राजनीति

नागरिकको मन र मत जित्नेगरी जागरण अभियान चलाउँछौँ : महामन्त्री डा सङ्ग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीले नागरिकको मन र मत जित्नेगरी जागरण अभियान चलाउने बताउनुभएको छ । पार्टीको १५औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित हुनुभएकी उहाँले बिहीबार शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै आगामी निर्वाचनमा नागरिकको मन र मत जित्नेगरी नागरिक केन्द्रित अभियानमा कांग्रेस लाग्ने बताउनुभएको हो ।

डा सङ्ग्रौलाले नेपाली कांग्रेससामु आन्तरिक तथा बाह्य रूपमा थुप्रै चुनौती रहेको भन्दै उक्त चुनौतीलाई चिर्दै पार्टीलाई आमनागरिकको आशा र भरोसाको केन्द्र बनाउने बताउनुभयो ।

विगतमा मत परिवर्तन गरेका नागरिकको मन र मत दुवै पुन कांग्रेसतर्फ फर्काउने सङ्कल्पका साथ पार्टीले विशेष निर्णय गर्ने उल्लेख गर्नुभयो ।

उहाँले पार्टीको १५औँ महाधिवेशनबाट पारित नीतिलाई जनताको माझसम्म पुर्‍याउन एकमहिने जागरण अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । अभियानले नेपाली कांग्रेसलाई बृहत् रूपमा एकताबद्ध बनाउन र जोड्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

महामन्त्री डा सङ्ग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा बाहिर रहेका सबै नेता-कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लोकतन्त्रको सुदृढीकरण र पार्टीलाई आजको अवस्थासम्म पुर्‍याउन योगदान पुर्‍याएका सहिद तथा अग्रज नेताहरूप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले उहाँहरुलाई एकताबद्ध बनाएर लैजाने निर्णय गरिसकेको महामन्त्री डा सङ्ग्रौलाको भनाइ थियो ।

उहाँले लामो समयदेखि पार्टीमा सक्रिय योगदान पुर्‍याएर पनि केन्द्रीय समितिमा पुग्न नपाएका निष्ठावान् महिला दिदीबहिनीको पहिचान गरी उनीहरूलाई मनोनयनमार्फत उल्लेख्य सङ्ख्यामा अवसर दिलाउन आफूले विशेष पहल गर्ने बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.