जनयुद्ध दिवसका दिन राजपरिवारका सदस्यको उपस्थितिमा दुर्गा प्रसाईको अभियान सुरु
सरकारले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक विदा दिएकै दिन झापाका व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजपरिवारका सदस्यलाई मञ्चमा राखेर नागरिक बचाउ अभियान सुरू गर्नुभएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाह र युवराज पारसबीचको सम्बन्ध राम्रो नभएको चर्चा भैरहेका बेला बाबु छोरालाई एउटै मञ्चमा राखेर प्रसाईंले सोमबार पूर्व राजा ज्ञानेन्द्रको हातबाट नागरिक बचाउ महाअभियान सुरू गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गरे पनि कार्यक्रमलाई पूर्वराजा शाहले सम्बोधन भने गर्नुभएन । उहाँ कार्यक्रम उद्घाटन गरेपछि दमकस्थित चिया बगान फर्किनुभएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउनका लागि महाअभियान नाम दिइएको यो अभियानमा मेचीदेखि महाकालीसम्म अभियान अवधिभर दुई लाख जनता कार्यक्रममा सहभागी गराइने दाबी गरिएको छ ।
देश बचाउन आफूले मात्रै सक्ने र सबै एक ठाउँमा उभिनुपर्ने भन्दै आउनुभएका प्रसाईंले अभियान उद्घाटन कार्यक्रममा पूर्वराजा शाहसहित नेकपा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतलाई निम्ता दिनुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्