राजनीति

कुलमानलाई प्राधिकरणबाट हटाउने योजना छैन : मन्त्री खड्का

उद्योगहरुले प्रयोग गरेको डेडिकेटेड र ट्रंक लाइनको बक्यौताकाविषयमा सरकार र विद्युत प्राधिकरणबीच विवाद बढ्दै गएको र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन लागेको भन्दै चर्को बिरोध भैरहेको छ ।

यसबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले बुधबार बाह्रविसेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले सबै नागरिक सम्पन्न हुँदा मात्र देश समृद्धि हुने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको विकास आवश्यक रहेकाले यसको विकासका लागि स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री खड्काले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् विदेशी मुलुकमा निर्यात गर्ने सरकारको लक्ष्य रहेकाले यसलाई पूरा गर्न सरकार गम्भीर भएर लागेको बताउनुभयो ।

सरकारले हाल भारतमा मात्र नौ सय ४१ मेगावाट विद्युत् निर्यात गरिरहेको भन्नुहुँदै चाँडै नै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी आश्वयक प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले कुनै पनि जलविद्युत् तथा सिँचाइको आयोजनालाई समयमै सम्पन्न गर्नका लागि स्थानीय बासिन्दाको दबाबको खाँचो रहेको समेत बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको विकासका लागि नेपाली कांग्रेस प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो ।

नेपाली कांग्रेस रामेछापका सभापति एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले सिन्धुपाल्चोकमा जलविद्युत् क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताउनुभयो ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का सभापति एवं बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जलविद्युत् केन्द्रमार्फत देशले समृद्धि हासिल गर्दैगर्दा स्थानीयवासीलाई राहत पुग्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.