बिचार

जनताको अवस्था हैन, आफ्नो व्यवस्थामै चिन्ता

मुलुकको राजनीतिक–सामाजिक–आर्थिक विषयमा मंगलबार एउटा सनसनीपूर्ण खुलासा भयो । पश्चिम नेपाल भूकम्पका कारण त्रस्त रहेको र पीडितहरु गाँस–बासको प्रतिक्षामा बसिरहेका बेला सत्तारुढ, विपक्षी लगायतका प्रमुख तीन दलको बैठक बस्यो ।

सर्वदलीय भनिएको सो बैठकमा मुलुकका चौथो र पाँचौं दलको सहभागिता थिएन भने राष्ट्रिय मान्यता नपाएको दल गर्वका साथ उपस्थित थियो ।

सो बैठकमा अद्भूत सहमति भयो । गणतन्त्रमाथि प्रहार हुन थाल्यो, व्यवस्था उल्टाउने खेल हुन थाल्यो । सबै मिलेर व्यवस्था जोगाउने प्रतिबद्धता भयो । जनता राहत नपाएर छटपटिएका बेला सरकार संचालक र विपक्षी दल व्यवस्थाको चिन्तामा लागेकोा देखेर सामाजिक सञ्जालहरुमा चर्को आक्रोश पनि व्यक्त भयो ।

हुन पनि प्रमुख दलहरुको सो बैठकले भूकम्प पीडितहरुलाई कसरी पुनःस्थापना गर्ने, उनीहरुको उपचारको अरु प्रभावकारी उपाय के के गर्ने, राहत वितरणलाई कसरी सन्तुलित बनाउने भन्ने विषयमा प्रवेश नै नगरी व्यवस्था कसरी जोगाउने भन्ने चिन्ता बढी देखियो ।

जनताको अवस्थाप्रति कुनै चासो नराखेका नेताहरुकै कारण व्यवस्थाप्रति प्रश्न उठेको हो । देश र जनताको हितमाा शब्दमा बाहेक काममा सिन्को नभाँच्ने अनि अमूक शक्तिले व्यवस्था उल्टाउन लाग्यो भनेर रोइलो हाल्ने प्रवृत्ति नै व्यवस्था कमजोर हुँदै गएको भए त्यसको कारण हो ।

अर्को विषय हो नेपाल भारतको अर्थतन्त्र मजबुत बनाउने प्रमुख देशहरुको शीर्ष पंक्तिमा रहन । झण्डै डेढ दशकअघि नै नेपाल भारतमा रेमिट्यान्स भित्रिने मुलुकहरुको शीर्ष १० मा परेको विवरण त्यहाँको प्रतिष्ठित समाचारपत्र ‘टाइम्स अफ इण्डिया’ले सार्वजनिक गरेको थियो । अहिले नेपाल रेमिट्यान्सबाट चलिरहेको छ । तर, भारतले नेपालबाट वार्षिक खर्बौं रेमिट्यान्स लगिरहेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा हालै आयोजित सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम ‘चाणक्य डायलग’ मा मुख्यवक्ताका रूपमा सहभागी थापाले भन्नुभयो, “भारतमा सबैभन्दा बढी रेमिट्यान्स भित्रने मुलुकमा नेपाल सातौँ स्थानमा पर्छ” ।

नेपाली युवाहरु स्वदेशमा रोजगारी नपाएर विदेश पलायन हुने तर भारतीयहरु नेपालमा आएर ठूलो परिमाणमा रकम लैजाने गरेको यो तथ्यले नेपालका नीति निर्माता, कार्यान्वयनकर्ता, योजनाविद्, अर्थविद्हरुलाई गिज्याउने बाहेक केही गरेको छैन ।

आफ्नो मन्तव्यका क्रममाा थापाले नेपाल विश्वको सानो मुलुक भए पनि आर्थिक र सैन्य शक्तिमा शीर्ष ठहरिएका देहरुको सुरक्षामा समेत नेपालले ठूलो योगदान दिइरहेको प्रसंग प्रमाणसहित पेश गर्नुभयो ।

नेपाल विश्वकै ठूलो सुरक्षा प्रदायक देश रहेको बताउँदै थापाले विश्वका ठूला आणविक हतियार सम्पन्नसहित अधिकांश मुलुकका लागि नै नेपाल एक ठूलो सुरक्षा प्रदायक देशका रूपमा भूमिका निर्वाह गरिरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो– “भारत, बेलायत, फ्रान्स, अमेरिका, रसियालगायत विभिन्न मुलुकमा नेपाली सेनालगायत विभिन्न सुरक्षा अङ्ग तथा संयन्त्रमा सेवारत छन् । त्यसका साथै विश्वका ६८ भन्दा बढी मुलुकमा सुरक्षागार्डका रूपमा काम गर्ने सङ्ख्या हेर्दा नेपाल विश्वका अधिकांश मुलुकका लागि सुरक्षा प्रदायक मुलुकका रूपमा काम गरिरहेको छ ।”

यसका अतिरिक्त नेपाल संयुक्त राष्ट्रसङ्घमार्फत शान्ति सेनाका रूपमा विश्वका विभिन्न देशमा काम गरिरहेकामध्ये दोस्रो ठूलो मुलुक भएको समेत उल्लेख गर्दै नेपाल र नेपालीप्रति विश्वले गर्व गर्नुपर्ने तथ्य पेश गर्नुभयो ।

यी नेपालको गौरब झल्कने प्रसंग हुन् । भन्नेले भन्नसक्छन्– काम नभएपछि अरुको ढोका कुर्न जानैपर्छ । तर यथार्थता त्यस्तो पटक्कै होइन । नेपालमा काम, दाम, अवसर नभएको होइन, यहाँ कामको सम्मानन नपाएका मात्र हो । यदि काम नै हुन्थेन भने भारतले बढी रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये सातौं नम्बरमा नेपाल कसरी पथ्र्यो ?

गम्भीर समस्या नै यही हो कि नेपाली युवाहरुले विदेशमा पसिना बगाएर कमाएको रकम भारतीयहरुले यहाँ श्रम गरेर लैजान्छन्, भारतबाटै वस्तु आयात गरेर उतै जान्छ । उत्पादन बढाउने कुनै योजना छैन, भारतनिर्भर रहेको छ । भारतको अर्थतन्त्र बलियो बनाउन नेपालको शासक–प्रशासक, नीति निर्माता, योजनाविद् सबैको उत्तिकै भूमिका छ ।

दिल्लीको सो कार्यक्रममा भारतको अर्थतन्त्रमा नेपालको विशेष योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “व्यापारका हकमा नेपाल भारतका लागि १०औँ ठूलो बजार भएकाले भारतको अर्थतन्त्र र सुरक्षा क्षेत्रमा नेपालको योगदान छ ।”

नेपालमा हजाम, सिकर्मी, डकर्मी, इँटाभट्टा, तरकारी र फलफूल बिक्रीलगायत क्षेत्रमा ठूलो सङ्ख्यामा भारतीय श्रमिक काम गरिरहेका छन् । योजना तथा कारखानाहरुमा पनि भारतीय श्रमिकको संख्या उल्लेख्य छ । अझ घरघरमा तरकारी, फलफूल बेच्दै हिंड्नेको संख्या उल्लेख गरिसाध्य छैन ।

यसको विपरीत नेपालमा रोजगारी छैन भन्दै सरकार युवाहरुलाई विदेश धपाउने तारतम्यमै सक्रिय छ । मुलुकभिभत्र कृषि, पशुपालन लगायत स्वरोजगारमूलक कार्यमा आकर्षित गरी श्रमको सम्मान गर्ने नीति नलिएर वैदेशिक रोजगारीलाई नै सबभन्दा ठूलो अवसरका रुपमा स्थापित गर्ने गलत मान्यता बसेका कारण हाम्रो देश अरुका लागि आर्थिक विकासको आधार बनेको छ ।

नेपाल भारत निर्भर रहेको चर्चा अधिकांशले गर्दछन् । तर भारत नेपाल निर्भर रहेको तथ्य थापाले दिल्लीमै खुलासा गरिदिनुभयो । उहाँले भन्नुभयो– “भारतको अर्थतन्त्र र सुरक्षा दुवै क्षेत्रमा नेपालको ठूलो योगदान रहेको । भारतीय सेनामा गोर्खा रेजिमेन्टअन्तर्गत ४० हजार र अन्य सुरक्षा सेवामा ५० हजार नेपाली र प्रशासनिक सेवामा पनि ३० हजार नेपाली कार्यरत रहेका छन् ।”

देशको अवस्था कति कमजोर हुँदैछ र हामीमा भएको स्रोत र अवसरको उपयोग विदेशीले कसरी गरिरहका छन् भन्नेन तथ्य डा. थापाले उजागर गरिदिएकै दिन ‘नेपालमा गणतन्त्र स्थापना गर्न भूमिका खेलेका’ भनिएका दलहरु भने व्यवस्था जोगाउने ध्याउन्नमा लागिरहेका छन् ।

आम जनतामा व्यवस्थाप्रति खासै रुची छैन । उनीहरु आफ्नो अवस्था सहज भए व्यवस्था जुनसुकै भए पनि फरक पर्दैन । तर अहिलेका टाउके नेताहरुलाई व्यवस्थाको चिन्ता छ, जनताको अवस्थामा उनीहरुलाई कुनै रोकार छैन, यही व्यवस्थाबाट आफ्नो अवस्था सुध्रिएकाले उनीहरुलाई यसको चिन्ता बढेको हो ।

व्यवस्थाले जनताको अवस्थामा परिवर्तन ल्याएन भने त्यो टिकाउ हुँदैन । गणतन्त्र भन्दैमा सबै कुरा स्वाभाविक गतिमा चल्दैन । यसका संचालकहरुको नियत असल हुनुपर्छ । अहिले असल नियत बोलीमा मात्र देखिन्छ, व्यवहारमा छैन । गणतन्त्र उल्ट्याउँन खोज्नेहरुबिरुद्ध एकजुट हुने प्रतिबद्धता जनाउनुको मुख्य कारण पनि यही हो ।

आफ्नो असफलताको भारी अरुका टाउकामा थुपारेर आफ्नो कमजोरी लुकाउने वा जनतामा भ्रम छरेर दवाउने प्रवृत्ति नै गणतन्त्र कमजोर बनाउने आधार हो । यदि जनतामा यो व्यवस्थाप्रति विश्वास छ र जनतालाई व्यवस्थाले भरोसा दिलाएको छ भने गणतन्त्र कसैले हल्लाउन सक्दैन । कसैले राजतन्त्र ल्याउँछौं भन्दैमा आउँदैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.