मुलुकको अर्थतन्त्र दैनिक संकटग्रस्त बन्दै
भित्रिनेभन्दा बाहिरिने रकम डेढखर्ब ५० अर्ब बढी- सञ्चित कुल विदेशी विनिमयले ७.९ महिनाको मात्र वस्तु आयात धान्ने
मुलुकको अर्थतन्त्र दैनिक संकटग्रस्त बन्दैगएको एक अर्को तथ्यांक सार्वजनिक भएको छ । चालू आर्थिक वर्षको चार महिनामा यसअघि कहिल्यै नभएको भुक्तानी असन्तुलत भएको छ । यस अवधिमा मुलुक भित्रिने रकमभन्दा बाहिरिएको रकम एक खर्ब ५० अर्ब, ३८ करोड बढी छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था अनुसार मुलुकको भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड घाटामा गएको हो ।
देशमा भित्रिने र देशबाट बाहिरिने रकमको अन्तरलाई भुक्तानी सन्तुलनले जनाउँछ । मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम उच्च हुँदा यसले अर्थतन्त्रमै गम्भीर असर पार्दछ । गत वर्ष यसै अवधिमा मुलुकको भुक्तानी अवस्था १ खर्ब १० अर्ब बचतमा थियो ।
मुलुकको चालु खाता पनि ठूलो रकममा घाटामा पुगेको छ । चार महिनाको अवधिमा चालु खाता २ खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ । जबकि अघिल्लो वर्षको यसै अवधिमा चालु खाता १९ अर्ब १ करोडले बचतमा रहेको थियो ।
मुलुकको भुक्तानी अवस्था घाटामा जाँदा विदेशी मुद्रा सञ्चिति उच्च दरले घटेको छ । असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४ महिनामै ११ प्रतिशतले कमी आई कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोडमा खुम्चिएको छ । ४ महिनामै कुल विदेशी मुद्रा सञ्चिति ११ प्रतिशतले घटेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा कात्तिक मसान्तमा ११ खर्ब ७ अर्ब ४७ करोडमा खुम्चिएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग असार मसान्तसम्म १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा कात्तिक मसान्तसम्म १ खर्ब ३७ अर्ब ३८ करोड कायम भएको छ ।
चालु आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको कुल विदेशी विनिमय सञ्चितिले ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।
चालु आर्थिक वर्षको चार महिनामा मुलुकको बस्तु व्यापार घाटा ५ खर्ब ६८ अर्ब पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ५६.८ प्रतिशतले बढेको हो । चार महिनामा देशबाट कुल ८२ अर्ब १२ करोड रुपैयाँको बस्तु निकासी भएको छ भने विदेशबाट ६ खर्ब ५० अर्ब २९ करोडको भित्रिएको छ ।
व्यापार घाटा बढ्दै जाँदा रेमिट्यान्स भने घटेको छ । समीक्षा अवधिमा रेमिट्यान्सको आप्रवाह ७.५ प्रतिशतले कमी आएको छ । चार महिनामा कुल ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।
भुक्तानी सन्तुलन विग्रदै जानु, व्यापाघाटा तीब्रगतिमा बढ्नु र रेमिट्यान्स घट्दै जाँदा मुलुकको अर्थतन्त्र कतै भयावहतातर्फ जान लागेको त हैन भन्ने प्रश्न अर्थविदहरुले उठाइरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्