अमेरिकी सेना फिर्तापछि इराकमा ‘सम्प्रभुता दिवस’, दुई दशक लामो सैन्य उपस्थितिको अन्त्य
बगदाद । इराकले आफ्नो भूमिबाट अमेरिकी नेतृत्वको गठबन्धन सेनाको अन्तिम टोलीसमेत फिर्ता भएपछि ‘सम्प्रभुता दिवस’ मनाएको छ । ३० सेप्टेम्बरमा अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएपछि इराकले चार दिनसम्म राष्ट्रिय उत्सव मनाउने घोषणा गरेको छ ।
बगदाद र नजफलगायतका शहरमा सुरक्षा बलले सैन्य परेड आयोजना गर्दै विदेशी सैन्य उपस्थितिको अन्त्यलाई राष्ट्रिय सार्वभौमिकताको महत्वपूर्ण चरणका रूपमा प्रस्तुत गरेका छन् ।
अमेरिकी सेनाको अन्तिम टोली उत्तरी इराकको अर्धस्वायत्त कुर्द क्षेत्रस्थित एर्बिलबाट फिर्ता भएको हो । यससँगै सन् २०१४ देखि इस्लामिक स्टेटविरुद्ध सञ्चालन हुँदै आएको अमेरिकी नेतृत्वको ‘अपरेसन इन्हेरेन्ट रिजोल्भ’ औपचारिक रूपमा समाप्त भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
अमेरिकी सेनाले इराकमा आफ्नो सैन्य अभियान समाप्त भए पनि आतंकवादविरुद्धको सहयोग र द्विपक्षीय सुरक्षा सहकार्य भने जारी रहने बताएको छ ।
‘नयाँ युगको सुरुवात’
इराकी प्रधानमन्त्री अली अल–जैदीले अमेरिकी नेतृत्वको गठबन्धनको सैन्य अभियान अन्त्यलाई इराकको सार्वभौमिकता बलियो भएको संकेतका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँले अबको चरण राष्ट्रिय संस्थाको मजबुती, आफ्नै सुरक्षा संयन्त्रको क्षमता र स्वतन्त्र निर्णयमा आधारित हुने बताउनुभएको छ ।
इराक सरकारले सेप्टेम्बर ३० लाई ‘सम्प्रभुता दिवस’ घोषणा गर्दै अक्टोबर १ बाट विदेशी सैन्य उपस्थितिविहीन नयाँ चरण सुरु हुने बताएको थियो । जर्मन सञ्चारमाध्यम डीडब्लूका अनुसार सरकारले यो अवसरलाई ‘स्वतन्त्रता दिवस’का रूपमा समेत चार दिनसम्म सार्वजनिक बिदासहित मनाउने निर्णय गरेको थियो ।
अलजजिराका अनुसार अमेरिकी सेनाको फिर्ती इराकमा दुई दशकभन्दा बढी समयको विदेशी सैन्य उपस्थितिपछि आएको महत्वपूर्ण परिवर्तन हो ।
सन् २००३ मा तत्कालीन राष्ट्रपति सद्दाम हुसेनको शासन ढाल्न अमेरिकी सेना इराक प्रवेश गरेको थियो । सन् २०११ मा अमेरिकी सेना फिर्ता भए पनि इस्लामिक स्टेटको उदयपछि सन् २०१४ मा अमेरिकी नेतृत्वको गठबन्धन पुनः इराक फर्किएको थियो ।
इस्लामिक स्टेटविरुद्धको युद्धपछि पूर्ण जिम्मेवारी
सन् २०१४ मा इस्लामिक स्टेटले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि अमेरिकी नेतृत्वमा अन्तर्राष्ट्रिय गठबन्धन गठन भएको थियो । त्यसले इराकी सुरक्षा बललाई तालिम, हवाई सहयोग, गुप्तचर तथा सैन्य सहयोग उपलब्ध गराएको थियो ।
अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता सियन पार्नेलले गठबन्धन सेनाको एर्बिलबाट भएको व्यवस्थित फिर्तीले इराकमा इस्लामिक स्टेटलाई संगठित सैन्य शक्तिका रूपमा पराजित गर्ने १२ वर्षे अभियान सफल भएको दाबी गर्नुभएको छ । अब इराकका बाँकी सुरक्षा चुनौतीको प्रमुख जिम्मेवारी इराकी सरकारकै हुने उहाँले बताउनुभएको छ ।
द जापान टाइम्सले रोयटर्सको विवरण उद्धृत गर्दै अमेरिकी सेना फिर्ता भएपछि इराकी नागरिकमा खुसीसँगै सुरक्षा चिन्ता पनि देखिएको जनाएको छ ।
अमेरिकी सेनाको प्रस्थानले विदेशी सैन्य हस्तक्षेपको अन्त्य गरेकोमा धेरैले राहत महसुस गरे पनि इरानसमर्थित सशस्त्र समूह बलियो बन्न सक्ने र इस्लामिक स्टेटका भूमिगत समूह पुनः सक्रिय हुन सक्ने जोखिमबारे चिन्ता व्यक्त गरिएको छ ।
सुरक्षा चुनौती भने कायमै
अमेरिकी सेना फिर्ता भए पनि इराकको सुरक्षा चुनौती समाप्त भएको छैन । विशेष गरी कुर्द क्षेत्रमा अमेरिकी हवाई सुरक्षा प्रणाली हटाइएपछि बाह्य आक्रमणको जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
एबीसी न्युज अस्ट्रेलियाका अनुसार पछिल्लो समय कुर्द क्षेत्रमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमणको संख्या ठूलो रहेको र अमेरिकी हवाई प्रतिरक्षा प्रणाली हटेपछि क्षेत्रीय सुरक्षा जोखिम बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
त्यसैगरी, इरानसमर्थित सशस्त्र समूहको प्रभाव नियन्त्रण गर्नु इराकी सरकारका लागि अर्को चुनौतीका रूपमा देखिएको छ । अमेरिकी सेना फिर्ता हुनुलाई इरान र उसका समर्थक समूहहरूले आफ्नो रणनीतिक विजयका रूपमा व्याख्या गरेका छन् । केही समूहले इराकको भूमिबाट विदेशी सेना हट्नु पूर्ण सार्वभौमिकतातर्फको कदम भएको बताएका छन् ।

अलजजिराले सुरक्षा विज्ञहरूलाई उद्धृत गर्दै इराकले आफ्नै हवाई क्षेत्रको पूर्ण सुरक्षा गर्न अझै चुनौती सामना गर्नुपर्ने जनाएको छ । यद्यपि इराकी सुरक्षा बलले अमेरिकी गठबन्धनको प्रत्यक्ष सहयोगबिना नै गुप्तचर, हवाई गस्ती र सैन्य कारबाही सञ्चालन गर्न सक्ने क्षमता विकास गरेको दाबी गरेको छ ।
अमेरिकी उपस्थिति अन्त्य, सम्बन्ध भने होइन
अमेरिकी सेना फिर्ता हुनु अमेरिका र इराकबीचको सम्बन्ध पूर्ण रूपमा समाप्त हुनु भने होइन । सन् २०२४ को अमेरिका–इराक सम्झौताअनुसार सैन्य गठबन्धनको अभियान समाप्त गरेर द्विपक्षीय सुरक्षा सम्बन्धतर्फ जाने प्रक्रिया अघि बढाइएको थियो ।
अब तालिम, गुप्तचर आदानप्रदान, सैन्य उपकरण तथा सुरक्षा क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा अमेरिका र इराकबीच सहकार्य जारी रहनेछ । द नेसनलले पनि अमेरिकी नेतृत्वको गठबन्धनको अभियान समाप्त भए पनि इराक र पूर्वगठबन्धन सदस्य मुलुकबीच सुरक्षा सहकार्य नयाँ स्वरूपमा जारी रहने जनाएको छ ।
यसरी हेर्दा इराकले मनाएको ‘सम्प्रभुता दिवस’ केवल अमेरिकी सेना फिर्ताको उत्सव मात्र होइन, सन् २००३ को अमेरिकी आक्रमणदेखि सुरु भएको लामो सैन्य उपस्थितिपछि आफ्नै सुरक्षा र राजनीतिक निर्णयमा पूर्ण जिम्मेवारी लिने घोषणा पनि हो ।
तर विदेशी सेना हटेपछि उत्पन्न हुन सक्ने सुरक्षा रिक्तता, इरानसमर्थित मिलिसियाको प्रभाव र इस्लामिक स्टेटको सम्भावित पुनरुत्थान नियन्त्रण गर्न सक्नु नै इराकको वास्तविक परीक्षा बन्ने देखिन्छ ।
रोयटर्सले पनि अमेरिकी सेना फिर्तापछि इराकमा उत्सव र सुरक्षाको सम्भावित रिक्तताप्रतिको डर एकैसाथ देखिएको उल्लेख गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्