सर्वोच्चका दुबै गेटमा धर्ना दिन खोज्दा बार अध्यक्ष श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने उद्देश्यसहित दुबै गेटमा धर्ना दिन बसेका कानुन व्यवसायीहरु र प्रहरीबीच घम्साघम्सी परेको छ ।

सर्वोच्चको मुख्य गेटमा वकिलहरुको धर्नापछि प्रधान न्यायाधीश जबरा अर्को गेटबाट अदालत प्रवेश गरी पेशी तोकिरहनु भएको छ । यस्तोमा आज मुख्य गेटसहित अन्य दुई वटा गेटमा गएर धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो ।
बैकल्पिक गेट अगाडी बसेर वकिलहरुले धर्ना दिन खोजिरहेका छन् । अहिले सर्वोच्च परिसरमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कानून व्यवसायीलाई रोक्न खटाइएको प्रहरी टोलीमा एसएलआर बोकेका जवानहरु छन् ।
एसएलआर बोकेका टोलीमा एसटीएफ (स्पेशल टास्क फोर्स) लेखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको सुरक्षामा पनि स्पेशल टास्क फोर्स खटिएको हुन्छ । त्यस्तै प्रहरीहरुले अश्रुग्यास प्रहार गर्ने बन्दुक र दंगा नियन्त्रणमा उपयोग गरिने अन्य उपकरण पनि बोकेका छन् ।
धर्ना हटाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानून व्यवसायीहरुले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कानुन व्यवसायीहरुले माफी माग्न आग्रह गरेका छन् ।
प्रहरीको घेरा तोड्न खोजेपछि कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो । धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा लडेका थिए । उनीहरुमाथि प्रहरीले हातपात गरेको कानून व्यवसायीहरुको भनाइ छ । एकजना डिएसपीको हातमा चोट लागेको छ ।
शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्