बिचार

कांग्रेस महाधिवेशनको खेला- धमाका हुन नि सक्छ !

कति कतिले याद गर्नु भाछ कुन्नि, मैले चाहिँ ट्रकमा “इलाका तेरा, धमाका मेरा” भनेर लेख्ने गर्या ट्रक सायरी खुब याद गर्ने गर्याछु। किनभने यस्ता ट्रक, बस, मिनिबस, जिपमा लेख्ने गर्या सायरीले कैले काईँ बेस्सरी मन छुने गर्या हुन्छन्।

ऐले यो देशाँ चल्या कांग्रेसको महाधिवेशन हेर्दा र मान्छ्या कुरा सुन्दा अनि चुनावी गतिविधि हेर्दा “इलाका तेरा, धमाका मेरा” भन्ने सायरी कांग्रेसको महाधिवेशनाँ ठ्याक्कै लागू होला जस्तो छ रे !

हुन पनि त्यत्रो दुःख गरेर विशेष अधिवेशन बोलाएर, युवा जोस्याएर, सनाखत गराएर, चुनाव गराएर सभापति शेरबहादुरलाई पार्टी सभापतियाट मुन्ट्याएर, जेन्जीहरूले पार्या लछारपछार सामाजिक सञ्जालाँ अघाउन्जेल हेरेर, अदालत र निर्वाचन आयोगाट समेत पार्टी सभापति भन्या गगन थापै हो।

अबको टिम भन्या कांग्रेसको ऐलेको जेन्जी टिम नै हो भनेर देश–विदेशाँ समेत फैलाएर, कांग्रेसको पूर्ण सभापतिका रूपमा कार्यकर्ताबीच विश्वास बनाएर, पार्टीका आधिकारिक भन्या कि मै हुँ कि विश्वप्रकाश हो भनेर मंसिराँ गर्ने भन्या चुनाव असोजमै गरेर, तम्तयार भएर बस्या बेलाँ गाउँगाउँमा भाको चुनावाँ त देउबाका कार्यकर्ताको पो हालिमुहाली भो भन्छन् त ! कुरो के हो ?

यदि साँच्चिकै चुनाव गराउने गगन अनि चुनाव जित्ने देउबा भए भने त “इलाका तेरा, धमाका मेरा” भाकै हो भन्ने मान्ने त होला हैन र ?

हुन पनि बिचरा देउबा कुनै दिन पार्टीको चुनाव भएछ भने कस्सा साथिभाइहरूका अगाडि फेरि सभापति किन नहुँला भनेर विदेशाँ समेत हण्टर खाएर त्यतिका दिन विताएर आएका बिचरा देउबा, यदि साँच्चिकै कार्यकर्ता उनका पछि रैछन् भने पार्टीयाँ धमाका नि हुन सक्छ।

चुनावाँ देउबाकै चेलाचपेटाको जित भो र चुनावपछि देउबालाई नै सभापति बनाउने अड्डी कसे भने कसको के लाग्छ र ? जनता न हुन्, जे पनि गरिदिन सक्छन् के !

त्यसो त देउबाले पार्टीमा आर्जुलाई मनपरी खाईखेल्न नदिने हो र खुरुखुरु पार्टी र देश बनाउनेतिर सोच्ने हो भने देशैभरमा सबभन्दा राम्रो नेता त देउबा नै हुन्। तर के गर्नु, उनका आशेपासे किचेन क्याबिनेट भन्याजस्ता प्रकाशशरणदेखि दीपक खड्का, विमलेन्द्र निधि, कान्छाराम, विजय गच्छदार र किस्न सिलोैटा जस्तालाई अघि–पछि नलाएर, जनताले छिछि–दुरदुर नगर्ने मान्छेलाई लिएर हिँडे त पार्टी सभापति नदेनि त्यै बराबरको सम्मान दिएर राख्थे भन्नेहरूको भिड पनि त कम छैन नि।

तर, के गर्नु ! कस्को उक्साहटाँ लाग्या छन् कुन्नि, ती माथिका भदौरेहरूसित लागेर कैलेको चुनदेवी र कैलेको सुनदेवी गर्दै हिँड्छन्। अनि आफ्ना कार्यकर्ता जतिले पार्टीयाँ चुनाव जितेर गएनि पैले त जिब्रो मात्रै लरबराउँथे, ऐले त मान्छ्यै लरबराउने भए भनेर खिस्सी गर्न थाले भने पार्टीयाँ काँट धमाका होला !

त्यसैले यो सोच्दै नसोच्या कुरा हुने यो मुलुकाँ देउबाले धमाका नगर्लान् भन्ने पनि त छैन त। बिचरा सरकारको रेडकर्नर नोटिसबाट बैतरणीपार भएर आका देउबाको राजनीतिक जिन्दगी यत्तिकै रैछ भने त अबका गोेडा सातेक दिन अर्थात् आउँदो घटस्थापनासम्म रिटायर भएर चुनदेवीबाट नि कुम्ला–कुटिरा भिरेर हिँड्लान्।

हैन ! साँच्चिकै दाउ लाग्यारैछन् भने त फेरि सुदिन फर्किन नि त सक्छन् है। त्यसैले राजनीति हो राजनीति, याँ जे पनि हुन सक्छ भन्छन् नि मान्छेले। के था, त्यो यसपटक प्रमाणित हुन नि त सक्छ।

त्यसैले गोेडा पाँचेक दिन अझै धैर्य गरम् है, धमाका हुन नि सक्छ।

“बिरसिक्का”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.