बिचार

सफलतामा अभिप्रेरणा र उत्प्रेरणाको भूमिका

विश्वको जुनसुकै कुनामा रहेका मानिस हुन्, जुनसुकै, जात, धर्म र सम्प्रदायका हुन् हरेकलाई सफल हुने चाहना हुन्छ । हरेकले जीवनमा आफूले चाहेजस्तो सफलता प्राप्तिका लागि कुनै न कुनै रुपमा अरुको प्रेरणा लिइएको हुन्छ र असल परामर्शकर्ता भेटिएमा उसले थप उत्प्रेरणा जगाएर सफल हुने बाटो र दृढतालाई अरु मजबुत बनाइदिन्छ ।

हरेक मानिसमा अरु सफल भएको देखेर उसमा पनि त्यस्तै गरी सफल हुने लोभ जाग्छ । त्यो चाहना र लोभले व्यक्तिलाई सकारात्मक रुपमा प्रेरित ग¥यो भने उसले निश्चय पनि सफलता पाउँछ तर त्यसलाई इष्र्याका रुपमा लिएर आक्रोश मात्र व्यक्त गरिरह्यो भने उ झन्झन् पतनको बाटोमा लाग्दछ ।

प्रेरणा दुई किसिमको हुन्छ । एक व्यक्ति स्वयंबाट प्रेरित हुन्छ । उसका राम्रा कामहरुका बारेमा अरुले गरेको सकारात्मक टिप्पणी उसका लागि ठूलो प्रेरणा हुन्छ । अर्को केही भ्रम, केही द्विविधा र केही अलमलमा परेका बेला अरुबाट प्रेरणा अथवा अभिप्रेरित हुने अझ भनौं उत्प्रेरित हुने गर्दछन् । यसमा महत्वपूर्ण पक्ष के छ भने आफूबाटै प्रेरित भएको व्यक्ति अरुबाट प्रेरित भएको भन्दा सफल भएको पाइन्छ । जसमा आत्मविश्वास र आफूप्रति भरोसा छ र मेहेनत गर्छ ऊ सफल हुन्छ नै ।

एउटा सानो उदाहरण आफ्नो रुप, आफ्नो शारीरिक बनावट, आफूमा भएको प्रतिभा अनि आफ्नो रुचीलाई नै प्रेरणा लिएर अघि बढ्ने व्यक्ति मूलतः साहित्य, कला, संगीत लगायतका क्षेत्रमा सफल भएका छन् । अनि आफूमा प्रतिभा रहेको तर रुपरंग नमिलेको छ भने पनि आफ्नो प्रतिभाबाटै प्रेरणा लिएकाहरु अभिनय क्षेत्रमा सफल भएका छन् । यसका उदाहरण नेपाली तथा हिन्दी चलचित्र र नाट्य जगतका दिग्गज कलाकारहरुलाई लिन सकिन्छ ।

तर, कहिलेकाहीं आफू आफैंबाट प्रेरित भएर अघि बढेको व्यक्ति पनि पछि हट्न बाध्य हुन्छ । त्यस्तो अवस्थामा उसलाई उत्प्रेरणा आवश्यक हुन्छ । नेपाली समाजमा प्रेरणा र उत्प्रेरणाका अनेक गाथाहरु बुनिएका छन् । संसारलाई नै उत्प्रेरित गर्ने भागवद्गीता सबभन्दा शक्तिशाली ग्रन्थ हो । आफूले आफूलाई चिनेर युद्धमा अग्रसर भएका अर्जुन कुरुक्षेत्रबाट पलायन हुन खोजेपछि उनलाई उत्प्रेरित गर्न श्रीकृष्णले दिनुभएको उपदेश संसारकै सबभन्दा ठूलो उत्प्रेरणात्मक ग्रन्थ हो ।

वैदिक समाज, अभ्यास र संस्कारमा उत्प्रेरणालाई उच्चस्थानमा राखिएको छ र त्यस्तो उत्प्रेरणा केवल व्यक्तिको एकल हितका लागि नभएर सिंगो सृष्टि संरचनाको कल्याणका लागि स्थापित गरिएको छ । व्यक्तिको एकल हितको कुरा पूर्वीय शास्त्रले गर्दैन, समाजको अभ्यास पनि त्यस्तो थिएन । तर, आजभोलि उत्प्रेरणालाई एकल सफलताको सूत्रका रुपमा लिएर उत्प्रेररणा दिने व्यक्तिहरुले लाभ उठाइरहेका छन् ।

महाभारतमा श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ— ‘कर्मण्यवाधिकारस्ते माः फलेषुकदाचन’ ! अर्थात् कर्म गर्नू तर फलको आशा नगर्नू । मानिसले आफ्नो कर्म र कर्तव्यबाट विमुख भयो भने वा उसले आफ्नो कर्मबाट लाभ मात्रै खोज्यो भने उसलाई स्वार्थी भनिन्छ र उसको जीवन सफल भएको मानिंदैन । त्यसैले श्रीकृष्णले अर्जुनलाई युद्धमैदानबाट पलान हुन लागेपछि तिम्रो काम युद्ध गर्ने हो, त्यसको नतिजाको जिम्मा वा चिन्ता तिमीले गर्ने हैन, त्यो सब मेरो जिम्मामा छाडिदिउँ भन्दै उत्प्रेरित गर्नुभयो ।

कौरबको अत्याचारलाई ठेगान लगाउने प्रेरणा आफैंबाट प्राप्त गरेका वीर अर्जुनलाई अन्ततः कर्म गर फलको आश नगर भनेर श्रीकृष्णले उत्प्रेरित गर्नुप¥यो । यो नै मानव जीवनको सबभन्दा ठूलो प्रेरणा तथा उत्पेरणाको वाक्य हो । कुरुक्षेत्रको युद्ध केवल युधिष्ठिरलाई हस्तिनापुरको राजगद्दीमा बसाउनु मात्र थिएन, मानव समाजमा धर्मको स्थापना गर्नु पनि थियो । त्यसैले कर्म गर्नेहरुले बुझ्नुपर्छ कि आफ्नो कर्मको स्रोत के हो र त्यो कर्म केका लागि ? मानव कल्याणका लागि कि आफ्नै मात्र कल्याणका लागि ? यदि यी कुराहरु बुझेर आफूले आफैंलाई पनि चिन्ने र अरुका कुरा पनि सुनेर अघि बढ्ने व्यक्ति समग्रमा सफल मानिन्छन् र उनीहरु अरुका लागि प्रेरणाको स्रोत बन्दछन् ।

नेपाली समाजको वनावट र अभ्यास हरदम प्रेरित र उत्प्रेरित गर्ने नै थियो । एकले अर्कोलाई साथ, सहयोग र प्रेरणा दिने संस्कार हामीले पुर्खाबाट सिक्दै आएका हौं । हाम्रो घरघरका बुढाबुढीहरु प्रेरणा र उत्प्रेरणाको स्रोत हुन् । उनीहरुले दिएका उपदेश र आदर्शलाई पछ्याउनेहरुले जीवनमा कहिल्यै दुःख पाउँदैनन् । तर, आजभोलि यस्तो संस्कार हराउँदै गएको छ ।

व्यक्तिको सफलताको पछाडि आफ्नो कर्म, धर्म, अभ्यास र पारिवारिक वा वंशाणुगत संस्कार नभएर पश्चिमा विद्वानको उत्प्रेरणात्मक अभिव्यक्ति (मोटिभेशनल स्पीच) रहेको गौरवका साथ बताउने गरेका छन् । अनि उनीहरुकै सिको गरेर यहाँ पनि त्यस्ता मोटिभेशनल स्पीकरहरुको ओइरो लागेको छ । विशेष गरी पश्चिमा दर्शनबाट प्रेरित व्यक्तिहरु व्यक्तिलाई कसरी सफल हुने र सफलता भनेको के हो भन्दै पूँजीवादी दुनियाँको अभ्यासलाई लादिरहेका छन् ।

अर्कातिर पूर्वीय दर्शनमा अभ्यस्त र यसलाई अनुसरण गरिरहेकाहरुको सफलताको अर्थ विलकुल फरक छ र उनीहरु उत्प्रेरणालाई पनि पश्चिमाको शैलीमा लिंदैनन् । उनीहरु सफलता भनेको समूहिक हित र कल्याणलाई जोडेर हेर्छन् । व्यक्ति आर्थिक रुपमा सम्पन्न हुनु मात्रै सफलता मान्दैनन् ।

जब मानिसको आत्माले आफू सफल भएको ठान्छ र आफ्नो सफलताले समाज कल्याणमा केही न केही योगदान दिएको ठान्छ तव ऊ सन्तुष्ट हुनसक्छ । यसका लागि पूर्वीय दर्शन नै सबभन्दा उत्तम मार्ग हो । आजभोलि रुपैयाँ पैसा कमाउनुलाई मात्र सफलता ठान्ने भौतिकवाद र पूँजीवादमा अभ्यस्तहरु अध्यात्मवादले अंगिकार गर्ने सफलताको सूत्रलाई आत्मसात गर्न थालेका छन् । यो संख्या नेपालमा मात्र हैन विश्वभर नै बढिरहेको छ ।

पूँजीको विकास र पूँजी निर्माण मात्रै सफलता हैन । एउटा खर्बपति र एउटा सन्यासीको जीवनको सारतत्व बुझेर उनीहरुमध्ये को सुखी र खुसी भन्ने परीक्षणा गर्ने हो भने सफलता के हो भन्ने प्रष्ट हुन्छ । तसर्थ पनि सफलताका लागि प्रेरणा र उत्प्रेरणाको महत्व त हुन्छ, तर त्यसको आधार र भूमिका कस्तो रहन्छ भन्ने बुझ्न जरुरी छ ।

मानिसहरुमा आफूकेन्द्रित विचार र व्यवहारले प्राथमिकता पाइरहेको छ । व्यक्ति एकल हुँदै उसले आफ्नो वैभवलाई मात्र सफलता ठान्ने गरेको छ । पश्चिमा दर्शनका उत्प्रेरणा दिने व्यक्तिहरुले यसलाई प्राथमिकता दिइरहेका हुन्छन् । तर पूर्वीय दर्शनले यसलाई सफलता मान्दैन, समाज पतनको गोरेटोका रुपमा लिन्छ । एउटा सानो उदाहरण— आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्छ भनिन्छ । यो भनाइमा असहमत हुनुपर्ने कुनै कारण छैन । तर आर्थिक रुपमा सम्पन्न हुनुको अर्थ एक व्यक्ति आफू मात्रै सम्पन्न हुनु होइन कि परिवार नै सम्पन्न बनाउनु हो । पूर्वीय दर्शनबाट प्रेरित भएकाहरुले दिने उत्प्रेरणा सामूहिक कल्याणका लागि हुन्छ भने पश्चिमाहरुको व्यक्तिकेन्द्रित । यो भिन्नता छुट्याउन नसक्दा नेपाली समाज र परिवार खण्डित हुँदै गैरहेको छ ।

आधुनिक भनिएको यो समाज र यो समाजका अगुवादेखि युवावयका मानिसहरुलाई कस्तो कुराले उत्प्रेरित गर्ने र उनीहरुलाई कस्तो संस्कार दिने भन्ने विषय अति महत्वपूर्ण छ । हामीले गहिरिएर सोच्यौं भने हाम्रा बाबुआमा, हजुरबा हजुरआमाहरुले हरक्षण उत्प्रेरणा दिइरहेको पाउँछौं । उहाँहरुसंग रहेको जीवन भोगाईको अथाह ज्ञानले हामीलाई सही बाटोमा हिंड्न प्रेरित गरिरहेको हुन्छ । तर, समस्या हामीले ती कुराहरु नबुझेर बुढाबुढीले किचकिच गरेको भन्दै झर्कन्छौं ।

एउटी छोरीले आमाबाट प्रेरणा लिएकै हुँदैन आजकल । छोराले बाबु वा हजुबुबाबाट प्रेरणा लिएको हुँदैन । उनीहरु व्यावसायिक रुपमा चलेका उत्प्रेरणा दिने व्यक्तिलाई पैसा तिरेर भाषण सुन्छन् र व्यक्तिवादी भएर फर्कन्छन् । जस्तो— श्रीमानसंग झगडा गरेर माइत आएकी छोरीलाई आमाले घर छाड्नु हुँदैन, आफूसंगै आफ्नो श्रीमान, सासुससुराको ख्याल राखेर उनीहरुको मन जितेर बस्नुपर्छ । जब उनीहरुका मन जितिन्छ तब तिमी त्यो घरमा सर्वप्रिय हुन्छौं भन्दै दिने उत्प्रेरणाले अन्ततः छोरीको घरबार सप्रन्छ । यो पूर्वीय दर्शनको उत्प्रेरणा हो ।

तर, आजभोलि घर छाडेर आएकी छोरीलाई आमाले त्यस्ता घरमा नगए पनि हुन्छ, हामी पाल्छौं, त आफैं आत्मनिर्भर भएर बस, उनीहरुलाई देखाउनुपर्छ भन्दै छोरीको बुद्धि भ्रष्ट पारिदिन्छन् । जागीर छाडेको छोरालाई बाबुले कामको महत्व बुझाएर विस्तारै काम गर्दै जाउँ, सबै राम्रो हुन्छ भनेर सम्झाउनुको साटो तिनीहरुको भनाई खाएर जागीर गर्नु पर्दैन, खान नपुगेको छ र भन्दै छोराको कमजोरीलाई अरु कमजोर बनाउँछन् ।

पूर्वीय दर्शनका ग्रन्थहरुको पानैपिच्छे र घटनाक्रमपिच्छे प्रेरणाा र उत्प्रेरणाका सन्दर्भहरु छन् । चाणक्यबाट प्रेरणा लिने प्रयास शासनसत्तामा बसेकाहरुले किन गरेनन् । लोकतन्त्रको अभ्यास महाभारत र रामायणकालमै उत्कर्षमा थियो भने त्यसको अनुसरण किन भएन । आफूलाई भुलेर अरुको अनुसरण गर्दा यस्तो भएको हो ।

रामायणकालीन होस् वा महाभारतकालीन शासन व्यवस्था लोकसम्मतिमा आधारित थियो र ती सबै सम्पूर्ण मानव कल्याणमा निहीत थियो । आफ्नै मात्र स्वार्थपूर्तिमा लागेर जनतालाई शोषण गर्ने राजाहरुको विनाश भएको सन्दर्भ हाम्रा लागि पश्चिमा ‘वाद’भन्दा कैयौं गुणा ठूलो उत्प्रेरणाको स्रोत हो ।

व्यक्तिको एकल स्वार्थमा मात्र लाग्नेहरुको पतन भएका कथाहरु पुराणहरुमा सुनेकै छौं, धन—दौलतले उनीहरुको रक्षा गर्न नसकेको सन्दर्भहरु पनिन पढेकै छौं भने हामीले लिनुपर्ने प्रेरणा के र कस्तो विषय वा सन्दर्भमा अरुबाट उत्प्रेरित हुने भन्ने सवाल गहन छ । यसका लागि व्यक्ति स्वयंको चरित्रले पनि महत्वपूर्ण भूमिका निर्धारण गर्दछ ।

टेलिभिजनका पर्दामा उत्प्रेरणा दिनेहरुको ज्ञानको स्रोत के हो ? उनीहरुले कस्तो समाज निर्माणका लागि उत्प्रेरित गरिरहेका छन् । उनीहरुले दिने उत्प्रेरणाले व्यक्ति, परिवार र समाजलाई कति लाभ दिन्छ भन्ने सन्दर्भ पनि अति महत्वपूर्ण छ । रामायणमा एउटा सन्दर्भ छ हनुमानको, हनुमानले बालककालमै आफ्नो शक्तिको परीक्षण गर्न सूर्यलाई निल्न खोजेको र पछि आफ्नो शक्ति बिर्सने श्राप पाए ।

जब रावणले सीता हरण गरे, तब लंका जानका लागि हनुमानका शक्तिका बारेमा जाम्बवथले बताएर समुद्र पार गर्न उत्प्रेरित गरे । हनुमानको यो शक्ति सही काममा प्रयोग भयो । उनलाई दिइएको उत्प्रेरणाले रावण बध गरी शान्ति स्थापना भयो ।

प्रेरणा र क्षमताले ओतप्रोत भएको व्यक्तिलाई कतै कुनै संकेच लागेमा उसलाई सही मार्ग देखाउने सूत्र हो उत्प्रेरणा । उत्प्रेरणाले मानिसलाई सफल बनाउन मद्दत गर्छ भन्नेमा विमती राख्नुपर्ने कारण छैन, तर त्यस्तो सफलता भूगोल र माटो सुहाउँदो अनि संस्कारजन्य विकृतिहरु भित्रिने किसिमको हुनुहुँदैन भन्ने मूल पक्ष रहेको छ । यसका लागि हामीले पश्चिमा उत्प्रेरकहरुको मात्र हैन कि पूर्वीय सभ्यताका उत्प्रेरक र प्रेरक व्यक्तिहरुको सन्दर्भलाई सूक्ष्म ढंगले केलाउँदै आत्मसात गर्नसके नेपाली समाज वास्तवमै अनुसरणीय र अन्यका लागि प्रेरणादायी बन्नेछ ।

(गोरखापत्र दैनिकबाट)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.