विश्व समाचार

माइनस ४० डिग्री चिसो छिचोल्दै चीनको उत्तरी सीमामा पुग्यो उच्चगति रेल

चीनको सबैभन्दा उत्तरी उच्चगति रेलमार्ग हार्बिन–यिछुन उच्चगति रेलमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

चीनको उच्च अक्षांशमा निर्माण भएको यो रेलमार्गले हाइलोङजियाङ प्रान्तको वनसहर यिछुनलाई राष्ट्रिय उच्चगति रेल सञ्जालमा जोड्दै उत्तरपूर्वी चीनको यातायात पूर्वाधारमा नयाँ अध्याय थपेको छ ।

३१८ किलोमिटर लामो उक्त रेलमार्गको डिजाइन गति प्रतिघण्टा २५० किलोमिटर रहेको छ । रेलमार्गमा नौवटा स्टेशन छन्, जसमध्ये यिछुन पश्चिम (यिछुन सी) स्टेशन चीनमा हालसम्म निर्माण भएका उच्चगति रेल स्टेशनमध्ये सबैभन्दा उच्च अक्षांशमा रहेको स्टेशन हो । पहिलो यात्रुवाहक रेल सोमबार बिहान यिछुन पश्चिम स्टेशनबाट हार्बिनतर्फ प्रस्थान गरेको थियो ।

हार्बिन–यिछुन यात्रा अब सबैभन्दा छिटो एक घण्टा ४६ मिनेटमा पूरा हुनेछ । यसअघि रेलमार्फत करिब सात घण्टा लाग्ने यात्रा उच्चगति रेल सञ्चालनसँगै करिब दुई घण्टामा सीमित भएको छ ।

नयाँ रेलमार्गले हार्बिनसँग यिछुन मात्र होइन, सुइहुआ, छिङआन र तिलीगायतका क्षेत्रलाई पनि तीव्र रेल सञ्जालमा जोडेको छ । हार्बिनबाट सुइहुआ दक्षिणसम्मको यात्रा सबैभन्दा छिटो ४२ मिनेट र तिली स्टेशनसम्म एक घण्टा १४ मिनेटमा पूरा हुनेछ ।

प्रारम्भिक सञ्चालन चरणमा दैनिक अधिकतम ३८ वटा रेल सञ्चालन गर्ने योजना रहेको चिनियाँ रेल अधिकारीहरूले जनाएका छन् ।

यस रेलमार्गको विशेषता यसको भौगोलिक अवस्थिति पनि हो । यो चीनको अत्यन्त चिसो उच्च अक्षांश क्षेत्रमा निर्माण भएको हो, जहाँ जाडोमा तापक्रम माइनस ४० डिग्री सेल्सियसभन्दा तलसम्म पुग्न सक्छ ।

रेलमार्गले उच्च चिसो तथा ‘पर्माफ्रस्ट’ अर्थात् लामो समयसम्म जमेको माटो भएको क्षेत्र पार गर्छ । जमिन जम्ने र पग्लिने प्रक्रियाले रेलको संरचनामा असर पार्न सक्ने भएकाले निर्माणमा विशेष प्रविधि र सुरक्षा मापदण्ड अपनाइएको छ ।

रेलमार्गको ठूलो हिस्सा पुल तथा उन्नत संरचनामार्फत निर्माण गरिएको छ, जसले जमिनको तापीय परिवर्तनबाट हुने जोखिम कम गर्न सहयोग पुर्‍याउने उद्देश्य राखेको छ ।

परियोजना निर्माणका क्रममा हिमाली तथा वन क्षेत्रको वातावरण संरक्षणलाई पनि प्राथमिकता दिइएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

रेलमार्ग सियाओसिङआन पर्वत क्षेत्र हुँदै जाने र मूल वन क्षेत्र तथा जलस्रोत संरक्षण क्षेत्रसमेत पार गर्ने भएकाले निर्माणमा वातावरणीय प्रभाव न्यून गर्ने प्रविधि अपनाइएको थियो ।

कठिन भौगोलिक अवस्था, छोटो निर्माण मौसम र अत्यधिक चिसोबीच सन् २०२२ देखि निर्माण अघि बढाइएको परियोजना निर्धारित समयमै सञ्चालनमा ल्याइएको हो ।

हार्बिन–यिछुन उच्चगति रेलमार्ग चीनको ‘आठ ठाडा–आठ तेर्सा’ उच्चगति रेल सञ्जालअन्तर्गतको बेइजिङ–हार्बिनदेखि बेइजिङ–हङकङ–मकाउ मार्गको महत्वपूर्ण विस्तारका रूपमा रहेको छ ।

यसले हाइलोङजियाङको उत्तरी भागमा रहेको उच्चगति रेल यातायातको खालीपन पूर्ति गर्नुका साथै हार्बिन केन्द्रित क्षेत्रीय आर्थिक गतिविधिलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।

विशेष गरी यिछुनको वन, पर्यावरण, हिमाली तथा पर्यटन क्षेत्रलाई तीव्र रेलमार्फत जोडिएपछि वन पर्यटन, स्वास्थ्य पर्यटन, अध्ययन–अनुसन्धान तथा हिउँ पर्यटनको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

चीनले पछिल्ला वर्षमा उच्चगति रेल सञ्जाललाई तीव्र गतिमा विस्तार गर्दै आएको छ । सन् २०२५ को अन्त्यसम्म चीनमा सञ्चालनमा रहेको उच्चगति रेलमार्गको लम्बाइ ५० हजार ४०० किलोमिटर पुगेको थियो, जुन विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल हो ।

सोही वर्ष चिनियाँ रेल सेवाले करिब ४ अर्ब ५९ करोड यात्रु यात्रा गराएको थियो । चीनले सन् २०३० सम्म आफ्नो कुल रेलमार्ग लम्बाइ करिब १ लाख ८० हजार किलोमिटर र उच्चगति रेलमार्ग करिब ६० हजार किलोमिटर पुर्‍याउने लक्ष्यसमेत राखेको छ ।

नयाँ रेलमार्ग सञ्चालनसँगै उत्तरपूर्वी चीनका सहरहरूबीच आवागमन सहज हुनुका साथै क्षेत्रीय अर्थतन्त्र, पर्यटन र रोजगारीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

विशेष गरी अत्यधिक चिसो, पर्माफ्रस्ट र कठिन भूगोलमा उच्चगति रेल सञ्चालनको अनुभवले चीनको उच्चगति रेल प्रविधिको विस्तारलाई थप बल दिने देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.