जन सरोकार

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संस्थानको आर्थिक अनियमितता तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गरेको हो । सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी आज सार्वजनिक गरिएको ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानका तत्कालीन महाप्रबन्धक तथा उच्च तहका कर्मचारीको संलग्नतामा गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्‍याइएको भन्ने उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको हो ।

ब्युरोको प्रारम्भिक अनुसन्धानमा संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीले पूर्वयोजनाअनुसार आपसी मिलेमतोमा विभिन्न समूह बनाई सङ्गठित सञ्जालमार्फत संस्थानलाई आर्थिक नोक्सानी पुर्‍याएको देखिएको छ ।

उक्त प्रकरणमा संस्थानलाई रु १२ करोड १३ लाख ४३ हजार ५३० बराबरको आर्थिक क्षति पुर्‍याई सोही रकम गैरकानुनी रूपमा लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिआइबीले जनाएको छ ।

शर्माविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता जबराले जानकारी दिनुभयो ।

ब्युरोका अनुसार जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर शर्मालाई पक्राउ गरिएको हो । यस प्रकरणमा अनुसन्धानका लागि प्रहरीले यसअघि आठ जनालाई पक्राउ गरिसकेको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.