नेपालीहरूको महान् पर्व बडादशैंको घटस्थापनाकै दिन गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलाबाट बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुल तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएपछि दशैंका बेला आवागमन प्रभावित भएको छ।
बाढीले गोरखा र धादिङ जोड्ने पुलको एक भाग बगाउनुका साथै आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित पुल पूर्ण रूपमा बगाएको छ।
सडक विभागको प्रारम्भिक विवरणअनुसार गोरखा र धादिङ जोड्ने आरुघाट पुलको २२ मिटर आरसीसी संरचना बाढीले बगाएको छ। पुलमा रहेको ६० मिटर ट्रस र २५ मिटर आरसीसी संरचनामध्ये ट्रस भाग बाँकी रहेको छ।
बाँकी ट्रसमा बेलीब्रिज राखेर आवागमन सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको विभागले जनाएको छ। पुलको अवस्थाबारे विस्तृत प्राविधिक मूल्याङ्कन भइरहेको छ।
बाढीका कारण गोरखा र धादिङबीचको सडक सम्पर्कमा अवरोध पुगेको छ। पुलमा भएको क्षतिले दशैंका बेला यात्रा गर्ने यात्रु तथा स्थानीय बासिन्दालाई थप समस्या पर्ने देखिएको छ।
जलविद्युत् आयोजनाका १५ संरचना बगे
बाढीले गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्रालिमा ठूलो भौतिक क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आयोजनाका नौवटा ब्लक र छवटा सार्वजनिक भवन बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
स्थानीयबाट बाढी आउन लागेको सूचना पाएपछि आयोजनामा कार्यरत १८ जना कर्मचारी सुरक्षित उच्च स्थानमा पुगेका थिए। उनीहरूले भागेर ज्यान जोगाएको प्राधिकरणले जनाएको छ।
३६ जनाको उद्धार, खोज तथा उद्धार जारी
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन्। नेपाली सेनाका अनुसार आइतबार दिउँसो १२ बजेसम्म चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित टोलीले ३६ जनाको उद्धार गरेको छ।
उद्धार गरिएकामध्ये जगत् क्षेत्रबाट छ जना, न्याक्फेदीबाट नौ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित नौ जना तथा पायुबाट १२ जना रहेका छन्। प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
बाढीले घर, पुल, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा पुर्याएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। नदीको बहावमा फेरबदल हुन सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्