प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभवलाई मुलुकको विकास तथा नीति निर्माणमा अधिकतम उपयोग गर्न आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै उहाँले राजनीतिक विषयमा मात्र केन्द्रित नभई दीर्घकालीन नीति, नयाँ सोच र विकासका योजनामा ध्यान दिन आग्रह गर्नुभएको हो।
प्रधानमन्त्री शाहले सांसदहरू आफैँ प्राविधिक विषयमा जानकार र नीति निर्माण गर्ने तहमा रहेकाले आफ्नो दक्षतालाई देश निर्माणमा प्रयोग गर्नुपर्ने बताउनुभयो।
“तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,” उहाँले भन्नुभयो।
प्रधानमन्त्रीले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकतामा राख्न सुझाव दिनुभयो।
निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकाससँग सम्बन्धित प्राविधिक तथा नीतिगत विषयमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।
बुधबारको छलफलमा पनि प्रधानमन्त्री शाहले सांसदहरू परिवर्तनका संवाहक भएकाले उनीहरूले निरन्तर नयाँ उपाय खोज्ने र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो।
नयाँ सोच र प्राविधिक दक्षतालाई नीति निर्माणसँग जोडेर काम गर्न सके पाँच वर्षमै मुलुकको विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने उहाँको धारणा थियो।
प्रधानमन्त्रीले सांसदहरूलाई राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर मुलुकको दीर्घकालीन विकासका लागि आवश्यक नीति, प्रविधि, पूर्वाधार र आर्थिक सुधारका विषयमा योगदान गर्न आग्रह गर्नुभएको छ।
प्राविधिक तथा व्यावसायिक पृष्ठभूमिका जनप्रतिनिधिको विज्ञतालाई राज्य सञ्चालनमा प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले छलफल गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री शाहले जेनजी पुस्ताका सांसदहरूसँग भएको छलफलमा परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले काम गर्दै नयाँ सोच, नीति र कार्यशैलीमार्फत परिणाम देखाउन निर्देशन दिनुभएको थियो ।

उहाँले जेनजी सांसदहरूशाहले युवाको ऊर्जा र नयाँ पुस्ताको सोचलाई मुलुकको विकास तथा नीति निर्माणमा प्रयोग गर्न आग्रह गर्नुभएको थियो।
प्रधानमन्त्रीले सांसदहरूलाई जनताका अपेक्षा र तत्कालका समस्यालाई प्राथमिकतामा राखेर काम गर्न तथा आफ्नो भूमिकालाई पार्टीको निर्णय समर्थन गर्नेमा मात्र सीमित नराख्न सुझाव दिनुभएको थियो।
संसद्मा तथ्य, अध्ययन र आफ्नो विज्ञताका आधारमा प्रस्तुत हुन तथा भावनात्मक नाराभन्दा परिणाममुखी काममा केन्द्रित हुन उहाँले आग्रह गर्नुभएको थियो।
उहाँले जेनजी सांसदहरूलाई निर्वाचन क्षेत्रको मात्र नभई समग्र मुलुकको हितलाई केन्द्रमा राखेर काम गर्नसमेत निर्देशन दिनुभएको थियो।
युवाको प्रतिनिधित्व गर्ने भएकाले भ्रष्टाचार, अनियमितता र पुराना बेथितिविरुद्ध स्पष्ट भूमिका निर्वाह गर्दै राज्य सञ्चालनमा पारदर्शिता र जवाफदेहिता कायम गर्न योगदान गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।




प्रतिक्रिया राख्नुहोस्