्राकृतिक रूपमा बर्खायाममा उम्रने रातोच्याउ तरकारीको रूपमा उपभोग हुन्छ ।

पोषिलो, अर्गानिक र औषधिय गुण पाइने तथा स्वादिलो हुने भएकाले रातो च्याउको माग उच्च हुुने गरेको धवलागिरी गाउँपालिका–३ मुनाका मनबहादुुर पुुनले बताउनुभयो । “मासुको विकल्पमा पनि रातो च्याउको उपभोग हुने गर्छ,” उहाँले भन्नुभयो “रातो च्याउ पोषिलो र तागतिलो तरकारीको रूपमा परिचित छ ।”

ताजाका साथै प्रशोधन र सुुकाएर पनि रातो च्याउ उपभोग गर्न सकिन्छ । बजारमा बस्ने र विदेशमा पुुगेकाले रातो च्याउको चाहना गर्ने गरेका मुनाका ब्यवसायी रुपा शेरपुुञ्जाले बताउनुभयो । गाउँबाट सहर र विदेशमा कोशेलीको रूपमा रातो च्याउ पठाउने चलन रहेको छ ।

सडक यातायातको सुविधासँगै लेकाली क्षेत्रका बासिन्दाले जङ्गलमा रातो च्याउ टिपेर एकै दिनमा बेनी र पोखराका बजारमा पु¥याउन थालेका धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

“रातो च्याउ बेरोजगारको लागि रोजगारी र आम्दानीको स्रोत बनेको छ,” उहाँले भन्नुभयो “स्थानीयले संकलन गर्ने च्याउलाई बजारीकरणका लागि ब्यापारिसँग समन्वय गरेका छौँ ।” सडक यातायातको सुविधा नहुँदा सुुकुटी बनाएर रातो च्याउ बेच्ने गरेका थिए ।

ताजा रातोच्याउ प्रतिकेजी रु एक हजारका दरले किनबेच भइरहेको छ । सुकुटी बनाएको प्रतिकेजी रु चार हजारदेखि पाँच हजारसम्म पर्छ । रातो च्याउमा प्रोटिन र विभिन्न मिनरल्स तत्व पाइने नेपाल कृषि अनुसन्धान परिषद्को रातो च्याउ खेती प्रविधि पुस्तिकामा उल्लेख छ ।

रातो च्याउ टिप्न जोखिम र दुःख पनि छ । वस्तिदेखि टाढाको जङ्गलमा वन्यजन्तुको आक्रमण हुने जोखिम हुन, सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्नु सजिलो छैन्। रातो च्याउ सजिलै चिन्न सकिने भएकाले विषालु च्याउको जोखिम भने नहुने बताइन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.