रोहित पौडेलको शतकीय पारीमा आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले क्यानडा सामू जितको लागि २ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।
नेपालको लागि रोहित पौडेलले १२७ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै १०१ रनको शताकीता पारी खेले भने गुल्शन झाले ३४ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४८ रन बनाए । त्यस्तै बसिर अहमदले ३० रन जोड्दा अर्जुन कुमालले २३ रन बनाए ।
क्यानडाका लागि अखिल कुमारले चार विकेट लिए भने सुख्जिन्दर सिंहले तीन विकेट लिँदा जहिर शिर्जादको भागमा दुई विकेट रह्यो । लिग २ को अन्तिम शृङ्खला खेलिरहेका दुवै टोलीका लागि यो खेल ओडीआई स्टाटस बचाउनेतर्फ हुनेछ।
दुवै टोलीको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ । लिग २ को अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंकसहित सातौं स्थानमा छ भने ३३ खेलमा २५ अंक जोडेको क्यानडा छैटौं स्थानमा रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्