बिचार

भौतिक पूर्वाधारसंगै रोजगार र बजार विस्तार

विकास के हो ? कुन पक्षलाई विकास भन्ने ? यसको अनेक अर्थ हुन्छ । विकास त्यतिबेला हुन्छ र मुलुक तब विकसित हुन्छ जब जनताको सामाजिक—आर्थिक स्थायित्व हुन्छ । सुलभ शिक्षा, स्वास्थ्य सेवाको उपलब्धतासंगै आफ्नै गाउँठाउँको हरियाली वातावरणमा स्वच्छ पानी पिउँदै स्वस्थ हावा लिंदै दुई छाक आफ्नै खेतबारीमा उब्जेका अन्नपातबाट जीवन गुजार्न सकियोस् ।

अहिले यस्तो वातावरण छैन, आफ्नै खेतबारीमा अन्न उब्जाउनेहरु मरुभूमिमा पसिना चुहाइरहेका छन् । तर, उनीहरुले पठाएको रकमबाट आयातित बस्तु सेवन गरेर गाउँ छाडेर शहरमा बस्नेहरुको संख्या बढेको छ । यो विकास हो कि भविष्यको विनास ? हरेकले बुझ्नुपर्ने कुरा छ ।

विकासको आधारभूत पक्षमा भौतिकपूर्वाधार पर्दछ । यसबाट विकासको अनेक थप बाटाहरु खुल्छन् । पूर्वाधार विकाससंगै जनताको जीवनस्तर उकासिने आधार बन्नुपर्छ । त्यसका लागि उत्पादकत्व बढ्नुपर्छ, रोजगारी सिर्जना हुनुपर्छ । भौतिक पूर्वाधारको विकास र निर्माणसंगै यसको उपयोगका लागि अनेक पक्षहरुलाई एकसाथ अघि बढाउनुपर्दछ ।

अहिले वैदेशिक रोजगारीका कारण गाउँका खेतबारी स्याल लुक्ने झाँडी बनाएर शहरमा बस्नेहरुको संख्या बढेको छ । यसलाई तथ्यांकमा नेपालीको जीवनस्तर उकासिएको देखाइन्छ । जनताको जीवनस्तर वैदेशिक रोजगारीबाट भित्रिएको रकमबाट आयातित खाद्यान्न खाएर, विशाली बस्तुमा पहुँच बढाइरहने प्रवृत्ति राष्ट्रका लागि घातक हो ।

जब जनता स्वदेशमै श्रम गरेर आफ्नो आत्मनिर्भर बन्दै जान्छन् तब मात्र दीगो रुपमा जीवनस्तर सुधारिएको मानिन्छ । यसका लागि पूर्वाधारको विकास र यसलाई माध्यम बनाएर गाउँठाउँमा स्वरोजगारी सिर्जना गर्नु हो ।

विकाससंग समृद्धि र समृद्धिका लागि उत्पादन महत्वपूर्ण पक्ष हो । अनि विकास भनेको पूर्वाधार खडा भएर मात्रै हुँदैन र यसलाई मात्र विकास भएको मान्न सकिन्न । गाउँमा सडक बन्दैमा विकास र समृद्धि आउँदैन । समृद्धिका लागि उत्पादन बढ्नुपर्छ, रोजगारी सिर्जना हुनुपर्छ । गाउँमा पुगेको सडकबाट गाउँलेहरुका उत्पादनले शहरमा बजार पाउनुपर्छ । उनीहरुको आयआर्जनन बढ्नुपर्छ ।

नेपालमा पूर्वाधार क्षेत्रको विकासमा सबैको जोड रहेको छ । राजनीतिक दलहरुले तयार गरेका घोषणापत्रमा पनि यसलाई उच्च प्राथमिकता दिइएको छ । सडक, सिंचाई, विद्युतीकरण, विमानस्थल, पुल लगायतका पूर्वाधार नै मुलुकमा समृद्धि ल्याउने आधार मानिएका छन् र एकसरो हेर्दा त्यो सही हो । तर सडक बन्दैमा, पुल बन्दैमा, नहर बन्दैमा विकास हुन्छ त ? यो गम्भीर चिन्तनको विषय हो ।

सडक बन्छ, त्यो सडकबाट ग्रामीण क्षेत्रमा रोजगारी बढ्नुपर्छ, उत्पादन बढ्नुपर्छ । उनीहरुको उत्पादनले बजार पाउनुपर्छ । जब गाउँको उत्पादन शहरमा पुग्छ तब सडकबाट विकास भएको मानिन्छ । तर गाउँमा श्रम गर्ने युवा हुँदैनन् । सिंचाईका नहर बन्छन्, तर खेतबारी बाँझै हुन्छन् भने बाँझो खेतमा पानी छोडेर के फल्छ ? सिंचाईसंगै श्रमको वातावरण पनि बन्नुपर्छ । युवाहरुलाई कृषिकर्मप्रति आकर्षित गर्नुपर्छ, उनीहरुको उत्पादनले बजार पाउने ग्यारेन्टी हुनुपर्छ । यसो गर्दा मात्रै सिंचाई नहर बनाउनुको अर्थ रहन्छ ।

कुनै पनि विकास संरचनाको आधारभूत मान्यता र त्यसको बहुआयामिक प्रभाव रहन्छ । हामीले गर्ने विकास पनि त्यस्तै भए मात्र त्यसको बहुबिध लाभ आम जनताले पाउने छन् । विकासको एकसूत्रीय चुनावी रटानले मात्रै देशमा समृद्धि आउँदै आउँदैन । बनेका भौतिक पूर्वाधारहरुको संचालन तथा त्यसबाट लिनसकिने र लिनुपर्ने लाभका विषयमा सोचिएन र एकोहोरो सोच मात्र राखियो भने त्यसले लाभको साटो हानी मात्रै पु¥याउँछ ।

जहाँ जुन क्षेत्रमा जस्तो संरचना बन्छ त्यसको सूक्ष्म मूल्यांकन गरेर त्यसबाट लाभ हुने जनसमुदायका मात्रा र त्यसबाट देशले लिनसक्ने दीर्घकालीन फाइदाको हिसाब किताब गरिएन भने भौतिक पूर्वाधार निर्माण बालुवामा पानी खन्याए सरह मात्र हुनेछ । पूर्वाधार निर्माणले मात्र समग्र पक्षको स्तरोन्नति हुँदैन । यसको संचालनका लागि अपनाउनुपर्ने धेरै पक्षहरुको गम्भीर समीक्षा गरी योजनाबद्ध ढंगबाट अघि बढ्नु पर्दछ ।

एउटा सानो उदाहरणका रुपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लिन सकिन्छ । यो विमानस्थल विकासको दृष्टिकोणले अति महत्वपूर्ण छ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल जुन स्थानमा बनेको छ यो विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मथलो लुम्बिनी नजिक छ । लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । यो विमानस्थल बौद्धमार्गीहरुका लागि लुम्बिनी आउने सिधा मार्ग हो । तर बुद्ध, लुम्बिनी र विमानस्थलको एकसाथ प्रचार हुन सकेन । यदि त्यसो हुँदो हो त अहिले यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको चाप धानिनसक्नु पो हुन्थ्यो कि !?

कुनै पनि संरचनाको विकास वा निर्माणपछि यसको प्रचार प्रसार आवश्यक हुन्छ । सूचना प्रविधिको अहिलेको युगमा यो कुनै गाह्रो काम पनि होइन । तर विकासको अवधारणा र मान्यतालाई बहुआयामिक किसिमले सोच्न नसक्दा र यसलाई सोही अनुसार प्रबद्र्धनका लागि योजना नबनाउँदा अहिले समस्या आएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रचार प्रसारका लागि लुम्बिनीसंगै नजिकैको बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका पर्यटकीय क्षेत्रहरुलाई एकसाथ प्याकेजमा समाविष्ट गर्नसके यसले मुलुकको समग्र पर्यटन क्षेत्रका लागि नयाँ आधार पनि खडा गर्नेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा तत्काललाई विश्वका बौद्ध धर्मावलम्बी मुलुकहरुमा मात्र प्रचार गर्नसके यसले ठूलो अवसर सिर्जना गर्नसक्छ । निर्वाचनका क्रममा राजनीतिक दलहरुले १५ लाख, २० लाख, २५ लाख पर्यटक वार्षिक भित्र्याउने घोषणापत्र सार्वजनिक गरिरहँदा पर्यटक भित्र्याउने सबभन्दा महत्वपूर्ण मार्ग बन्ने अपार सम्भावना भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरु संचालन खर्च उठाउन नसकेर स्वदेशी विमान कम्पनीहरुलाई अनिवार्य रुपमा उडान भर्न दवाव दिनुपर्ने अवस्था छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको आर्थिक विकासको आधारका रुपमा स्थापित हुने अपार सम्भावना रहेको छ । विमानस्थलबाट जहाज उडेर संचालन खर्च धानिनु वा रोयल्टी उठाउनु मात्र विकास वा सफलता होइन । यो विमानस्थल निर्माणको सफलता त्यतिबेला हुन्छ, जब यसकै कारण सो क्षेत्रका सर्वसाधारणको आर्थिक स्तर उकासिन्छ । रोजगारी सिर्जना हुन्छ । यसका लागि पर्यटन प्रबद्र्धन नै महत्वपूर्ण पाटो रहेको छ र यसको सम्भावना अपार रहेको छ ।

बुद्ध जन्मथलो लुम्बिनीका साथै नजिकै रहेको बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकहरुका लागि महत्वपूर्ण गन्तव्य हुन् । यो विमानस्थलको प्रचार प्रसारमा यी दुई निकुञ्ज पनि समावेश गर्नसके सुनमा सुगन्ध हुनेछ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज बाघ अवलोकनका लागि महत्वपूर्ण रहेको छ ।

त्यस्तै बर्दियामा बाह्रसिंगेको बथान र हात्ती सफारी तथा पर्यापर्यटनमा रुची राख्नेहरुका लागि पनि आकर्षक थलो हो । पर्यटनका तमाम आधारहरु समेटेर विमानस्थलको प्रचार गर्नसके यसबाट हुने लाभ दीर्घकालीन हुनेछ । नजिकै अन्तर्राष्ट्रिय विमानस्थल भएपछि सडकमार्गबाट छोटै समयमा यी दुई निकुञ्ज पुग्न सकिन्छ । यहाँ पर्यटकको आगमन बढेसंगै ठूलादेखि सानासम्मका व्यवसाय फस्टाउने छन् । रोजगारी सिर्जना हुनेछ । यसले मुलुकको आर्थिक वृद्धिमा सघाउ पुग्नुका साथै जनताको जीवनस्तर उकासिनेछ ।

निकट भविष्यमै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने छ । यो विमानस्थलको पनि अवस्था त्यस्तै नहोस् भन्नका लागि अहिलेदेखि नै तयारी गर्नुपर्दछ । मुलुक संघीयतामा गैसकेपछि आआफ्नो प्रदेशमा बनेका यी अन्तर्राष्ट्रिय महत्व बोकेका विमानस्थलहरुबाट बढीभन्दा बढी उडान गराउनका लागि प्रदेश सरकारहरुले पनि आवश्यक पहल र समन्वय गर्नुपर्दछ ।

पोखरा विश्वप्रसिद्ध पर्यटकीय नगरी हो । यहाँ एकपटक पुग्ने जो कोही पटकपटक आउने गर्दछन् । पोखरा आउने पर्यटकहरुका लागि अन्तर्राष्ट्रिय विमानस्थल अझ प्रभावकारी हुनेमा विमति छैन । तर, यसको प्रचारप्रसार हुन सकेन भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकै नियतिमा नपुग्ला भन्न सकिन्न ।

यी दुई विमानस्थल केवल विमान अवतरण र उडान हुने थलो मात्र हैन कि मुलुकको आर्थिक समृद्धिका लागि मेरुदण्ड नै बन्ने हैसियत राख्छन् भन्ने सोचका साथ योजनाबद्ध रुपमा अघि बढ्न सकिएन भने यी विमानस्थलहरु नै ठूलो आर्थिक भारको केन्द्र पनि बन्न सक्छन् । यस दिशातिर सम्बन्धित सबैको ध्यान जानु आवश्यक छ ।

कुनै पनि विकास योजना सुरु गर्नुअघि यसले समग्रमा पार्ने सकारात्मक पक्षहरुको अध्ययन हुनु पर्दछ । अध्ययनपछि स्पष्ट नीति, योजना र कार्यक्रमसहित अघि बढ्नु पर्दछ । फगतः पूर्वाधार निर्माण गरेर मात्रै विकास हुन्छ भन्ने सोच्ने हो भने हाम्रा पूर्वाधारहरु कुनै दिन खण्डहर पनि बन्न बेर लाग्दैन । यस दिशातिर सबैले गम्भीर भएर सोच्न पर्दछ ।

मुलुकको दीगो आर्थिक विकासको आधार कृषि र पर्यटन नै हो । कृषिप्रधान मुलुकमा अझै पनि आधाभन्दा बढी नेपाली आश्रित छन्, भलै त्यो निर्वाहमुखी समेत हुन नसकोस् । त्यस्तै पर्यटन नेपालको आर्थिक समृद्धिको अपार सम्भावनाको क्षेत्र हो । तर, कोरोनाकाल अघि वार्षिक ७० अर्ब रुपैयाँको हाराहारीमा पर्यटनबाट आम्दानी भैरहेको रहेछ । यो सम्भावनाको एक छेउ पनि हैन । यसलाई रुपान्तरण गर्नुपर्दछ । पर्यटकको संख्या होइन गुणस्तरलाई ध्यान दिइनुपर्दछ ।

हिमालदेखि तराईसम्मको भौगोलिक विविधता, धार्मिक—सांस्कृतिक र जातीय विविधताले भरिएको मुलुक आफैंमा सिंगो संग्रहालय हो । राजधानी काठमाडौं उपत्यकादेखि सुदूरपूर्व र पश्चिमका दूरदराजका गाउँहरु समेत सम्पदाले भरिएको मुलुकले पर्यटनबाट लिनसक्ने लाभको सानो अंश पनि लिन नसकिरहेको अवस्थामा विश्वका विभिन्न मुलुकहरुले कृत्रिम संरचना बनाएर पर्यटक आकर्षित गरिरहेका छन् भने हामीलाई त प्रकृतिले नै सबै कुरा दिएको छ । यसको प्रचारप्रसार मात्रै गर्नसके नेपालीहरुले बसीबसी दूधभात खान पाउने दिन छिट्टै नै आउने छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.