‘सरकारी सेवा प्रवाहमा ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटाले सरकारी सेवा प्रवाहमा देखिने ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य गरी नागरिकलाई सहज, सरल र गुनासोरहित सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार आयोजित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँग भएको छलफलमा सचिव सापकोटाले सरकारले अङ्गीकार गरेको सदाचार नीति कार्यान्वयन गर्दै सुशासन कायम गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।
सचिव सापकोटाले भन्नुभयो, “सरकारी सेवा प्रवाहमा ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । काम गर्ने पुरानो मानसिकता परिवर्तन गरी नागरिकलाई समयमै सेवा उपलब्ध गराउन सबै निकाय जिम्मेवार हुनुपर्छ ।” सरकारको गतिअनुसार कर्मचारीतन्त्रले कामको गति बढाउनुपर्ने उहाँको भनाइ थियो ।
सचिव सापकोटाले सरकारी कामकाजलाई परिणाममुखी बनाउँदै जिम्मेवारीअनुसार काम गर्न र सुशासन तथा सेवा प्रवाहमा सुधार ल्याउन कार्यालय प्रमुखहरूलाई आग्रह गर्नुभयो ।
उहाँले खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रण, लागूऔषध दुव्र्यसन न्यूनीकरण र ‘हेलो सरकार’मा प्राप्त हुने गुनासा तथा उजुरी सम्बोधन गर्न सूक्ष्म रूपमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । नागरिकका गुनासा र समस्यालाई गम्भीरतापूर्वक लिँदै समयमै समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लामा भइरहेका विकास निर्माणका काम, सार्वजनिक सेवा प्रवाह, भूमिसम्बन्धी समस्या समाधानको प्रगति तथा जिल्लाको समग्र प्रशासनिक अवस्थाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।(रासस)




प्रतिक्रिया राख्नुहोस्