सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त
नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । आज (बिहीबार) शाह सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
प्रदेश प्रमुख देवराज जोशी प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । शाह कैलाली निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाइ पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम कांग्रेसको संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । शाहले भोलि पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
नवनियुक्त मुख्यमन्त्री शाहले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
प्रदेशसभाको बिहीबारको बैठकमा आफूमाथि विश्वासको मत प्राप्त होस् भनी मुख्यमन्त्रीले राख्नुभएको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्नुहुँदा हुन्छ भन्ने सदस्य सङ्ख्याभन्दा हुन्न भन्ने सदस्य सङ्ख्याको बहुमत रहेकाले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको थियो ।
बिहीबार बैठकमा सत्तापक्षीय नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसक्नु भएको हो । नेकपा (एमाले) संसदीय दलका नेता रावल संविधानको धारा १६८ को (२) अनुसार एमाले नेकपा (माओवादी केन्द्र), नाउपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सदस्यको बहुुमत समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले आज विश्वासको मत लिइसक्नुपर्ने अन्तिम दिन थियो ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका १०, नाउपाका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।




प्रतिक्रिया राख्नुहोस्