क्रिकेटखेल

क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

भुटानको राष्ट्रिय क्रिकेट टोली बिहीबार पोखरामा भएको टी-२० पुरुष क्रिकेटको अभ्यास खेलमा नेपाल क्रिकेट सङ्घ (क्यान)-११ सँग पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा भुटानी टोलीलाई क्यान-११ ले १३ रनले पराजित गरेको हो ।

आइसीसी पुरुष टी-२० विश्वकप एसिया सब-रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि नेपाल भ्रमणमा भुटानी टोलीले पोखरामा यसअघि दुई वटा अभ्यास खेल खेलिसकेको छ ।

घरेलु टोली गण्डकीसँगका दुवै खेलमा भुटानी टोली पराजित भएको छ । क्यान-११ ले दिएको १२४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभर पूरै खेल्दै नौ विकेट गुमाउँदै ११० रन मात्र बनाउन सक्यो ।

भुटानका लागि नाम्गे थिन्लेले सर्वाधिक २९ रन बनाए । उनले ४४ बलमा पाँच चौका प्रहार गरे । सोनाम चोपेलले १७ बलमा दुई चौका र एक छक्कासहित १९ रन बनाए । थिन्ले जाम्त्सोले १४ बलमा दुई छक्काको मद्दतमा १९ रन जोडे । क्यान-११ का बलरमध्ये विपीन शर्माले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिए । विपीन खत्रीले चार ओभरमा २० रन दिएर दुई तथा युवराज खत्रीले दुई र दयानन्द मण्डलले एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको क्यान-११ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । क्यान-११ का कप्तान विपिन खत्रीले ३६ बलमा पाँच चौका र चार छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेलेका थिए । उनी खेलको म्यान अफ दी म्याचसमेत घोषित भए ।

ओपनर अर्जुन कुमालले २१ बलमा दुई चौका र एक छक्का सहित २५ रन बनाए । गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार भुटानी टोलीले अभ्यास खेलअन्तर्गत शुक्रबार अन्तिम खेलमा क्यान-११ सँग खेल्नेछ ।

यही अक्टोबर ३ तारिखदेखि मलेसियामा आइसीसी ‘मेन्स टी-२०’ विश्वकप एसिया सब-रिजनल क्वालिफायर ‘ए’ प्रतियोगिता सुरु हुँदैछ । सोही प्रतियोगितामा सहभागी भुटानले अभ्यास र तयारीका लागि पोखराको मैदानलाई रोजेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.