राजनीति

समयमा काम पूरा गर्नेलाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला

भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्धारित समयमा तोकिएको काम पूरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्ने बताउनुभएको छ ।

मन्त्री ज्वाला

कपिलवस्तुको सुरही खोलामा निर्माण सम्पन्न पुलको शनिबार उद्घाटन गर्दै मन्त्री ज्वालाले कतिपय निर्माण कम्पनीले काम नगरेर बदनाम भइरहेको सन्दर्भमा समयमा काम सम्पन्न गर्ने कम्पनीलाई सरकारले हरेक वर्ष सम्मान गर्ने बताउनुभयो ।

सुरही खोलाको पुल निर्धारित समयभन्दा एक वर्षअगावै टुन्डी कन्स्ट्रक्सन प्रालिले सम्पन्न गरेकाले सम्मानपत्रले सम्मान गरिएको छ । मन्त्री ज्वालाले उक्त कम्पनीलाई सम्मान गर्दै शिवगढीसहित कपिलवस्तुका जनताले पुल निर्माणपश्चात जनजीवनमा सहजता हुने बताउनुभयो । विद्यार्थी तथा स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज हुने भएकाले आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ज्वालाले लुम्बिनी प्रदेशको भालुवाङबाट चन्द्रौटासम्मको सडक अवस्था जटिल देखिएकाले मर्मत तथा पुनःनिर्माणका लागि पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिवगढीका नागरिकको सपना पूरा भएको बताउनुभयो । पुल नहुँदा वर्षात्को समयमा आवतजावत गर्ने अवस्था नरहेको बताउँदै पुलको निर्धारित समयभन्दा पहिला काम सकेकामा निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो ।

शिवराज नगरपालिका–१ र ९ को सीमामा रहेको सुरही खोलामा रहेको उक्त पुल २०७७ असोज १२ गतेदेखि निर्माण सुरु भएको थियो । तीन सय ६० मिटर लम्बाइको पुल निर्माण सम्पन्न हुनुभन्दा एक वर्ष अगाडि नै सम्पन्न भई सञ्चलानमा आएको छ । रु ४६ करोड १५ लाख ३० हजारको लागतमा निर्माण भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.