राजनीति

प्रधानसेनापति शर्मा भारत प्रस्थान

भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभित हुने

प्रधानसेनापति प्रभुराम शर्मा भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहाँ भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा निस्कनुभएको हो ।

नेपाली सेनाको मध्य एयरबेश, गौचरमा उहाँलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गर्नुभयो । प्रधानसेनापतिको नियुक्ति भएपछिको उहाँको यो पहिलो विदेश भ्रमण हो ।

प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ ।

भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुने छ । उहाँले आजै भारतीय रक्षा सचिव अजयकुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत, भारतीय सेनाध्यक्ष जनरल नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भिआर चौधरीसँग समेत भेटघाट गर्नुहुने छ ।

प्रधानसेनापतिको भ्रमण दल श्रीमती सुनिता शर्मासहित नौ सदस्यीय रहेको छ । महारथी शर्मा यही कात्तिक २६ गते स्वदेश फर्कनु हुनेछ ।

कामु प्रधानसेनापतिको कार्यभार कार्कीलाई

प्रधानसेनापति शर्माको भारत भ्रमणको अवधिभर उहाँको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुने पनि जानकारी दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.