नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स
नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी सेवाका लागि भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याएको छ ।
कम्पनीले बिहीबारदेखि एन्ड्रोइड टेलिभिजनमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो । यससँगै स्मार्ट टेलिभिजन प्रयोगकर्ताले छुट्टै भौतिक सेट–टप बक्सबिना एनटिटिभी सेवा प्रयोग गर्न सक्नेछन् ।
टेलिकमद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार ग्राहकले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टेलिभिजनमा गुगलप्ले स्टोरमार्फत ‘स्मार्ट एनटिटिभी’ खोजी गरी सेवा प्रयोग गर्न सक्नेछन् । कम्पनीले आगामी दिनमा अन्य स्मार्ट टेलिभिजनमा पनि प्रयोग गर्न मिल्ने गरी सेवा विस्तार गर्ने जनाएको छ ।
नयाँ सेवाग्राहीले भर्चुअल सेट–टप बक्ससहितको योजना लिएमा रु एक हजार छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले भर्चुअल सेट–टप बक्ससहित विभिन्न टेलिभिजन प्याकेज पनि उपलब्ध गराएको जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्