जन सरोकार

दोधारा-चाँदनीमा लिफ्ट सिँचाइबाट दुई सय हेक्टरमा सिँचाइ सुविधा

कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-७ स्थित कञ्जभोजमा लिफ्ट सिँचाइबाट दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि यहाँका किसान हर्षित भएका छन् ।

जोगबुढा नदीको पानी सौर्य लिफ्ट सिँचाइ मार्फत किसानको खेतमा पुगेपछि खेती गर्न सहज भएको स्थानीय देवीसरा सुनारले बताउनुभयो । “यहाँ सिँचाइको आवश्यकता थियो, यसले यहाँका किसानलाई धेरै लाभ हुन्छ”, उहाँले भन्नुभयो, “अब तरकारी खेती गर्न पनि सहज हुन्छ ।”

विगतमा यहाँका किसानले सिँचाइ समस्या झेल्दै आएको उहाँले बताउनुभयो । महाकाली नदीबाट सिँचाइ सुविधा पुर्याउन सम्भव नभएपछि महाकाली सिँचाइ तेस्रो चरण आयोजनाले यहाँ सौर्य लिफ्ट सिँचाइ मार्फत खेतमा पानी उपलब्ध गराएको हो ।

“यहाँ किसानको सङ्ख्या धेरै छ, सिँचाइ सुविधाले हामीलाई खेतीपाती गर्न सहज भएको छ”, स्थानीय ललितसिंह ठकुरीले भन्नुभयो ।

महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयले रु आठ करोड ९ लाखको लागतमा दोधारा-चाँदनीमा लिफ्ट सिँचाइ योजना निमार्ण गरेको हो । उक्त लिफ्ट सिँचाइबाट दोधारा-चाँदनीको दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख गणेश मरासिनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने गरी सौर्य लिफ्ट सिँचाइका लागि २०७९ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

छपन्न दशमलव ८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको दोधारा–चाँदनीमा तीन हजार ६ सय हेक्टरमा खेती हुँदै आएको छ । खेतीका लागि उपयुक्त माटो रहेको यस क्षेत्रमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा पर्दै आएका छन् ।

यहाँ सिँचाइ सुविधा नहुँदा किसान पानी तान्ने मोटर प्रयोग गरेर प्रति घण्टा रु दुई सय तिरेर सिँचाइ गर्दै आएका थिए । महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले महाकाली सिँचाइ मुल नहर निमार्ण बाहेक लिफ्ट सिँचाइ र वोरिङबाट समेत किसानका लागि सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ ।

महाकाली सन्धि अनुसार भारतले नेपाललाई दोधारा-चाँदनीमा सिँचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने छ । यसका लागि भारतले शारदा नहरबाट नेपाल सीमासम्म एक हजार एक सय मिटर नहर निर्माण गर्नुपर्ने भए पनि हालसम्म भारतीय पक्षले नहर निमार्ण गर्ने टुङ्गो लागेको छैन । नेपालले दोधारा-चाँदनीमा नहर निर्माणका लागि डिपीआर तयार गरेको छ ।

दोधारा-चाँदनीमा सिँचाइ सुविधाका लागि भारतले महाकाली सन्धि अनुसार शारदा बैराज (नहर)बाट ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने छ । “दोधारा-चाँदनीमा नहर निमार्णका लागि डीपीआर बनेको छ, स्वीकृत भएको छ”, प्रमख मरासीनीले भन्नुभयो, “नहरबाट पानी उपलब्ध हुन नसकेकोे ठाउँमा लिफ्ट सिँचाइ र वोरिङबाट समेत किसानका लागि सिँचाइ उपलब्ध गराएका छौँ ।”

आर्थिक वर्ष २०६३/६४ देखी सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले २०८७ सालसम्म कैलालीको मालाखेतीसम्म मुल नहरसहित एक सय ५१ किलोमिटर नहर निमार्ण गर्ने लक्ष्य छ । यसबाट कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने बताइएको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.