विद्युतका कर्मचारी आफ्नै मन्त्री बिरुद्ध प्रचार गरेपछि
निर्वाचन आयोगले विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसाल विरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
सिंहलाई ऊर्जामन्त्रीले गरेका जलविद्युत् क्षेत्रका गलत क्रियाकलापहरू भनी १० बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको भन्ने जानकारीका आधारमा स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।
उक्त दफाको खण्ड (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनेको छ ।
उम्मेदवार रिजाललाई स्पष्टीकरण
निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको सम्बन्धमा स्पष्टीकरण सोधेको छ ।
आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाएको विषयमा रिजालले कार्कीलाई धम्की दिएको विषयमा आयोगमा लिखित उजुरी आएको थियो ।



प्रतिक्रिया राख्नुहोस्