कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ।
सोमपालले बलिङमा चार विकेट लिनुका साथै ब्याटिङमा अविजित ६२ रन बनाएपछि कर्णालीले विराटनगरले दिएको १८७ रनको लक्ष्य एक बल बाँकी छँदा सात विकेट गुमाएर पूरा गर्यो।
कर्णालीको जितका नायक बनेका सोमपालले ३२ बलमा चार चौका र तीन छक्कासहित अविजित ६२ रन बनाए। म्यान अफ द म्याच घोषित उनले दबाबपूर्ण अवस्थामा आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए।
सातौँ विकेटका लागि सोमपाल र गुल्शन झाले ६४ रनको अविजित साझेदारी गरे। गुल्शनले २१ बलमा २८ रन बनाएर उनलाई साथ दिए।
अन्तिम ओभरमा कर्णालीलाई जितका लागि आठ रन आवश्यक थियो। पहिलो बलमा सोमपालले एक रन लिए भने दोस्रो बलमा गुल्शनले दुई र तेस्रो बलमा एक रन जोडे।
चौथो र पाँचौँ बलमा दुई–दुई रन लिएपछि कर्णालीले अन्तिम बलअघि नै लक्ष्य पूरा गर्यो। यस क्रममा विराटनगरका लोकेश बमले गुल्शनको क्याच छाडेका थिए।
यसअघि कर्णालीले सुरुआतमै लगातार विकेट गुमाएर दबाबमा परेको थियो। मार्क वाट एक, दीपक डुम्रे २०, अकबर अली एक, अरिफुल इस्लाम ३२ र हुसेन तलत शून्य रनमा आउट भएपछि टोलीको अवस्था कठिन बनेको थियो।
त्यसपछि सोमपाल र पवन सर्राफले छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गर्दै कर्णालीको इनिङ्स सम्हाले। पवनले २८ बलमा ३६ रन बनाए। पवन आउट भएपछि पनि सोमपालले धैर्य र आक्रामकताको संयोजन गर्दै गुल्शनसँग मिलेर टोलीलाई जित दिलाए।
विराटनगरका बलरमध्ये एन्जेलो म्याथ्युजले तीन विकेट लिए। चरिथ असलंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट लिए।
बलिङमा पनि सोमपालकै दबदबा
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो। विराटनगरका ओपनर लोकेश बमले आक्रामक ब्याटिङ गर्दै ५२ बलमा ८७ रन बनाए। उनले तीन चौका र नौ छक्का प्रहार गरे।
लोकेश १६औँ ओभरको पाँचौँ बलमा सोमपालको बलमा आउट भएपछि उनी शतकबाट १३ रनले चुके। लोकेशले चौथो विकेटका लागि एन्जेलो म्याथ्युजसँग ६७ रनको साझेदारी गरेका थिए।
एन्जेलोले २२ बलमा ३१ रन बनाए। आन्द्रे रसेलले १५ बलमा २७ रन जोडे भने बसिर अहमदले १३ रन बनाए। विराटनगरका ओपनर इम्रान शेख पाँच, चरिथ असलंका तीन र शेहान जयसूर्या ११ रनमा आउट भए। सुजन थपलिया अविजित रहे।
कर्णालीका कप्तान सोमपालले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए। उनले लोकेश, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकालाई आउट गराए।
मार्क वाट र नन्दन यादवले एक–एक विकेट लिए। मार्कले इम्रानलाई आउट गरे भने नन्दनले अन्तिम बलमा बसिर अहमदलाई बोल्ड गरे।
यसरी बलिङमा विराटनगरको रन गति नियन्त्रण गर्न महत्त्वपूर्ण योगदान दिएका सोमपालले ब्याटिङमा पनि कठिन परिस्थितिमा टोलीलाई जित दिलाउँदै आफ्नो कप्तानी र अलराउन्ड क्षमताको उत्कृष्ट प्रदर्शन गरे।




प्रतिक्रिया राख्नुहोस्