जन सरोकार

चितवनका कैदीबन्दीलाई दशैंको उत्साह छैन

विगतका वर्षमा दशैं उत्सवका रूपमा मनाउँदै आएका चितवनको भरतपुर कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन । गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण देश शोकमा रहेकाले पनि कारागार कैदीहरूमा उत्साह छैन ।

चितवन कारागार

विगत १५ वर्षदेखि कारागारमा कैद जीवन बिताउँदै आउनुभएका पदमबहादुर थारू (नाम थर परिवर्तित) अघिल्ला वर्षहरूको जस्तो उत्साह दशैंमा नभएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अघिल्ला वर्षहरूमा दशैंमा जस्तो रमाइलो गर्ने सोचमा हामी छैनौँ ।” यो वर्ष शुद्ध शाकाहारी तरिकाले दशैं मनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

अघिल्ला वर्षहरूमा विभिन्न किसिमका खेलकुद, सांस्कृतिक कार्याक्रम तथा सामूहिक भोज जस्ता कार्यक्रमहरू हुने गरेको भए पनि यस वर्ष त्यस्तो नहुने अर्का कैदी कृतन शर्मा (नाम थर परिवर्तित) बताउनुहुन्छ । अघिल्ला वर्षहरूमा सामूहिक भोजका लागि राँगा, कुखुरा, बोका, खसीलगायत पशु चौपाया ल्याएर काट्ने गरिएको भए पनि यस वर्ष त्यस्तो नगरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कसैले व्यक्तिगत रूपमा खान्छ भने खाउन तर सामूहिक रूपमा हुने काम हुँदैन यो वर्ष ।” टीकाको तीन दिन घरपरिवारसँग बसेर टीका लगाउनेबाहेक अन्य कार्यक्रमहरू नगर्ने उहाँले जानकारी दिनुभयोे ।

कारागारभित्र आएपछि सबै साथीहरू आफ्नै परिवार जस्तो लाग्ने भन्दै उहाँले बाहिर हुँदाभन्दा यहाँ भित्र फरक किसिमको रमाइलो पाएको बताउनुभयो ।

अघिल्ला वर्षहरूमा यहाँ बसेर दशैं मनाउँदा पनि त्यस्तो खासै घरको याद नआएको उहाँको भनाइ छ । अहिले पहिलेको जस्तो नगर्ने मनस्थितिमा कारागारको आन्तरिक प्रशासन पुगेको छ ।

अघिल्ला वर्षहरूमा दशैंको बेलामा नाचगान गर्ने गरिएकामा कारागारका दिदीबहिनीहरू यस वर्ष नाचगान गर्ने सोचमा छैनन् । उनीहरू आन्तरिक रूपमा कुनै कार्यक्रम गर्ने पक्षमा नभए पनि टीकाको दिन परिवारसँग टीका थाप्ने योजनामा रहेका छन् ।

विगत १० वर्षदेखि कैद जीवन बिताउँदै आउनुभएकी उर्मिला सुब्बा (नाम थर परिवर्तित) अहिलेको दशैं बाढीपहिरोले लगेको बताउनुहुन्छ । देश नै शोकमा रहेको समयमा उत्साहसहित दशैं मनाउने सोच आफूहरूमा नरहेको उहाँले बताउनुभयो ।

अहिले कारागार कार्यालयमा ७३९ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ४६ महिला र ६९३ पुरुष रहेका छन् । कारागार कार्यालय चितवनका सूचना अधिकारी चेतनाथ ढुङ्गाना अहिले कारागार प्रशासन र आन्तरिक प्रशासनले दशैंलाई उत्साहका साथ नमनाउने योजना बनाएको बताउनुभयो ।

आम नेपालीलाई उमङ्ग नभएको समयमा यहाँ रहेका कैदीबन्दीहरूलाई पनि नरमाइलो लागेको उहाँले बताउनुभयो । अहिले सबैले सामान्य तरिकाले मनाउने योजना बनाएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.