राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले राज्यको गोप्य सूचना दुरुपयोग गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइने बताउनुभएको छ। उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यका संवेदनशील सूचना दुरुपयोग गर्नेप्रति कडा चेतावनी दिनुभएको हो।
राज्यका गोप्य तथा संवेदनशील सूचना बाहिर ल्याएको र पदीय आचरणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) निलम्बनमा परेका बेला गृहमन्त्री गुरुङले सो चेतावनी दिनुभएको हो।
गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताउनुभएको हो।
“राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन।”
गृहमन्त्री गुरुङले राज्यका निकायमा जिम्मेवारीमा रहेका व्यक्तिले प्राप्त गर्ने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने बताउनुभएको छ।
उहाँले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभएको छ।
“राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,” उहाँले भन्नुभएको छ।




प्रतिक्रिया राख्नुहोस्